सिसिमुनीहरूको एमसिसि आतङ्क – उप-प्राध्यापक श्याम खनाल
स्वस्थानी पूर्णिमाको विहान भरतपुरबाट गैँडाकोट जजमानी गर्न हिँडेका पण्डितजीको स्प्लेण्डर बाइक पुलचोकमा पुग्दा एमसिसि विरुद्ध नारावाजी सहित नेपाल बन्द गर्न पुगेका आन्दोलनकारीहरूका माझ एकछिन रोकियो । विहानै जानु पर्ने पण्डितजीलाई पुरानो बाइक स्टार्ट नहुँदा केही ढिलो त यसै भइसकेको थियो । त्यसमाथि बन्दकर्ताको अवरोधको कारण झनै ढिला हुने देखियो । त्यसैले जसो त होला भनी पण्डितजीले बन्दकर्ताको आँखा छल्दै बाइक त कुदाइहाले तर एकजना आन्दोलनकारीको नजर उनको बाइकमाथि परेकोले उसले ढुङ्गा वा भाटा हान्ने काम त गरेन तर उनीमाथि अमेरिकी दलाल मुर्दावाद भन्दै नारा चैँ घन्काइहाल्यो । एम्सिसिका घोर विरोधी पण्डितजी आन्दोलनकारीका नजरमा अमेरिकी दलाल बन्न पुगे । नजिकैबाट यो घटनाको दृश्य हेरिरहेका एकजना जिज्ञासुले उसको नजिकै गएर एम्सिसिको बारेमा जिज्ञासा राख्दा सरकारमै रहेको कुनै पार्टीको झण्डा बोकीरहेको उसले एम्सिसि भनेको देशमा अमेरिकि सेना ल्याएर यहाँबाट चाइनालाई हान्ने योजना हो भन्ने खालको परिभाषा गर्दै यसलाई तुरुन्त रोक्नुपर्ने जबाफ दियो ।
यो त बन्दको दिन देशको एक स्थानमा घटेको एउटा घटना मात्र थियो । एम्सिसिले गर्दा देशको राजनैतिक अवस्था अत्यन्तै तातेको कुरा त सामान्य नागरिकलाई पनि जानकारी भइसक्यो । तर एम्सिसिको परिभाषा देशका लगभग नब्बे प्रतिशत जनताले जान्न सकेको अवस्था छैन । अन्धाले हात्तीका अङ्गप्रत्यङ्ग छामेर हात्तीको आकारप्रकारको कल्पना गरेजस्तो उनीहरूको एम्सिसि प्रतिको बुझाई छ । अधिकांश जनताले पनि यो सम्बन्धि आफ्नो अध्ययनको बारेमा भन्दा पनि आफ्ना नेताहरूका वक्तव्यका आधारमा पक्ष या विपक्षमा बहस गर्दै आइरहेका छन् ।
त्यसैले एम्सिसिको विरोधमा लगाइएकाहरूको पहिलो बुझाई भनेको अमेरिकाले केही समय अगाडि अघि सारेको इन्डोप्यासिफिक सामरिक रणनीतिकै अङ्ग एम्सिसि हो भन्ने छ । अर्थात् उनीहरूको बुझाईमा आफू र आफ्ना क्षेत्रीय सहयात्रीहरू मिलेर आर्थिक रुपमा आक्रमक रुपमा अघि बढिरहेको चीनलाई रोक्ने योजना अनुसार यो अमेरिकाले ल्याएको नीति हो भन्ने छ । अर्थात् चीनले अघि सारेको बीआर्आइ अन्तर्गतको परियोजनालाई रोकी आफ्नो प्रभुत्व कायम गराउन अमेरिकाले ल्याएको कार्यक्रम एम्सिसि हो भन्ने उनीहरूको बुझाई छ । त्यसैले यो सम्झौता अमेरिकाद्वारा कालान्तरमा चीनविरुद्ध गरिने सैनिक कार्यवाहीका लागि अमेरिकी सेनाको नेपाल बसाईसँग सम्बन्धित छ भन्ने उनीहरूलाई बुझाइएको छ । त्यस्तै केहीले भने अफगानिस्तानमा अमेरिकाले त्यहाँको प्राकृतिक धन लुटेर अन्त्यमा घर न घाटको बनाई फिर्ता भएजस्तो नेपालमा भएको प्राकृतिक धन लुटेर लैजानको लागि गरिने सम्झौता हो भन्ने परिभाषा गर्न भ्याएका छन् । यो सम्झौता संसदबाट पारित भइसकेपछि यहाँ अमेरिकि सेनाको आगमन हुने र विभिन्न निहुँमा आतङ्क फैलाई देशलाई तहस-नहस पारिने योजनाका रुपमा उनीहरूको बुझाई छ । त्यसैले सही अर्थमा अमेरिकाले यो अनुदान दिने भए त संसदबाटै किन पारित गराउन भन्थ्यो र ? अतः यो अमेरिकी योजना कुनै पनि हालतमा नेपालको संसदबाट पारित हुनुहुँदैन, भन्ने माग उनीहरूको छ ।
