झापा : झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल किचकबधमा २२०० वर्ष पुरानो संरचनाको भग्नावशेष फेला परेसँगै यसको महत्व चुलिएको छ। हालै नवौँ चरणको उत्खनन सम्पन्न भएको छ। तर, २४ वर्षको अवधिमा जम्मा ३० प्रतिशत मात्र उत्खनन सम्पन्न हुँदा यो महत्वपूर्ण ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा गम्भीर चुनौती देखिएको छ। यसकै कारण किचकबध नेपालको सम्पदा सूचीमा समेत पर्न सकेको छैन। उत्खनन कार्यको ढिलासुस्तीको मुख्य कारण एक महिनाको छोटो अवधिका लागि मात्र गरिने कार्य हो।
पुरातत्व विभागले किचकबधको उत्खननका लागि वार्षिक १० लाख रुपैयाँ बजेट छुट्टाउँदै आएको छ। पुरातत्वविद् उद्धव आचार्यका अनुसार, “कम्तीमा एक करोड रुपैयाँ बजेट छुट्टाएर लगातार तीन महिनासम्म किचकबधमा उत्खनन गर्न सके थप ऐतिहासिक संरचनाका भग्नावशेषहरू फेला पर्न सक्छन्।” उनका अनुसार, किचकबधको पुरानो मूर्ति र दुई वटा अग्ला पिपलका रुख भएको स्थानमा हालसम्म उत्खनन हुन सकेको छैन, जहाँ महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला पर्ने प्रबल सम्भावना छ।
सातौँ र आठौँ चरणको उत्खननले फेला पारेको एउटा भवनको भग्नावशेषलाई नवौँ चरणको उत्खननले पूर्णता दिएको आचार्यले बताए। दरबार आकारको सो भवनमा पाँचैतिर मानिस बस्ने स्थान र बीचमा एउटा मन्दिर (धार्मिक स्थल) को भग्नावशेष फेला परेको छ, जसलाई हाल संरक्षण गरिएको छ। आचार्यकै नेतृत्वमा २०५८ सालमा किचकबधमा पहिलोपटक उत्खनन सुरु गरिएको थियो। नवौँ चरणको उत्खननका क्रममा माटाका घैला, पुराना इँटाका टुक्रा, वाण, भाला, ढुंगाका भाँडाकुँडा, माटाका मूर्ति, ९ वटा दरबारका संरचना र सुरक्षा पोस्टहरू फेला परेका छन्। उनले सीमित बजेटका कारण २४ वर्ष बितिसक्दा पनि उत्खनन सम्पन्न हुन नसकेको भन्दै अब स्थानीय र प्रदेश सरकारले यसमा सक्रियता देखाउनुपर्नेमा जोड दिए।
यस स्थलबाट फेला परेका भग्नावशेषहरूको बेलायतमा गरिएको कार्बन परीक्षणले यो स्थल करिब २२०० वर्ष पुरानो रहेको पुष्टि गरेको छ। यो भारतमा शुंग–कुषाणकाल र नेपालमा किराँतहरूको शासनकाल अर्थात् इसापूर्व १२० देखि २०० वर्ष अगाडिको रहेको आचार्यले दाबी गरेका छन्। यस स्थलको उत्खनन २०३५ सालमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको इतिहास विभागले प्राध्यापक घनश्याम खनालको नेतृत्वमा सुरु गरेको थियो, जसपछि पुरातत्व विभागको ध्यानाकर्षण भएको मेची क्याम्पसका पूर्वप्रमुख तथा अग्रज पत्रकार चिन्तामणि दाहालले जानकारी दिए।
दाहालले किचकबधको महत्व, भेटिएका सामग्री र यसको संरक्षणका लागि उत्खनन कार्य पहिला पूरा हुनुपर्ने बताए। विभागले वार्षिक १० लाख रुपैयाँ बजेट छुट्ट्याएर १५/२० दिन मात्र काम गर्दा उत्खनन कहिल्यै नसकिने उनको भनाइ छ। उनले कम्तीमा एक करोड बजेट छुट्टाएर तीनदेखि चार महिना लगातार काम गराउनुपर्ने सुझाव दिए। साथै, उत्खनन गरिएका संरचनाहरूको संरक्षणमा पनि चासो नदिएको भन्दै तिनीहरूलाई सफा गरी पर्यटकीय बोर्ड राख्नुपर्ने आवश्यकता औँल्याए, जसले गर्दा यस क्षेत्रमा पर्यटकको आवागमन बढ्नेछ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले किचकबध भद्रपुर नगरको सम्पत्ति भएको बताउँदै धार्मिकभन्दा पनि पुरातात्विक महत्वका दृष्टिकोणले यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले संघीय तथा प्रदेश सरकारसँग बजेट माग गरिरहेको जानकारी दिए। चालु आर्थिक वर्षमा विनियोजित ३ करोड रुपैयाँको बजेट विभिन्न कारणले कटौती भएको र आगामी आर्थिक वर्षको बजेट भाषणमा संघीय सरकारले बजेट नछुट्याएकाले प्रदेश सरकारसँग माग गरिएको नगरप्रमुख पोखरेलले बताए। उनले यस स्थलको उत्खननका लागि बजेट अभाव नै मुख्य समस्या भएको बताउँदै संघीय तथा प्रदेश सरकारलाई बारम्बार घचघचाइरहेको उल्लेख गरे। नगरपालिकाले किचकबधको तस्बिर हुलाक टिकटमा राख्न पहल गरी पत्राचारसमेत गरेको छ।
नगरप्रमुख पोखरेलले यस क्षेत्रलाई संसारभर चिनाउने अभियानमा लाग्नुपर्ने आवश्यकतामा जोड दिँदै पर्यटन बोर्डले किचकबधलाई चिनाउने योजना बनाई अघि बढ्नुपर्ने बताए। उनले किचकबधलाई विश्व सम्पदा सूचीमा पार्न पहिला नेपाल सम्पदा सूचीमा पार्नुपर्ने र अहिलेसम्मको उत्खननले यसको प्रक्रिया पूरा भएकोले नगरपालिकाले सम्बन्धित निकायमा पहल गर्ने बताए। भद्रपुर वडा नम्बर २ का वडाध्यक्ष राम कँडेलले यो वडाको मात्र नभई नगरको गहना भएको बताउँदै धार्मिक, पर्यटकीय र पुरातात्विक महत्व बोकेको यस क्षेत्रको विकास र उन्नतिका लागि सबैले लागेर विश्व सम्पदा सूचीमा पार्नुपर्ने धारणा व्यक्त गरे। महाभारतकालीन किंवदन्तीअनुसार, विराट राजाका सालो सेनापति किचकले पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राखेकाले भीमसेनले उनको बध गरेका थिए। सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको किचकबध धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए।
