रुपन्देही, ६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ हवाई प्रवेशमार्गबारे सहमति जुट्ने प्रबल सम्भावना बढेसँगै लुम्बिनी क्षेत्रमा आर्थिक तथा पर्यटन विकासको आशा पलाएको छ । नेपाल र भारतबीच हवाई मार्गको प्रयोग सम्बन्धमा ठोस निर्णय भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पूर्ण क्षमतामा नियमित उडान गर्न पाउनेछ, जसले यस क्षेत्रको पर्यटन तथा व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि ल्याउने स्थानीय बासिन्दा र व्यवसायीहरूको विश्वास छ । विशेषगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशविन्दु उपलब्ध गराउने तथा महेन्द्रनगरसहितका मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग र व्यापारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाह राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्, जहाँ यो विषय प्रमुखताका साथ उठाइनेछ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग अत्यन्त महत्वपूर्ण मानिएको छ । विमानस्थलको उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) को सञ्चालनका लागि भारतीय हवाई क्षेत्रसँगको समन्वय अनिवार्य छ । भारतबाट आवश्यक अनुमति र सहजीकरण भएमा प्रतिकूल मौसममा समेत उडान तथा अवतरण सहज हुनेछ, जसले विमानस्थलको सञ्चालन दक्षतामा वृद्धि ल्याउनेछ ।
यस विषयमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थललाई भारतीय विमान कम्पनीको प्राथमिकतामा पार्दै नियमित उडानका लागि आवश्यक सहजीकरण हुने अपेक्षा व्यक्त गरेका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका साथै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायतका सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन, उद्योग तथा व्यापारमा ठूलो परिवर्तन आउने बताए । विमानस्थल निर्माणपछि त्यसको पूर्ण उपयोग र नियमित उडानका लागि सरकारसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके नेपालको पर्यटन क्षेत्रले नयाँ गति लिने औँल्याए । नेपाल विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य भए पनि अन्तरराष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उनको भनाइ छ । चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार विमानस्थल नियमित सञ्चालन हुने आशामा भैरहवा, रुपन्देही, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य पूर्वाधारमा झन्डै रु एक खर्बभन्दा बढी लगानी गरेको छ । तर, विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त नभएको स्थानीय व्यवसायीले गुनासो गरेका छन् ।

ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताउँदै नियमित अन्तरराष्ट्रिय उडान नहुँदा लगानीमा अपेक्षित लाभ लिन नसकिएको अवस्थामा विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण, जग्गा अधिग्रहण र मुआब्जासहित हालसम्म रु ३५ अर्बभन्दा बढी खर्च भइसकेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते यस विमानस्थलको स्तरोन्नति तथा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । करिब सात वर्ष चार महिनापछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गरे । उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो ।
विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यस विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरेका छन् । ती उडानबाट हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन्, जसमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु विदेश गएका छन् । विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले विमानस्थलमा आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको जानकारी दिए । नियमित हवाई सेवा सञ्चालनका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई मार्गका सम्बन्धमा सहजीकरण गर्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ युगको सुरुवात हुने बताए । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उनको विश्लेषण छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको समेत ठूलो लगानी जोडिएको अवस्थामा भारतसँग हवाई मार्ग प्रयोगका विषयमा ठोस सहमति जुट्न सके विमानस्थलको नियमित सञ्चालनका लागि महत्वपूर्ण ढोका खुल्नेछ । यसले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्नुका साथै रुपन्देहीसहित समग्र पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
