गाईमारा र माईमारा बराबर अपराधी हुन् (मन, वचन र कर्मद्वारा गरिने)। – श्याम खनाल
हामी सबै नेपालीको सम्बन्ध गोर्खासँग छ । कुनै जिल्ला विशेषको नामको गोर्खा (गोरखा) शब्द‚ त्यस्तो संकुचित शब्द होइन । यसको त विशाल अर्थ छ । हिमालको काखमा जन्मी विश्वका कुना कुनामा छरिएर रहेका गाईलाई माता मान्ने सबै प्राणी गोर्खा हुन् । जन्मदिने मातालाई मान्ने‚ जन्मभूमिलाई मान्ने एवं दुध दिने धाईमाता गाईमातालाई मान्ने र उनीहरूको रक्षा गर्ने हामी वीर गोर्खाली विश्वका कुना कुनामा छरिएर बसेका छौँ । हामी विदेशी उपन्यासकारहरूले भनेजस्तो कुनै बाहिरी देशबाट भागेर आएका हैनौँ । यस विषयमा राष्ट्रगुरु योगी नरहरिनाथले यसरी भन्नुभएको छ-
भगुवा भतुवा भाते शरणार्थी नभैकन ।
थरी थानी र रैथानी स्थानीय हौँ सबैजन ।
हाम्रो शरीर यहीँको माटो‚ पानी‚ हावा‚ आगो एवं आकाशको उपज हो । हाम्रा पिता भगवान् शिव हुनुहुन्छ भने माता पार्वती हुनुहुन्छ । यही तपोभूमि‚ ज्ञानभूमि‚ ध्यानभूमिमा हाम्रा पूर्खाहरूले विश्व-कल्याणको चिन्तन गरेका हुन् । यही हिमालको काखमा भावातीत अवस्थामा ध्यान गर्दा गर्दै ऋषिहरूले वेदका मन्त्रहरू देखेका हुन् । अहिँसाका प्रतीक भगवान् गौतम बुद्धको बुद्धत्व भूमि नै यही हो भने राजर्षि जनक‚ आदर्श नारी सीता‚ दार्शनिक अष्टावक्र‚ महर्षि पाणिनी आदि पनि यही पवित्र भूमिसँग सम्बन्धित छन् । गोर्खा जातीले असुर र आसुरी प्रवृत्तिको अन्त्यका लागि आफ्नो ज्यानको बाजी थापेर समेत धर्मयुद्ध गरेको इतिहास साक्षी छ । यस विषयमा राष्ट्रगुरुले यसरी भन्नुभएको छ-
श्रीदुर्गाखुकुरी लिएर बलियो चम्काउँदै हातमा
गोर्खा वीर भये समग्र जगमा दिन्मा तथा रातमा ।
गाई धर्म धरा अनाथहरूको रक्षा गरी क्षात्रता
राखे वेद विधानले सकलको पाएर सत्पात्रता ।।
तर अहिले आएर साधु‚ सज्जन र गाईमाता रक्षाका लागि विश्वमा नाम कमाएको मुलुकका पूर्खाका सन्तान हामीहरूको बुद्धिमा विर्को लाग्न थालेको छ । हामीले अर्कालाई मारेर खानु हाम्रो संस्कृति भनेर गौरव गर्न खोजेका छौँ । कुनै पनि स्त्री जातिका पशुहरूको समेत हत्या नगरिने हाम्रो संस्कारका विरुद्ध के बोल्छौँ आफै थाहा पाइरहेका छैनौँ । आधुनिक विज्ञानले समेत प्रमाणित गरेको गाईको महत्त्व थाहा पाउँदा पाउँदै पनि “बाप बडा न भैया सबसे बडा रुपियाँ” भन्दै विदेशबाट हामीहरूको धर्म संस्कारलाई टुट फुट पार्न आएको पैसा पायौँ भने जे पनि बोल्न तयार छौँ । आमा बेच्न तयार छौँ । आमा बेचेर भतेर गर्ने राक्षसी संस्कारको पृष्ठपोषणका लागि गधा माथि चढेर झण्डा हल्लाउन पनि तछाडमडाड गरिरहेका छौँ । यस्तो हुनुको प्रमुख कारण भनेको यस्तो बताउनु हुन्छ राष्ट्रगुरुले-
विदेशीको सीको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुन भनी ।
पढी लेखी घोकी अरुकन पढाई सव कुरा
अपूरा ती मिथ्या जब हुन गए भ्रान्त जनता ।।
भरखरै मात्र हाम्रो देशमा एउटा कुनै ‘लाटा देशका गाँडा तन्नेरी’ले गाईको विषयमा अत्यन्तै विवादास्पद कुरो गरेका छन् । मूर्ख मूर्ख खोजेर विदेशीहरूले विद्वान् भनाइँदा रहेछन् क्यारे‚ यति साह्रो गम्भीर विषयमा पनि यति साह्रो छाडा कसरी बोल्न सकेका हुन् । कुनै पनि धर्मले पशुहिँसालाई निषेध गरेको छ । धर्मले भनेको लाक्षणिक कुरालाई नबुझेर खानेले त खाइरहेका छन् । अझ नेपालको एक मात्र मौलिक धर्म हिन्दू (वैदिक‚ बौद्ध‚ किरात) मा त गोहत्या त मनले सोँच्दा पनि पाप हुने कुरा बताइएको छ । यहाँका पुराना रैथाने मियाहरूले पनि कहिले पनि यस्तो पथभ्रष्ट र राक्षसी कुरा सोँच्दा पनि सोँचेनन् । विदेशी क्रिश्चियन मुस्लिम देशमा पनि दुध दिने गाइको हत्या हुँदैन । त्यहाँ उनीहरूले मांसादिको लागि प्रयोग गर्ने जनावर गाईजस्ता देखिए तापनि ती भिन्न जातका हुन् । भारत‚ वङ्गलादेश र पाकिस्तानका केही अनपढ मुसलमानले गाईमाथि विवादित भनाई दिए तापनि त्यहाँका बुद्धिजीवि वर्गका मुसलमान‚ क्रिश्चियन पनि दुध दिने गाईलाई माताकै कोटीमा राख्नुपर्छ भन्दै आएका छन् । मांसाहार आफैमा घातक आहार हो त्यसमाथि गाईको मांसाहार गर्ने व्यक्ति पछि छिट्टै नै अति क्रूर भई मान्छेको मांसाहार पनि गर्न तत्पर हुन सक्तछ ।
त्यसैले गाईको अमृतरुपी दूध‚ दही‚ महीबाट स्वस्थ जीवन विताऔँ नकि मांसादिको प्रयोग गरेर क्रूर जीवन । दूध जस्तो अमृत चिजबाट हामीहरूको पालन पोषण गर्ने गाई र माई हामी गोर्खाहरूको लागि बराबरै पूज्य हुन् । त्यसैले देवता हुने प्रयास गरौँ नकि राक्षस । अन्त्यमा राष्ट्रगुरुबाटै रचित यो संस्कृत पद्य-
निषिद्धा गोहत्या पशुपतियुते हिन्दुविषये
ततो हिन्दूराष्ट्रं प्रथितमथ पृथ्वीस्थितिजुषाम् ।
क्षमेयं गोरक्षा क्षतिमसहमाना ननु गवा-
मवन्ती स्वं धर्मं हिमवति सदा स्वस्थहृदया ।।