तस्बिर स्रोत, EPA
तस्बिरको क्याप्शन: गत वर्ष मे २९ मै नेपालमा मनसुन भित्रिएको थियो
गत वर्ष औसत समयभन्दा अगावै मे २९ मा नेपाल भित्रिएको मनसुन यस पटक भने सामान्यतः नेपाल प्रवेश गर्ने निर्धारित मिति जुन १३ काटिसक्दा पनि सक्रिय हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार मनसुन भित्रिन अझै केही दिन लाग्नसक्ने देखिएको छ। विभागले मनसुन घोषणाका लागि तोकिएका केही विशिष्ट मापदण्डहरूको गहन विश्लेषण गरिरहेको उनीहरूले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार यस पटकको मनसुन “थोरै ढिलो र केही कमजोर” प्रकृतिको हुने अनुमान गरिएको छ। उनी भन्छन्, “पश्चिमी वायु प्रणाली अहिलेसम्म नै सक्रिय छ, जबकि सामान्यतः मे महिनाको अन्तिमसम्ममा यस्तो प्रणाली कमजोर भइसक्थ्यो।” सिग्देल थप्छन्, “यही सक्रिय पश्चिमी वायु प्रणालीले मनसुनी बहावलाई पूर्वी दिशा हुँदै पश्चिमतिर बढ्न दिइरहेको छैन। पश्चिम बङ्गाल वा असमसम्म आइपुगेको मनसुन पनि यसकै कारण पश्चिमतर्फ फैलिन सकिरहेको छैन।” बङ्गालको खाडीबाट प्रवेश गर्ने क्रममा मनसुन कमजोर देखिएको र पश्चिम बङ्गालतर्फ आइपुग्दा सक्रिय हुन खोजे पनि पुनः सक्रिय पश्चिमी वायुको दबावमा परेको उनको भनाइ छ।
सामान्यतया जुन १ तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ। पछिल्लो एक दशकको तथ्याङ्क केलाउँदा नेपालमा तीनपटक मात्र जुन १३ पछि मनसुन भित्रिएको थियो भने बाँकी वर्षमा निर्धारित समयअगावै मनसुनी वर्षा भएको पाइन्छ।
के छन् मापदण्ड?
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले मनसुन घोषणाका लागि केही मुख्य मापदण्डहरू आवश्यक पर्ने बताउँछिन्। एउटा मुख्य मापदण्डअनुसार माथिल्लो वायुमण्डलमा अन्य बेला पश्चिमी वायु हुनेमा मनसुनको समयमा पूर्वबाट बहने मनसुन वायु हुनुपर्ने र त्यहाँ उच्च चापीय प्रणाली विकसित हुनुपर्छ।
उनी थप्छिन्, “त्यसैगरी सौर्य विकिरण जमिनमा ठोक्किएर फर्कने ‘लङ वेभ’हरू प्रतिवर्गमिटर २०० वाट भन्दा कम हुनुपर्छ। ती पनि अहिले बढ्ता छन्, जसका कारण यस मापदण्ड कुनैबेला पुग्ने कुनैबेला नपुग्ने भइरहेको छ।” त्यस्ता विकिरण कम हुँदा बादलहरू बाक्ला हुने र वर्षा धेरै हुने मौसमविद्हरू बताउँछन्।

तस्बिर स्रोत, EPA
सहप्राध्यापक सिग्देलका अनुसार तल्लो वायुमण्डलमा मनसुनी वायु नेपालतर्फ प्रवेश गरेको देखिए तापनि माथिल्लो वायुमण्डलमा पश्चिमी वायु प्रणाली सक्रिय रहेकाले मनसुन यतिखेर नेपालमा रोकावटको अवस्थामा छ। मनसुन बङ्गालको खाडीबाट बाष्पयुक्त हावा ल्याएर पूर्वबाट पश्चिमतर्फ बहने मौसमी प्रणाली हो। मौसमविद् महर्जनका अनुसार यसका तोकिएका मापदण्ड मिल्न अझै केही दिन लाग्न सक्ने देखिन्छ।
यद्यपि, भारतको मौसम विभागले भने विहारमा मनसुन भित्रिसकेको जनाएको छ। पश्चिम बङ्गाल राज्यको दक्षिणी भेगमा विगत पाँच वर्षमै सबैभन्दा छिटो मनसुन प्रवेश गरेको बताइएको छ। गत वर्ष मे २९ मा नेपाल प्रवेश गरेर अक्टोबर १० मा बाहिरिएको मनसुन नेपालमा रेकर्ड गरिएको सबैभन्दा लामो, १३५ दिनको थियो। सन् २०१२ यताका तथ्याङ्कहरूलाई हेर्दा, सन् २०१४ र सन् २०१९ मा सबैभन्दा ढिलो अर्थात् जुन २० मा मनसुन भित्रिएको पाइन्छ।
कति स्वाभाविक, कति अस्वाभाविक?
