गोरखा, भदौ २८, २०८३। मनास्लु क्षेत्रमा जलवायु परिवर्तनले उत्पन्न गरिरहेको जोखिम न्यूनीकरण र संवेदनशील हिमतालहरूको संरक्षणको माग गर्दै स्थानीय युवाहरूले आमरण अनसनको घोषणा गरेका छन्। चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाहरूले आगामी असोज २ गतेदेखि मनास्लु आधार शिविरमा अनिश्चितकालीन आमरण अनसन सुरु गर्ने तयारी गरेका छन्।
स्थानीय युवा अगुवा दावा नोर्बु लामाका अनुसार, युवाहरूको समूहले गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। उक्त पत्र वडा अध्यक्ष, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा समेत दर्ता गरिएको छ। यस आन्दोलनको मुख्य उद्देश्य मनास्लु क्षेत्रमा बढ्दो हिमताल विस्फोटको जोखिमप्रति सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउनु हो।
ध्यानाकर्षण पत्रमा मनास्लु आधार शिविर र पुंगेन गुम्बा वरपर नयाँ हिमतालहरूको संख्या बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। विशेषगरी वीरेन्द्र ताल, कालताल, घुन्सारफुक ताल, न्योचुथानमा रहेका तीनवटा ठूला जोखिमयुक्त तालहरू तथा मनास्लु र चुम क्षेत्रका अन्य हिमतालहरूको तत्काल हवाई अनुगमन तथा निरीक्षणको माग गरिएको छ। पत्रमा भनिएको छ, ‘यी सबै तालहरूको गहिराइ मापन गरी भविष्यमा हुन सक्ने हिमताल विस्फोट (GLOF) को जोखिम अध्ययन गरियोस्।’ साथै, यी ताल र नदीहरूमा पानीको जलसतह नाप्ने आधुनिक संयन्त्र जडान गर्न र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन प्रणाली स्थापना गर्न पनि जोडदार माग गरिएको छ।
युवाहरूले नेपाल र चीनको सीमा क्षेत्रमा रहेका हिमताल तथा हिमनदीहरूको संयुक्त अध्ययन र अनुगमनका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) जस्ता हिमाली क्षेत्रमा कार्यरत संस्थाहरूले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखेर आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
शैक्षिक क्षेत्रमा समेत जलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउन सबै हिमाली क्षेत्रका विद्यालयहरूको पाठ्यक्रममा यस विषयलाई समावेश गर्नुपर्ने माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान नगण्य (०.०४ प्रतिशत) रहेकोले प्रदूषण फैलाउने विकसित राष्ट्रहरूबाट नेपालले पाउनुपर्ने जलवायु क्षतिपूर्ति र न्यायका लागि सरकारले सशक्त पहल गर्नुपर्ने उनीहरूको भनाइ छ।
जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष रूपमा अनुभव गर्नका लागि सहरहरूमा हुने गरेका जलवायुसम्बन्धी बैठक र सेमिनारहरू हिमाली क्षेत्रमै आयोजना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थाहरूसँग माग गरिएको छ। सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पार्ने भएकाले, हिमाली बस्तीका नागरिकको जीवन रक्षाका लागि पूर्वतयारी गर्न पनि पत्रमा विशेष जोड दिइएको छ।
अनसनको घोषणा गर्दै युवा अगुवा लामाले सुरुमा आफू एक्लै अनसन बस्ने बताएका छन्, तर यस अभियानमा आफूलाई साथ दिन धेरै युवा तयार रहेको जानकारी दिए। जलवायु परिवर्तनको बढ्दो प्रभाव र हिमताल विस्फोटको जोखिमबाट हिमाली जनजीवनको रक्षाका लागि स्थानीय युवाहरूको यो आन्दोलन महत्त्वपूर्ण कदम मानिएको छ।