फेरी अर्काथरीले एम्सिसि देशको लागि अत्यन्तै लाभदायक हो भन्ने गरेका छन् । अमेरिकी सरकारले दिने यो पचास करोड अमेरिकी डलर बराबरको रकमले देशमा विद्युत् र बाटोको क्षेत्रमा कायापलट नै गरिदिने उनीहरूको धारणा छ । अमेरिकाबाट दिइने सहयोग रकमका बारेमा जनमानसमा उल्टो रुपमा बुझाई यहाँको विकास प्रक्रियालाई रोक्ने कार्यका रुपमा एम्सिसि विरोधिहरू प्रयोग भइरहेको उनीहरू बुझाई छ । यसभन्दा पहिले पनि नेपालमा अनावश्यक रुपमा राष्ट्रियताको मुद्दा उठाउँदै यहाँको विकासप्रक्रियालाई सधै अवरुद्ध पारी रोटी सेकाउने काम गरिरहेकाहरूलाई भण्डाफोर गरी एम्सिसि जस्ता अनुदानहरू अनुमोदन गराउन अलिकति पनि ढिला गर्नु हुँदैन भन्ने एम्सिसि पक्षधरहरूको जोडदार माग रहेको छ । संसदबाट अनुमोदन गराउन किन पर्यो भन्ने कुरालाई स्पष्ट पार्दै, बेला-बेलामा परिवर्तन हुने घरेलु कानूनले योजना कार्यान्वयनमा समस्या नआओस् भनेर संसदबाट अनुमोदन गर्नुपर्ने सर्त राखिएको हो भन्ने उनीहरूको बुझाई छ । त्यसैले अमेरिकी सरकारबाट दिइएको यो अनुदान संसदबाट तुरुन्त अनुमोदन होस् भन्ने उनीहरूको विचार देखिन्छ । एवम् सन् २०१९ मा भएको पूरक सम्झौतामा ‘एम्सिसि सम्झौतामा जुनसुकै कुरा लेखिएको भए पनि यो नेपालको संविधानभन्दा माथि हुने छैन’ भनी स्पष्टसँग लेखिएकोले यसका बारेमा अनेक कपोलकल्पित शंका गर्नै नहुने उनीहरूको तर्क छ ।
यी दुईथरी सिसिमुनीहरूका साँढेमिचाइमा नेपाली जनता परेका छन् । यिनै पक्षविपक्षका वकिलहरूका अदूरदर्शिताका कारण देश चीन र अमेरिकाको रणभूमिमा परिणत हुने खतरामा परेको छ । ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भन्ने नेपाली उखान अनुसार यो योजना पारित गर्दा पनि समस्या आउने नगर्दा पनि समस्या आउने खतरामा नेपाल पर्ने अवस्था आएको छ । खान पाएँ भनेर क्वाप्प नखानु, बस्न पाएँ भनेर थ्याच्च नबस्नु, बोल्न पाएँ भनेर प्वाक्क नबोल्नु भन्ने जस्ता ऋषि वचनमा वेवास्ता गरी सिसिभोजमा देशका संवेदनशील मुद्दाहरूमा पनि हस्ताक्षर गरि हिँड्ने अदूरदर्शी नेतृत्वका कारण देश दलदलमा फस्ने खतरा बढेर गएको छ । भूपि शेरचनको कविता घुम्ने मेच माथि अन्धो मान्छेको उदाहरण हाम्रै देशमा देखिएको छ ।
त्यसैले अन्त्यमा यस किसिमका विदेशीहरूका मोहराका रुपमा एम्सिसि राम्रो हो र नराम्रो हो भन्दै जनतालाई बेकुप बनाई आफ्नो दुनो सोझाउने एवं देशलाई सधै यस्तै कोलाहलको वातावरणमा राखिकन आफ्नो अभीष्ट पुरा गर्ने लक्ष्य बोकेका दुबै थरी सिसिमुनीहरूको आतङ्कबाट देशलाई बचाउनुपर्ने अवस्था आएको छ । एवं विदेशबाट नेपालमा आउने अनुदान या ऋण देश हितमा हुने नहुने कुराको निर्णय विज्ञहरूको सहभागितामा कुटनीतिक तरीकाले गरी देशलाई स्वाभिमानी र स्वावलम्बी बनाउने दिशामा एक छाक खाएर भएपनि सम्पूर्ण देशभक्तहरू लाग्ने अवस्था आएको छ । सरकारमा बसेर अमेरिकालाई एम्सिसि पक्षमा पत्र लेख्ने अनि सडकमा आफ्ना भातृसङ्गठनहरू उतार्ने द्वैध चरित्रका टाउकाहरूको भण्डाफोर गर्ने समय आएको छ ।