बलि प्रथाको बकबक
“यज्ञार्थे वलय सृष्टा स्वयमेव स्वयंभुवा ।
यस्मात् घातयान्येद्यः तस्मात् यज्ञे वधोवध : ॥” ( कालिका पुराण)
“यज्ञार्थे बलिं यजेत” (श्रुति वाक्य)
उक्त स्मृति प्रमाणहरूको आधारमा पशुबलि, नरबलि दिने आदि सात्त्विक, राजस र तामस तीन प्रकारका बलि लोक परम्पराका रूपमा आज भन्दा हजारौँ वर्षदेखि चलिआएता पनि वास्तविक सम्पूर्ण शास्त्रहरूको मूल ग्रन्थ वेद, उपनिषद् आदि धर्मग्रन्थमा पशुबलिको व्यवस्था गरेको पाइदैंन । इन्द्रिय लुब्धताले अज्ञानतावश राजस र तामस दुई प्रकृतिका बलिप्रथा कलिको सुरुवात सँगै आजसम्म पनि प्रशस्त प्रचलित हुँदै आएको देखिन्छ । अज्ञानीहरू विविध प्रमाणहरू, तर्कहरू र स्मृतिप्रमाण सर्वोपरि ठान्दै शिवगणले दक्षप्रजापतिको शिर छेदन गरेको, जडभरतलाई भैरव मन्दिरमा बलि दिन लगेको, देवी स्थानमा नरबलि दिएको, गढी मन्दिरमा हजारौ संख्यामा पशुबलि दिएको, दक्षिणकाली, मौलाकालिका, भारतको काली मन्दिर लगायत थुप्रै स्थानहरूमा मन्दिरहरूमा र कुलपूजाहरूमा तथा कोटपूजामा पञ्चबलि (हाँस, कुखुरा, बोका, राँगा र भेडा) दिइएको तथ्यलाई अर्थको अनर्थ बुझेर बलि विकसित हुँदै गयो । हाम्रा पिता पुर्खाले सदिऔं देखि पशुबलि दिएका भएपनि वैदिक प्रमाणको रूपमा कहिँकतै पाइँदैन । वास्तवमा त के हो भने ? वामनले प्रह्लादका नाती बलिबाट तीन पाउ जमिनको बहानामा सर्वस्व दान लिएको थिए, जुन दानलाई लोक प्रचलनमा बलिदान भनियो । तर झुठको व्यापार गर्ने एक जत्थाले अतार्किक, तथ्यहीन, शाब्दिक अर्थ बोधको सामर्थ्य हीनताले आसुरिप्रवृत्तिमा विकसित, असभ्य मानव समाजले इन्द्रिय तृप्तिका लागि पशुबलिको लोकप्रथा चलाएर आज अशास्त्रीय, हिंसात्मक, दुराचारात्मक बलिप्रथा लोकमा कायम गरेका छन् ।
बलिको अर्थ उपहार हुन्छ । उपहारका रूपमा छेदन गरिएको पशुबलि या नरबलि उपहार नै हुन सक्दैन । किनकि यो सारा सृष्टि, जगत् र प्राणीहरूको जन्मदाताले कसरी आफ्नै सन्तानको छेदन गरिएको देह उपहारका रूपमा लिन सक्दछन् ? यसरी अशिक्षा, अविवेक, चेतनाशून्यताले कुनै कालखण्डमा विकसित स्मृतिप्रमाण सर्वोपरि ठान्ने लालची मानव समुदायले बलिप्रथा लोकमा कायम गरे पनि वस्तुतः यसमा कुनै श्रुतिप्रमाण भने भेटिंदैन । वास्तवमा पुराण, श्रुतिवाक्य आदिले दर्शाउन खोजेको बलिदान एक उपहार हो, सौगात हो न कि पशुहत्या । पशुबलि दिएर आत्मसंतोषको अनुभूति गर्ने अमर्यादित कुप्रथालाई अन्त्य गर्न जनचेतनाको विकास गरी आफूभित्रको दुर्गुणलाई ईश्वर प्रति बलिको रूपमा समर्पण गर्नुपर्ने, सात्त्विक चढाउनु पर्ने, उपहारको रूपमा सात्त्विक फलफूल, दुध, दही, घ्यूलगायतका वस्तु ईश्वर तृप्तिका लागि चढाइने बलि हुन् भन्ने जनविश्वास जगाउनु पर्छ । मूलत: यो बलिप्रथाले प्रश्रय पाउनुमा तीन कारण छन् जस्तो लाग्छ; पहिलो अन्धविश्वास, दोस्रो राज्यले अन्धविश्वासलाई प्रश्रय दिनु र तेस्रो धार्मिक व्यक्ति तथा संघसंस्थाहरूबीच एकमत नहुनु ।
आज वैदिक सनातन धर्म (हिन्दु धर्म) भित्रै पनि बलि प्रथालाई लिएर व्यक्तिहरू दुई चिरा भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम भन्नुहुन्छ । “अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुनका लागि बलि हुन पाउनु पशुको अहोभाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ ।”
पूर्व नायब बडा गुरुज्यू एवम् राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा. डा. माधव भट्टराई “३६५ दिन गाउँ सहरमा काटिने पशुको विरोध नगर्ने तर दसैँ र मठ मन्दिरमा विधिपूर्वक गरिने पशुबलिको विरोध गर्नु संस्कृतिमाथिको आक्रमण हो, म जन्मसिद्ध शाकाहारी हुँ, तर पशुबलि शास्त्रसम्मत छ ।”
यी विचार सरासर गलत विचार हुन् । हामीले केवल दशैंमा दिइने बलि मात्रै रोकै भनेका होइनौ हामीले त समग्र विश्वमा जुनसुकै दिन हुने हिंसा गलत हो भनेका हौ । हिन्दूधर्ममा कलंकका रूपमा बलिप्रथालाई अन्त्य गरी हिंसामुक्त समाजको पुनर्निमाण गर्न सकिन्छ । यो आजको आवश्यकता हो । केवल व्यक्ति परक सोचाई र चिन्तनले यो कुप्रथाको अन्त्य हुन सक्दैन । यसलाई निर्मूल पार्न राज्यको मार्फत् नियम कानुन संशोधन गरी बलि हिंसा हो भन्ने जनचेतना जगाउन आवश्यक छ । यदि हामीले यी कुप्रथाहरूलाई जरै देखि मास्न सकिएन भने हाम्रो संस्कार र संस्कृति पनि कुप्रथामा रूपान्तरित हुन नसक्ला भन्न सकिदैन । मानवकै बुद्धिका कारण यी र यस्ता प्रथा विकसित हुन सकेका हुन् र अब मानवकै बुद्धि प्रयोग गरेर यी र यस्ता कुप्रथा हटाउनु पर्दछ ।
:- देवेन्द्र सापकोटा (इलाम)
Gmail:- debendrasp99@gmail.com