काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरीमा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने जोडदार माग गरेका छन् । विपक्षी दलका सांसदहरूले बैठक प्रारम्भ हुनासाथ उठेर घटनाको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाउने व्यक्ति तथा समूहलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । राज्य प्रत्येक नागरिकको संरक्षक भएकाले सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा सांसद राईले जोड दिनुभयो ।
नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि उत्पन्न अराजक गतिविधि सबै पक्षको सामूहिक प्रयासपछि साम्य भएकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले यस किसिमका अप्रिय घटना भविष्यमा दोहोरिन नदिन, घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याएर दण्डित गर्न तथा विधिको शासन कायम गर्नका लागि निष्पक्ष र गहन छानबिन अनिवार्य रहेको बताउनुभयो । सांसद बरालले घटनाका कारण जलेका घर तथा सवारीसाधनको क्षतिपूर्ति उपलब्ध गराउन सकिए पनि व्यवसायी तथा पीडितमा पर्न गएको मानसिक पीडाको क्षतिपूर्ति असम्भव रहेको यथार्थ औँल्याउनुभयो । मुलुकलाई दीर्घकालसम्म असर पार्ने यस्ता संवेदनशील घटनालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुनसरी घटनापछि मुलुकका औद्योगिक घराना र व्यावसायिक वातावरण आतङ्कित भएको उल्लेख गर्दै सांसद बरालले दिगो शान्ति र सुव्यवस्था कायम गर्न दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सुनसरी घटनालाई नियन्त्रणमा ल्याउन सबैले देखाएको एकजुट प्रयास प्रशंसनीय भएको बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिनको माग गर्दै पीडित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थितिको अपेक्षा गरेको भन्दै घटनाप्रति सरकार जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले पनि सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक शान्तिपूर्ण वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।
संसदीय छलफलका क्रममा मुसलमान समुदायबाट राष्ट्रिय एकता र अखण्डतामा कुनै आँच पुग्ने कार्य नभएको स्पष्ट पारिँदै सुनसरीलगायतका क्षेत्रमा भएका घटनाको गहन छानबिन हुनुपर्ने माग गरिएको थियो । घटनाको समाधानका लागि गृहमन्त्रीबाट भएका प्रयासको प्रशंसा गर्दै केही सांसदहरूले यसअघि हिन्दू राष्ट्र कायम रहँदा यस्ता साम्प्रदायिक घटना नभएको प्रसङ्ग उठाउँदै नेपाललाई धार्मिक सहिष्णुतासहितको हिन्दू राष्ट्रका रूपमा पुनः स्थापित गर्नुपर्ने सुझाव दिए ।
समग्रमा, प्रतिनिधिसभाका सांसदहरूले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही, पीडितलाई न्याय तथा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यस घटनाले मुलुकको शान्ति सुरक्षा र धार्मिक सहिष्णुतामाथि पारेको प्रभावलाई गम्भीरतापूर्वक लिँदै दीर्घकालीन समाधानका उपाय खोज्न सदनले सरकारलाई सचेत गराएको छ ।
