श्री मोदीजीको कमरेड प्रचण्डलाई पत्र
उप-प्राध्यापक श्याम खनाल
माओवादी अध्यक्ष कमरेड प्रचण्डजी!
जय श्रीराम ।
तपाइँ हाम्रो देश भारतमा केही दिन अगाडि आउनुभएको थियो, त्यसैले हामीले हाम्रो पाहुनालाई हाम्रो सामार्थ्यअनुसार नै श्रद्धापूर्वक हाम्रो पार्टी कार्यालयमा स्वागत गरेकै हो । किनकि हाम्रो वैदिक धर्मको मान्यता छ जस्तोसुकै भएपनि ‘अतिथि देवो भव’ ।
कुरो केही अगाडि वर्षकै गरौँ । तपाइँहरूले नेपालमा सशस्त्र द्वन्द्व सुरु गर्दा यहाँ पि.भि नरसिंह प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछिका १६ दिन अटलविहारी बाजपेयी एवं त्यसपछिका केही वर्ष अर्थात् लगभग तपाइँहरूको संवत् २०५४ को अन्त्यसम्म एच्. डी. देवेगौडा र इन्दरकुमार गुजराल प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो अवस्थामा लगभग तपाइँहरूसँग विचार मिल्ने यी प्रधानमन्त्रीका पालामा तपाइँहरू कति फुल्न फल्न पाउनुभयो यो कुरा उल्लेख गरिराख्न परेन । लगभग तपाइँहरूको २०५५ सालदेखि हाम्रो देशमा अटलविहारी वाजपेयीको प्रधानमन्त्रीत्व सुरु भयो । ममता वनर्जि एवं अरु विभिन्न दलसँग मिली सरकार चल्दै थियो । भाजपाको देश र धर्मका सम्बन्धमा अटल नीति भएपनि विभिन्न पार्टीहरूसँग मिली सरकार बनाउनु परेकोले हाम्रा सबै कुरा लागु हुँदैनथे । त्यसबखत तपाइँहरू गलत तरीकाले नेपालमा काम गरेको थाहा पाउँदा पाउँदै पनि हाम्रा सहयोगी अन्य दल एवं पश्चिम वंगाल आदि राज्यसरकारहरू र विपक्षीहरूले पनि तपाइँहरूका सम्बन्धमा सकारात्मक सन्देश दिँदा हामी पनि पर्ख र हेरको नीतिमा थियौँ । जब तपाइँहरूले गरेको सशस्त्र द्वन्द्वले गलत नीति लिएको र हाम्रो देशमा चलिरहेका विखण्डनका युद्धसँग तपाइँहरूको सम्बन्ध छ भन्ने थाहा पायौँ, त्यतिखेर तपाइँहरू विरुद्ध हामीले अब केही नगरे यी हाम्रो देशलाई पनि घातक हुन्छन् भन्ने बुझ्यौँ । तर के गर्नु त्यही बेलामा हाम्रो अटल विहारी बाजपेयीले नेतृत्व गर्नुभएको सरकार तपाइँहरूको संवत् अनुसार २०६१ जेठ ९ गते सत्ताबाट बाहिरिनु पर्यो र त्यसपछि तपाइँहरूलाई सजिलो हुने काङ्ग्रेस र कम्युनिष्टको संयुक्त सरकार बन्न पुग्यो । किनभने आखिर हाम्रो देशमा बनेको सरकार र तपाइँहरूका- उही धर्मनिरपेक्षताका नाममा धर्मान्तरण, विदेशी असफल वादका कुरा, भारतीय संस्कृतिको विरोध आदि नीति अधिकांश मिल्दा जुल्दा थिए । त्यही अनुरुप तपाइँहरूलाई ल्यान्डिङ् गराउने काम भयो । त्यसपछि नाका नाकामा द्वन्द्व, सानो देशमा पनि त्यत्रा अनावश्यक प्रदेश, धर्मनिरपेक्षता आदि कुराले तपाइँको देश कस्तो थियो कस्तो भयो त्यो नेपाली जनताले भोगेकै विषय हो । त्यसपछि तपाइँहरूको संवत् २०७१ जेठ १२ देखि हामी हाम्रो देशको सत्तामा छौँ । हामी आइसकेपछि तपाइँको र हाम्रो देशका केही भाग समेटेर बनाउन लागिएको युरोपियन मधेश देशतिरका द्वन्द्व कसरी शान्त भए त्यो बुझ्नेले बुझन् नबुझ्नेले सुट टाइ लगाएर राष्ट्रियता कुरा गरी भारतलाई गाली गर्न छोड्दैनन् नै ।
