विना अर्थको इसवीय वर्ष
उप-प्रा श्याम खनाल
आजदेखि इसवीय संवत्को नयाँ वर्ष २०२३ को सुरुवात हुँदैछ । त्यसैले विश्वका अधिकांश देशमा मानिएको यो नयाँ वर्ष सबैले उमङ्गताका साथ मनाउने गर्दछन् । तर यसबेलाको उनीहरूको यो वर्षपरिवर्तनले कुनै पनि प्राकृतिक घटनासँग सम्बन्ध राख्दैन । राख्छ त केबल क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइष्टको जन्म दिनसँग । त्यही पनि जिससको जन्मदिनभन्दा ७ दिन पछि मात्र । हो ठिक छ ल उनको जन्मदिनदेखि नयाँ वर्षको सुरुवात कुनै पनि प्राकृतिक घटनाविना नै मानियो रे । फेरी यी वर्षभित्रका महिना जनवरी फरवरी आदिको परिवर्तन पनि यत्तिकै कुनै खगोलीय घटनाविना नै राखिएको छ । त्यसैले कुनै धर्मका अनुयायीहरूले मानेको वर्षपरिवर्तनको दिन संसारका सबै मानिसहरूले कुनै पनि वैज्ञानिक कारणविना नै मान्नु युक्तिसम्मत देखिँदैन । ठिक छ क्रिश्चियन धर्माबलम्बीहरूले आफ्ना इष्टदेवको सम्झनामा इसवीय वर्ष मानून् तर संसारका सबै देशहरूका मानिसहरूले यो वर्ष परिवर्तन मान्नु युक्तिसम्मत देखिँदैन । जसरी क्रिश्चियनहरूले जिसस क्राइष्टको सम्झनामा लगाउने टाइको कुनै अर्थ छैन अर्थात् यसले न कुनै जाडो छेक्छ न त शरीर नै छेक्छ त्यसैगरी यो इसवीय वर्ष मान्नु पनि त्यस्तै देखिन्छ ।
हिन्दू धर्मका अनुयायी हामीहरूले चाहिँ जुनसुकै कुरा पनि केही अर्थपरक तरिकाले मनाउने गर्दछौँ । हामीले मनाउने पर्वदेखि नयाँवर्ष सबैको केही न केही अर्थ हुन्छ । ती सबै प्राकृतिक घटनासँग पनि सम्बन्धित हुन्छन् । अब वर्षको परिवर्तन हुँदैछ भन्दा बित्तिकै मेष राशिबाट १२ राशिको भ्रमण गर्दै सूर्य पुनः मेष राशिमै फर्किँदैछन् भन्ने बुझिन्छ । यो वर्षभित्रका महिनाहरू पनि अत्यन्तै वैज्ञानिक तरिकाले खगोलीय घटनासँग सम्बन्धित बनाएर राखिएको छ । यी सबै महिनाहरू मेष वृष आदि १२ राशिसँग सम्बन्धित छन् । मेष राशिमा सूर्य भइँरहँदा वैशाख महिना हुन्छ । मेष राशिबाट सूर्य वृष राशिमा जाँदा साथ ज्येष्ठ महिनाको सुरुवात हुन्छ । जति समय सूर्य वृष राशिमा बस्दछन् त्यति नै समयलाई ज्येष्ठ महिना भनिन्छ । महिनाका क्रम १ गते २ गतेको पनि अर्थ छ । ३० अंशको १ राशि हुन्छ । त्यसैले गते बढ्दैछ भन्नुको अर्थ सूर्यको पनि राशिभोग विस्तारै बढ्दै छ भन्ने बुझिन्छ । पृथ्वीबाट टाढा सूर्य हुँदा सूर्य उच्च भएछन् भनिन्छ । सूर्य उच्च हुँदा राशिको भोग गर्न सूर्यलाई अलि बढी समय लाग्दछ ।
त्यस समयका महिनाहरू ३१-३२ दिनका हुन्छन् । पृथ्वीबाट नजिक सूर्य हुँदा सूर्य नीच भएछन् भनिन्छ । यो समयमा सूर्यले राशिभोग पनि ढिलो गर्दछन् । त्यसैले त्यस समयका महिनाहरू २९ दिनका हुन्छन् । चान्द्र महिनाहरूको पनि त्यस्तै अर्थ छ । पूर्णिमामा जुन नक्षत्र हुन्छ, त्यही नक्षत्रको नाम नै त्यो चान्द्र महिनाको नाम हुन्छ । जस्तो विशाखा वा त्यो नजिकको नक्षत्रमा पूर्णिमा पर्यो भने त्यो महिनाको नाम वैशाख हुन्छ । ज्येष्ठा वा त्यो नजिकको नक्षत्रमा ज्येष्ठ । चान्द्रमहिना भित्रका तिथिहरूको पनि त्यस्तै अर्थ छ । सूर्य र चन्द्रमाको गतिको अन्तर तिथि हो । एकै राशिमा भएका सूर्य र चन्द्रमाको अन्तर जति बढ्दै जान्छ, त्यति नै तिथिको पनि बृद्धि हुँदै जान्छ । यसअनुसार आज पूर्णिमा तिथि छ भन्नुको अर्थ आज सूर्य र चन्द्रमाको अन्तर ६ राशिको छ भन्ने हो । त्यस्तै आज अमावास्या हो भन्नुको अर्थ आज सूर्य र चन्द्रमा एउटै राशिमा छन् भन्ने बुझिन्छ । नक्षत्रको त्यस्तै अर्थ छ । आज फल्नो नक्षत्र छन् भन्नुको अर्थ आज त्यो नक्षत्रमा चन्द्रमा छन् भन्ने बुझिन्छ । यस्तै दक्षिणायन र उत्तरायणको पनि अर्थ छ । संवत्सरको पनि अर्थ छ । बृहस्पतिको मध्यम मानले संवत्सरको परिवर्तन हुन्छ । सबै कुरा कुनै पनि काल्पनिक छैनन् ।
भरखरैको अनुसन्धानअनुसार अझ यहाँ उल्लेख्य कुरो त के छ भने उनीहरूका महिनाको नाम चाहिँँ हाम्रा चान्द्र महिनाको आधारमा राखेका छन् । कार्तिक हाम्रो सातौं मास हो । यसलाई उनीहरूले september भन्छन् । सप्तम अम्बर इति सेप्टेम्बर । अर्थात् सप्तम भनेको सातौँ हो भने अम्बर भनेको आकाश । त्यस्तै अष्टम मास इति october । नवम मास इति november । दशम मास इति december ।
त्यसैले पूर्ण वैज्ञानिकताले भरिपूर्ण हाम्रा महिना, वर्ष, गते, तिथि, अयन मान्नुको सट्टा अर्थ नै नभएको अङ्ग्रेजी इसवीय संवत् मान्नुको कुनै अर्थ छैन । त्यसैले सूर्य र चन्द्रमाको भोगअनुसार मनाइने हाम्रो संवत् नै मानौँ त्यसैलाई प्रयोगमा ल्याऊँ । विदेशी मित्रहरूलाई भेट्दा Happy new year त भन्न मजाले सकिन्छ । तर नेपाल या ईन्डियातिरकालाई अहिले भन्ने समय नै हैन । त्यसैले आफूलाई आधुनिक तुल्याउन बुझ्दै नबुझी Happy New year भनेर facebook रङ्गाउनु पनि विदेशीको गुलाम बन्नु बराबर हो । अस्तु ।
You can share. But not to copy – Author – shyam khanal