सहप्राध्यापक मदन सिग्देल हालको मौसमी क्रमलाई ‘केही अस्वाभाविक’ मान्छन्। मध्य जुनसम्म पनि वायुमण्डलमा पश्चिमी वायु प्रणाली दुई साताभन्दा बढी सक्रिय देखिनुलाई उनी यसको एउटा प्रमुख कारण बताउँछन्। सामान्य गतिमा जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हुने भए तापनि यो एकनासको पाइँदैन।

तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन: मनसुन नभित्रँदै देशका कतिपय भेगमा रोपाइँ हुन थालेको पाइन्छ
मौसम अधिकारीहरूका अनुसार मनसुन पूर्वी नेपालबाट भित्रिएको एक सातादेखि १० दिनभित्रमा देशको पश्चिमी भागसम्मै पुग्ने गरेको विगतको अनुभव छ। मौसमविद् महर्जन भन्छिन्, “गत वर्ष समेत पूरै नेपाल ढाक्न केही समय लागेको थियो। तर, यस पटकको मनसुनको वास्तविक व्यवहार मनसुन पूर्ण रूपमा भित्रिएपछि मात्र अझ प्रस्टसँग हेर्न सकिन्छ।” उनले थपिन्, “अहिले तल्लो वायुमण्डलमा जलबाष्पयुक्त हावा बङ्गालको खाडीबाटै आइरहेको छ, तर माथिल्लो वायुमण्डलमा अझै रहेको पश्चिमी न्यूनचापिय प्रणालीकै कारण अहिले देशका विभिन्न भागमा वर्षा भइरहेको छ।”
नेपालमा यसपालि लगातार चौथो वर्ष अधिकतम तापक्रम औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। मौसमविद्हरू अहिलेसम्मको अवस्थामा पनि तापक्रम औसतभन्दा बढ्ता नै रहने बताउँछन्। महर्जनका अनुसार, “हाललाई मनसुन पनि औसतभन्दा कम नै हुने देखिन्छ। तर, मनसुन सक्रिय भएपछि मात्र थप प्रस्टता आउनेछ।” यसपटक प्रि-मनसुन अवधिमा समेत उल्लेख्य वर्षा भएको पाइनुले त्यसको असर मनसुनमा पर्न सक्ने मौसमविद्हरूको आकलन छ। मनसुनी वायु सक्रिय हुनका लागि जमिन निकै तात्नुपर्छ र त्यसले समुद्रबाट जलबाष्पयुक्त हावा तानेर मनसुनी प्रणाली सक्रिय हुन्छ। यदि प्रि-मनसुन सक्रिय भएर धेरै बदली भइरह्यो भने त्यसले मनसुनको आगमनलाई केही अघिपछि पार्ने सम्भावना रहन्छ। नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३ दिने मनसुन देखा परेको थियो, जुन जुन २४ मा भित्रिएर सेप्टेम्बर ४ मा बाहिरिएको थियो।
‘सुपर एल निन्यो’
मनसुन कस्तो हुने भन्ने कुरालाई धेरै पक्षले प्रभाव पार्ने गर्छ। मौसमविद्हरूका अनुसार दक्षिण एसियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली भनेको प्रशान्त महासागरमा देखिने ‘एल निन्यो’ र ‘ला निन्या’ हो। समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा कम चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।
कैयन् देशका मौसम निकायहरूले गरेको प्रक्षेपणअनुसार यो वर्षको एल निन्यो हालसम्मकै शक्तिशाली हुन सक्छ, जसलाई ‘सुपर एल निन्यो’ पनि भनिएको छ। मनसुनमा एल निन्योका बेला दक्षिण एसियाली देशहरूमा कम वर्षा हुने गरेको पाइन्छ भने ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्हरू बताउँछन्। प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम केही तात्तिँदा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।
