१९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग तत्काल जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका सांसद गुरु बरालले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि गम्भीर प्रश्न उठ्दा पनि सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सुनसरीमा उत्पन्न धार्मिक तथा साम्प्रदायिक तनावको कारण र सुरक्षा कमजोरीको विषयमा समेत निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।
सांसद बरालले भारतीय सशस्त्र सीमा बलका सदस्यहरू सिभिल पोसाकमा नेपाली भूमिमा प्रवेश गरेको घटनाले राष्ट्रिय स्वाभिमानमाथि ठूलो चोट पुगेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूले निरन्तर असुरक्षाको महसुस गरिरहेको र यसले मुलुकको अखण्डतामाथि चुनौती थपिएको भनाइ राख्नुभयो । सरकार यस्ता संवेदनशील विषयमा किन उदासीन बनिरहेको छ भनी उहाँले प्रश्न उठाउनुभयो ।
प्रतिनिधि सभामा बोल्दै सांसद बरालले सुस्तामा बारम्बार सीमा अतिक्रमणका घटना दोहोरिँदा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेकोमा आपत्ति जनाउनुभयो । उहाँले सीमा सुरक्षा र नेपाली नागरिकको हकहितको रक्षाका लागि संसदमा कति समयसम्म ध्यानाकर्षण गराइरहनुपर्ने हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफदेही बन्न आग्रह गर्नुभयो । “आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल डे«स लगाएर प्रवेश गरेको छ । सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ । सुस्तावासीहरूले फेरि यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ । आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ,” बरालले भन्नुभयो ।
सांसद बरालले यस घटनालाई राष्ट्रिय लज्जाको विषय भन्दै प्रधानमन्त्रीले यसको संवेदनशीलतालाई गम्भीरतापूर्वक लिई जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कार्ययोजनाका साथ अघि बढ्न सरकारलाई आह्वान गर्नुभयो । नेपाली भूमिमा विदेशी सेनाको प्रवेश कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँको स्पष्ट भनाइ थियो ।
यसैगरी, सांसद बरालले सुनसरी जिल्लामा हालै उत्पन्न धार्मिक तथा साम्प्रदायिक तनावको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो घटनाको कारण र त्यस क्रममा देखिएका सुरक्षा कमजोरीहरूको विषयमा निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गर्नुभयो । यस्ता संवेदनशील घटनाले सामाजिक सद्भाव खल्बल्याउनुका साथै राष्ट्रिय एकतामा समेत नकारात्मक असर पार्ने भएकाले यसको सत्यतथ्य पत्ता लगाउनु अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
धर्म, संस्कृति र समुदायका विषयमा उत्पन्न विवादहरूलाई समयमै सम्बोधन गर्न नसक्दा ठूलो क्षति हुन सक्ने भन्दै बरालले यस्ता घटनाको मूल कारण पहिचान गरी दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले विशेष रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठ्नु चिन्ताजनक रहेको भन्दै सुरक्षा व्यवस्थालाई थप चुस्त र प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समग्रमा, सांसद बरालले राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र सामाजिक सद्भावका विषयमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै तत्काल जिम्मेवारपूर्ण र पारदर्शी जवाफ माग गर्नुभएको छ । उहाँले सुस्तामा भएको सीमा अतिक्रमण र सुनसरीको साम्प्रदायिक तनावलाई सामान्य रूपमा नलिई गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