तपाइँहरूले द्वन्द्व सुरु गर्नभन्दा पहिले तपाइँको देश र हाम्रो देश लगभग एउटै अवस्थामा थिए । तपाइँको देशका कर्मचारी र हाम्रो देशका कर्मचारीको तलब पनि बराबरै थियो । हाम्रो देशमा भन्दा तपाइँकै देशमा राम्रा राम्रा सडक थिए । तपाइँहरूका सडक र शहर हेर्न हाम्रा नाकातिरका मानिस तपाइँहरूको देश भ्रमणमा जानुहुन्थ्यो । तर के गर्ने अहिले हाम्रो देश कहाँ पुग्यो । तपाइँको देश कहाँ पुग्यो । हाम्रा देशका सडक कस्ता भए, तपाइँको देशको राजधानी जाने सडकको पनि त्यस्तो दुरावस्था छ । तपाइँहरूको लबाई खबाई कति तडकभडक छ तर हाम्रो देशका विशेष गरेर हाम्रो पार्टीका मानिसहरूको लबाई खबाई कति सरल छ । हाम्रा देशमा सडक एवं अरु नै विभिन्न कुराहरू कति चाँडो बन्छन् । कतै भ्रष्टाचारको गन्ध छैन । तर के गर्ने तपाइँहरूको ३८ किलोमिटर सडक बन्न ४ वर्ष लाग्छ । ११५ किलोमिटरको सुरुवात भएको ४ वर्ष भइसक्यो रे । तर अब कति वर्ष तपाइँहरूले लगाउने हो त्यो तपाइँहरूलाई नै थाहा होला । तपाइँहरूका विलासी जीवन अचम्म लाग्दा छन् । तपाइँको आफ्नो एउटा राष्ट्रिय पोशाक छैन । विदेशी पोशाकमा ठट्टिएर हिँड्न तपाइँलाई कति गौरव लागेको हो । तपाइँले गौरबका साथ लगाउने सुट टाइ त मेरो देशमा मेरो सुरक्षा गरेर हिँड्नेहरूले लगाउँछन् । जातजातीलाई भड्काएर त्यसरी सत्तामा पुग्नुभयो, तर कमसेकम तपाइँलाई दौरा सुरुवालप्रति नफरत छ भने पनि धोती कुर्ता वा शेर्पाको ड्रेस वा रोल्पा रुकुमकै भोटो कच्छाडमा सजिएर पो हिँड्नुपर्यो ।
यो भारतवर्षमा शासन गर्ने १६ वटा राजाहरूको अस्तित्वको बारेमा पुराणहरूमा कुरा आउँछ । त्यो बेला पनि भारतवर्ष भौगोलिक हिसाबले त विभाजित थियो । तर धर्म संस्कार र संस्कृतिका हिसाबले एकै थियो । ती १६ वटा राज्यहरूलाई यहाँको वैदिक धर्म व्यवस्थाले एकत्रित गरेर राखेको थियो । ती सबै राज्यको साझा राजा निराकारी परमात्मा हुनुहुन्थ्यो । वसुधैव कुटुम्बकम् को नारा बोकेका हामीमा द्वन्द्व थिएन । भातवर्षको दक्षिणतिरको पेट भागमा बस्ने हामीहरू मुसलमान र क्रिश्चियनको आतङ्कबाट आतङ्कित हुनुपर्यो । हाम्रा धेरै ग्रन्थहरू एवं मठ मन्दिरहरू तोडिए । तर भारतवर्षको शिर भाग नेपाल कुनै परचक्रिबाट आतङ्कित हुनुपरेन । वेदको रक्षा भयो । वैदिक मन्त्रहरू पढिए । नेपालमा बस्ने ऋषिमुनीहरूका सन्तान नेपाल र नेपालीको रक्षा ब्रह्मदण्डले गर्यो । यो हामीहरूका लागि पनि गौरवको विषय भयो । त्यसैले पनि हामीहरूले तपाइँहरूलाई भगवान्कै रुपमा मान्ने गरेका छौँ । अन्तराष्ट्रिय गुरु महर्षि महेश योगीको ब्रह्मसँग जोडिएको आत्माले तपाइँहरू सबैलाई देवता मान्नुको अर्थ पनि त्यही थियो ।
