जुन समयमा निर्यात व्यापारमा गलैंचाले ६० प्रतिशत योगदान गर्थ्यो

काठमाडौँ — ५० को दशकमा निकै फस्टाएको व्यवसाय गलैंचा उद्योग थियो । सरकारी तथ्यांक अनुसार नेपालले गर्ने निर्यात व्यापारको करिब ६० प्रतिशत हिस्सा गलैंचाले ओगटेको थियो । हजारौंले रोजगारी पाएका थिए । लगानीकर्ता निकै उत्साहित थिए ।

अमेरिका र युरोपियन मुलुकमा समेत निकासी हुने गलैंचाबाट लगानीकर्तालाई हुने आम्दानी मात्र होइन, आन्तरिक राजस्व खातामा पनि यसको योगदान उल्लेख्य थियो । मुख्यतः गलैंचा बुन्ने काममा हजारौंले पाएको रोजगारीले विपन्न वर्गको भान्सामा गलैंचा निकासीको आम्दानी पुग्थ्यो । गलैंचाका मात्रै झण्डै दुई सय उद्योग खुलेका थिए ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

विश्व बजारमा नेपाली गलैंचाको माग यति थियो कि बजार अध्ययन परियोजना सञ्चालन गर्न यूएसआईएड नामक अमेरिकी संस्थाले गलैंचा उद्योग संघलाई ५५ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाली गलैंचा निकासीका लागि त्यतिबेला अमेरिका दोस्रो ठूलो बजार थियो ।

तर पनि उद्योगीप्रति सरकारले सहयोगी भावना नराखेको, अनावश्यक रूपमा बालमजदुर र वातावरणको विषय अतिरञ्जित रूपमा उठाएर उद्योगलाई धराशयी बनाउन खोजेको जस्ता विषय बेलाबेलामा उठ्ने गरेका थिए । अहिले पनि गलैंचाको माग युरोप र अमेरिकामा बढी रहेको व्यवसायीहरू बताउँछन् ।

गलैंचा उद्योग संघको साधारणसभामा उद्योग मन्त्री र व्यवसायीले उद्योग विस्तारका लागि एकअर्काबीच हुनुपर्ने सहयोगका बारेमा एजेन्डा अघि सारेका थिए ।

विशेषतः बाल–मजदुर र वातावरणको कुराले भविष्यमा उद्योग धराशयी हुने चिन्ता उद्योगीले गरेका थिए । त्यतिबेला छिमेकी मुलुक भारतमा बाल–मजदुरको विषय उठाएर नेपाली गलैंचाको बजार घटाउने प्रयत्न भएको उद्योगीहरूले गुनासो गर्दै आएका थिए ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रियो द जेनेरियोमा भएको पृथ्वी सम्मेलनमा गलैंचा उद्योगले वातावरणमा असर गरेको कुरा उठाएकामा गलैंचा व्यवसायीले विरोध जनाएका थिए । संघको तेस्रो साधारणसभामा तत्कालीन उद्योगमन्त्री रामकृष्ण ताम्राकारले औद्योगिक विकासका लागि सरकारको मात्र दायित्व नभएको बताएका थिए ।

संस्थागत रूपमा अघि बढेका उद्योगहरूको पनि यसमा समान दायित्व रहेको उनको जिकिर थियो । उद्योगमन्त्री ताम्राकारले वातावरणको मापदण्ड तयार गर्ने घोषणा गरेका थिए ।

बाल–मजदुरलाई विद्यालय र स्वास्थ उपचार केन्द्रको स्थापना, मजदुर र उद्योगको तथ्यांक संकलन, गलैंचामा लगाएको चुंगीकर हटाउनुपर्ने, मजदुर दर्ता प्रणाली गर्नुपर्ने, मजदुरले पेस्की लिएर नतिर्ने समस्या हल गर्नुपर्ने जस्ता विषय उठेको थियो ।

२०४६ को परिवर्तनपछि खुला अर्थ नीतिले उद्योग सञ्चालन र लगानीमा सहज देखिएको थियो । त्यही अवसरमा लगानीको वातावरण बन्दै गएको थियो ।

त्यसबेला सबैभन्दा बढी फस्टाएको व्यवसाय गलैंचा उत्पादन थियो । तर मजदुरको ठूलो संख्या गलैंचामा काम गर्न थालेपछि सामाजिक संघसंस्थाले बाल–मजदुरको प्रयोगको विषय वस्तुगत रूपमा भन्दा पनि प्रोपगण्डाकै रूपमा उठाउन थालेका कारण नेपाली गलैंचाविरुद्ध बढी नकारात्मक सन्देश प्रवाह भएको थियो ।

पहिले घरेलु उद्योगमा दर्ता भएको गलैंचा व्यवसायलाई ठूला उद्योगलाई जसरी नीतिगत रूपमा बाँधेका कारण पनि समस्या भएको उद्योगीहरू बताउँछन् ।

२०४६ को परिवर्तनपछि ट्रेड युनियनको अधिकारका विषय धेरै कुरा उठेको थियो । जानकारहरूका अनुसार सरकारको असहयोगी नीति, ट्रेड युनियनको नाममा हुने अस्वाभाविक दबाबजस्ता विषय हावी हुँदै गएका कारण गलैंचा उद्योग धराशयी भएको पुराना व्यवसायीहरू बताउने गर्छन् ।

अहिले पनि गलैंचा उद्योगले पहिलेको तुलनामा कम परिमाणमा भए पनि गुणस्तरीय उत्पादन भने गरिरहेका छन् ।

त्यतिबेला गलैंचा उत्पादनको अवस्था के थियो ? कस्तो थियो राज्यको नीति ? सरकार के भन्थ्यो ? व्यवसायी के चाहन्थे ? यिनै विषयमा लगानीकर्ता र सरकारका प्रतिनिधिका भनाइ समेटेर गलैंचा उद्योगको विकास र समस्याका बारेमा कान्तिपुर दैनिकले ‘वातावरण र बाल–मजदूरसम्बन्धी भ्रम हानिकारक’ शीर्षकमा पत्रकार श्याम घिमिरेको वाइलाइनमा २०४९ चैत २१ गते समाचार प्रकाशन गरेको थियो ।

प्रस्तुतिः ऋषिराम पौड्याल

२०८१ चैत्र २, शनिबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।