धर्मनिरपेक्षताको आगोमा ऋषितर्पणी र ऋषिपञ्चमी ।
-उप प्राध्यापक श्याम खनाल
श्रावशुक्लपूर्णिमा अर्थात् ऋषितर्पणीको दिन ती पूर्वज ऋषिहरूलाई हामी पुरुषहरूले सम्झ्यौँ । उनीहरूले गरेको कर्मप्रति हामी नतमस्तक भयौँ र अरु केही दिन नसकेपनि तर्पण दिएर उनीहरूलाई धन्यवाद दियौँ । हामीले अञ्जानमा गरेका गल्तीहरूप्रति क्षमायाचना गर्दै पुनः ती गल्ती न दोहोर्याउने प्रण गर्यौँ ।
त्यस्तै भाद्रशुक्लपञ्चमी अर्थात् ऋषिपञ्चमीको दिन आमा, दिदी, बहिनीहरूले ऋषिपूजन गर्नुभयो । हामीहरूले जस्तै उहाँहरूले पनि अन्जानमा गरेका गल्तीको माफी माग्दै पुनः त्यस्ता गल्ती नदोर्याउने प्रण गर्नुभयो । कुनै महापण्डितहरूले प्रश्न गर्न सक्छन् मैले त केही गल्ती गरेकै छैन, किन माफी माग्नु पर्यो ? तर त्यसो होइन । नदी भित्र डुबुल्की मारेपछि म भिजेको छैन भन्नु र यो संसाररुपी भवचक्रमा प्रवेश गरिसकेपछि मैले पाप गरेको छैन भन्नु एकै किसिमका मूर्खतापूर्ण कुरा हुन् ।
यसरी हामीले गर्ने ऋषिपूजनलाई लिएर केही बुज्रुकहरूले नकारात्मक तरीकाले आफ्नो फेसबुक रङ्गाए । पत्र-पत्रिका रङ्गाए । मानौँ उनीहरू यी चाडपर्वका ज्ञाता नै हुन् भन्ने ठानेर । ती पटमूर्खहरूलाई संस्कृतको स आउँदैन अनि कसरी उनीहरूले त्यो पढ्न भ्याए । कसरी बुझ्न भ्याए । उनीहरूले त्यस्तो देवभाषा पढ्न त कता हो कता गतिलरी उच्चारण पनि गर्न सक्दैनन् । पढेपनि धर्मछाडाहरूले लेखेका उल्टा अनुवाद त पढ्ने हुन् । उनीहरूलाई त देशमा धर्म संस्कार विरुद्ध चलाइएका आइ. एन्. जी. ओ. मा गएर भत्ता थाप्दै फुर्सद छैन । अनि नूनको सोझो त गर्नै पर्यो । यस्ता दलमर्दनहरूको काम भनेकै समाजमा कसैले नजानेर गल्ती गर्यो भने त्यसलाई जातीय, धार्मिक रङ्ग दिएर डलर पचाउनु मात्र हो ।
शिक्षक शिक्षिकाले ऋषिपञ्चमी पूजा गरेर फेसबुकमा राखे भनेर कुर्लँदै छन् । राख्छन् त मजाले राख्छन् । अनि राख्छौँ पनि । हामी ऋषिका सन्तानले ऋषिको पूजा गर्छौँ । तिमी बाँदरका सन्तानले त्यही वाँदरबुद्धि गराएर बस । यत्रा वेद उपवेद पुराण उपनिषद् काव्य कहाँ गए ? तिमीहरूले पढ्न के हेरेर पनि यो जुनीमा भ्याउँदैनौँ । ती वैदिक धर्मलाई गाली गर्न राक्षसहरूले लेखेका कुग्रन्थहरू पढ । बुद्धि विगार । जन्मिएको धर्तीलाई गाली गर । पूर्वज ऋषिमुनीहरूलाई गाली गर । बाउलाई गाली गर । आमालाई गाली गर । अन्त्यमा पैसा आउने भयो भने मातृभूमिलाई पनि बेचिदेऊ । दुई चार जना महामूर्खहरूले क्या बात, क्या बात भन्दैमा तिमीहरू विद्वान् हुने हैनौँ । टपरटुइयाँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
आज यी वेतुकका कुरा गर्ने अधोगतिशील भोलि मिन्स भएको समयमा पनि देवालय जान पाउनुपर्छ भनेर कुर्लँदै हिँड्छन् । यिनलाई अरु दिन भगवान्प्रति आस्था जाग्दैन । अनि मिन्स भएका बेलामा आस्था जाग्छ । यिनीहरूलाई उचाल्नेहरू फेरी आफ्ना पत्नीहरूलाई कमसेकम महीनामा तीन दिन आराम दिन सक्दैनन् । रजस्वलाको वेला धेरै कमजोरी भएका महिलामाथि गिद्धे दृष्टि दिँदै पशुकर्म गर्न नपाएर छटपटी भएको छ । त्यो बेला रेष्ट गराउन भन्दा पनि तिनै विचरा महिलालाई कमजोरी वेलामा पनि दलाएर बाहिर बाहिर महिला अधिकारकर्मी बन्नु छ ।