तर तपाइँहरूले यो कुरो बुझ्नुभएन । वेद पढ्नुभएन । बुद्ध जान्नुभएन । राजर्षि जनकको वेदान्त हेर्नुभएन । तपाइँहरूलाई तिनै पश्चिमा वादहरू मात्र प्यारा भए । ठिक छ ती पश्चिमा वादहरू पनि भौतिक जगत्को संसारमा समाजसुधारका लागि नै आएका थिए । तर के गर्ने तपाइँहरूले ती कुराहरूलाई तपाइँको देशमा क्रिश्चियनीकरणका रुपमा प्रयोग गर्नुभयो । तपाइँहरूको द्वन्द्व तपाइँहरूको ऋषिमुनीहरूको देशलाई शिशिमुनीको देशमा परिणत गर्नुमात्र भयो । आफ्ना धर्म संस्कार र संस्कृति नष्ट गरेर पहाड पहाडमा चर्चको स्थापना गर्नुभयो । यसले तपाइँको देशमा द्वन्द्वको विउ रोपिसकेको छ । हाम्रो देशमा धेरै किसिमका मानिसहरूको बसोबास भएकोले हामीले हाम्रो देशलाई धर्मसापेक्ष बनाउन नसकेकोले तपाइँहरूको देश हिन्दू राष्ट्र हुँदा हामीलाई गौरव थियो । जसरी मुसलमानले साउदी अरब र क्रिश्चियनले इजरायललाई मान्ने गर्थे त्यसरी नै हामीले पनि नेपाललाई मानी आएकै थियौँ ।
त्यस्तै तपाइँहरूको देशमा हाम्रो देशलाई गाली गरेरै भए पनि राष्ट्रवादको नारा थोपर्ने पनि धेरै छन् । तपाइँहरूको देशमा भारतले बुद्ध भारतमा जन्मेको हो भन्छ भनेर खाने पनि कति हो कति थिए । तर मेरो केही समय अगाडिको भ्रमणले त्यो कुराको पसल थापेर चलाउनेहरूको पसल बन्द भयो । तपाइँहरू खाली सीमाका कुरा गरेर नेपालमा मानिसहरूलाई भ्रमको खेती गर्नुहुन्छ । हो छिमेकी भएपछि केही सीमानाका कुरामा विवाद हुनु ठूलो कुरो होइन । यो कुरा चलेको अहिले मात्र त होइन । यो त पहिलेदेखि चलेको विषय हो । तर यहाँ आएर एक आखर बोल्न सक्नुहुन्न अनि पत्रकार सम्मेलनमा फेरी हुँदै नभएका कुरा गर्दै यसको जड नै नरेन्द्र मोदी हुन् भन्ने खालको दुष्प्रचार प्रसार गर्नुहुन्छ ।
यी इत्यादि कुराहरूले गर्दा तपाइँ नेपालमा त्यहाँको धर्म संस्कार संस्कृति रक्षा गर्ने बाटोमा हुनुहुँदोरहेनछ, नेपालमा विकासको मूल फुटाउने पक्षमा हुनुहुँदोरहेनछ, भारत र चीनलाई द्वन्द्व गराएर रसिया र युक्रेन बनाउनेहरूका पक्षमा पो हुनुहुँदोरहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ । यहाँका केही विपक्षीहरू जसले तपाइँहरूको अस्तित्वको लागि सहयोग गरे, अहिले पनि काश्मिरमा द्वन्द्व मच्चाउने पक्षको वकालत गर्छन्, भोटको राजनीतिका लागि वंगलादेशी र पाकिस्तानीको जनसंख्या बढाउने कुराको पक्ष लिन्छन्, मठ मन्दिर बन्दा र सुरक्षित हुँदा विरोध गर्छन्, रामराज्यको विरोधमा रावणराज्य र कंशराज्यको वकालत गर्छन् तिनीहरूकै विचारमा लागि भारत र नरेन्द्र मोदीको बदनाम गराएर पसल चलाउने पक्षमा तपाइँ गएको देखी देखिकन तपाइँसँग यहाँ भारतमा मिल्नु अथवा कुरा गर्नु विश्वको राजनीतिमा प्रमुख रुपमा उदाइरहेको मेरो भारत महान् भारत्को प्रधानमन्त्रीको हैसियतले मिल्ने कुरा म देखिन । त्यसैले अन्त्यमा तपाइँहरूले मुक्तिनाथ र पशुपतिनाथको अस्तित्व राखिरहनुभएछ भने मेरो सन्यस्थ र जीवनको अन्तिम समयमा पवित्र देशमा भेट्ने नै छु ।
उही
श्री नरेन्द्र दामोदरदास मोदी
प्रधानमन्त्री, भारत
भारत माता कि जय ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको यो चिठी प्रचण्डजीले पढ्दै गर्नुभएको अन्त्यको वाक्य भारत माता कि जय भन्दा त म झल्यास्स सपनाबाट बिउँझेछु ।