छिट्टै गाँजालाई वैधानिक बनाउनतिर लाग्नुपर्छः भीम उपाध्याय
काठमाडौं। पूर्व सचिव तथा सामाजिक अभियान्ता भीम उपाध्यायले छिट्टै गाँजालाई वैधानिक बनाउनतिर लाग्नुपर्ने बनाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपाध्यायले छिट्टै गाँजालाई वैधानिक बनाउनतिर लाग्नुपर्ने बताएका हुन्।
उनले एमाले नेता शेरबहादुर तामाङ, केशव स्थापित, नेकपा एसका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतलाई साथ लिएर गाँजालाई वैधानिक बनाउनतिर लाग्नुपर्ने बताएका छन्।
उपाध्याय लामो समयदेखि गाँजालाई वैधानिक बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। साथै, उनले गाँजालाई वैधानिक बनाउनुपर्ने मागसहित विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।
पूर्व मन्त्रीसमेत रहेका एमाले नेता तामाङ पनि गाँजालाई वैधानिक बनाउनुपर्ने पक्षमा छन्। बिहीबारको संसद बैठकमा पनि उनले गाँजा खेतीलाई वैधानिकता प्रदान गरेर बेरोजगार युवाहरुलाई हरियो राहदानी (पासपोर्ट) दिएर विदेश पठाउनुभन्दा गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउनुपर्ने भनाई राखेका थिए।
संसदमा गैरसरकारी विधेयकको रूपमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ। यसलाई पारित गरेर गाँजालाई वैधानिक बनाउनुपर्नेमा पछिल्लो समयमा धेरैले जोड दिँदै आएका छन्।