पुराणको लाक्षणिक अर्थ जता पनि खाने, जे पनि खाने, पशुबुद्धि गरेर हिँड्ने, मनलाई नियन्त्रण गर्न नसक्नेले बुझ्नै सक्दैनन् । यिनको अर्थ सम्झन आचारित भएर श्रद्धाले अध्ययन गर्नुपर्छ । विना श्रद्धा र प्रेमले आचारहिन भएर पढियो भने वेदभित्र पनि गाइको मासु खाने कुरा देखिन्छ। अर्थको अनर्थ देखिन्छ । फेरी कहाँ लेखेको छ मिन्स भएको महिला पापी हो भनेर ? न भएका कुरा गर्यो समाज भाँड्यो आफू भाडियो । अनि इदं भ्रष्टम् उदम् भ्रष्टम् ।
फेरी कहिलेकाहिँ त हाम्रा बाबु आमाले पनि गाली गर्दा गधा, डाँका भन्नुहुन्छ। उहाँहरूले गधा डाँका भनेको त त्यसो न हो भनेको पो हो । यस्तो प्रतीकात्मक कुरो नबुझेर हामी के भोली तिनैका बाबुआमालाई गाली गर्दै हिँड्ने ? वाँदरका सन्तानले त दिदीबहिनी र पत्नीमा समान देख्छन् । त्यस्ता वाँदररुपी पशुलाई मानव बनाउने, मानवलाई महामानव र महामानवलाई ईश्वर बनाउने धर्म हो वैदिक धर्म । यस्ता गौहत्यारा वेन, महिषासुरहरू सत्ययुगमा पनि जन्मिएका थिए । त्रेता युगमा पनि हिरण्यकश्युपु र होलिकाको रुपमा थिए । द्वापर युगमा कंश र पुतना रुपमा थिए । सम्पूर्ण लोकको कल्याणका लागि यज्ञ यागादि गर्ने ऋषिमुनीहरूलाई त्यतिखेर पनि दुख दिन्थे । त्यतिखेर पनि गौ हत्याराहरू थिए । यज्ञको विध्वंश पारी ऋषिमुनीहरूलाई दुख दिनु उनीहरूको धर्म थियो । त्यसकारणले ती वेनका सन्तान अहिलेको युगमा पनि हुनु नौलो कुरो होइन । ‘यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत्’ भन्दै अहिले पनि लुटमा रमाएका छन् । धर्मरुपी अनुशासनमा छैनन् । लुटेरै खाने हो मरेर खरानी भएपछि केका पाप केका धर्म भन्नेहरूको बोलवाला छ ।
त्यसैले त्यस्ता नराधमहरूको कुरा सुन्ने होइन । हामी ऋषिका सन्तान हौँ । भगवान्का सन्तान हौँ । त्यसैले हामीले हाम्रा पूर्वजहरूलाई सम्झनु आराधना गर्नु हाम्रो धर्म हो । न गर्नेले न गर्दा हुन्छ । कसैले गर पनि भन्दैनन् । तर हाम्रो मौलिक अधिकार माथि त्यस्ता नरपशुहरूले दोष लगाउनु भनेको शिशुपालले कृष्णलाई गाली गरेजस्तै हो । हामी “ईशावास्यामिदं सर्वं यत् किञ्च जगत्याञ्जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद् धनम्” अर्थात् “यो जगत् सबैतिर ईश्वरले वास गरेको छ । तिनै ईश्वरले दिएका वस्तुको उपभोग गर अरु कसैका चल अचल धनमा गिद्धका आँखा नगाड लोभ न गर” सिद्धान्तमा अडिग छौँ । हामी कृतघ्न हुन जान्दैनौँ । हामी कोही कसैप्रति पनि कृतज्ञ हुनुपर्छ । उही थालमा खाएर उही थालमा थुक्ने हाम्रो धर्म होइन । आमा रोगी भइन् भने गाली गर्दै हिँड्ने र अन्त्यमा अरुकी आमालाई आमा भन्दै हिँड्ने होइन । तिनलाई उपचार गर्ने हो । अन्त्यमा योगी नरहरिनाथका यी चेतनामूलक पद्यहरूको मनन गरौँ । अस्तु ।
न भालु भ्यागुत्ता वनकर न वानर्न त अरु
थिए पुर्खा हाम्रा ऋषि मुनि र द्यौता मुनीहरू
न हामी आएका भटकि कहिँबाटै प्रकट यो
हिमालै हो हाम्रो उदय हिमधू हिन्दूहरूको ।।
कुनै उइले खुइले भनि कन नि कुर्ले शठहरू
न जानी त्यो आफ्नै पिठिउँ ठगिएका निपुणले ।
वसेका उइलेका धरणि तलमा आसन कसी
कति छन् ऐलेका रवि शशि ख वायू जल धरा ।।
(हाम्रो धर्म संस्कार संस्कृतिप्रति विधर्मीहरूले प्रहार गर्दा नदेखेझैँ गरी दुना टपरीको धुनमा लाग्ने र राजनीतिक कुरा आउँदा सन्ध्या छोडेर भए पनि नेताका अन्ध प्रशंसा र खगेन्द्रे गालीमा रमाउनेहरू पनि विधर्मी बराबैका स्थानमा आउँछन् ।)