तस्बिर स्रोत, UK Ministry of Defence
तस्बिरको क्याप्शन, मार्च २, २०२६मा कतारी सैन्य अखडामा गरिएको कारबाहीमा दुईवटा सुखोइ-२४ लडाकु जेट प्रयोग गरिएको इरानले बताएको छ (फाइल फोटो)
इरानले कतारमा रहेका आफ्ना तीन लडाकु विमानचालकहरूलाई अविलम्ब रिहा गर्न आह्वान गरेको छ। अमेरिका-इरान युद्धको सुरुवाती चरणमा कतारी हवाई सुरक्षा प्रणालीले आफ्ना दुई लडाकु विमानलाई खसालेपछि ती पाइलटहरूलाई कतारले नियन्त्रणमा लिएको इरानको दाबी छ। यस आरोपलाई कतारले भने ठाडै अस्वीकार गरेको छ।
इरानका ब्रिगेडियर जेनरल मोहम्मद बागेरजादेहले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई लेखेको पत्रमा जावाद सलेही, अब्दुल मजिद दास्तियान र इमरान बेहरोसियान नामका ती पाइलटहरू विगत छ महिनादेखि कतारको कब्जामा रहेको उल्लेख गरेका छन्। यो घटना युद्ध सुरु भएको तेस्रो दिन सन् २०२६ को मार्च २ मा भएको थियो। इरानका अनुसार, कतारमा रहेको सैन्य अखडामा हमला गर्ने सैन्य कारबाहीका क्रममा लडाकु विमानबाट उछिट्टिएका तीन पाइलटलाई कतारले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा मारिएका चौथा पाइलट मजिद कजेमीको शव भने फिर्ता गरिएको पत्रमा भनिएको छ। इरानी सञ्चारमाध्यमहरूमा प्रकाशित आईसीआरसीका प्रमुखलाई लेखिएको उक्त पत्रमा जेनरल बागेरजादेहले कतारमाथि “सम्पूर्ण अन्तर्राष्ट्रिय नियमकानुन विपरीत ती बन्दीहरूको अक्षुण्ण अधिकार” हनन गरेको आरोप लगाएका छन्। पत्रमा भनिएको छ कि ती तीन जना पाइलटलाई तिनको परिवारसँग भेट्न वा सम्पर्क गर्न पनि दिइएको छैन।
कतारद्वारा अस्वीकार
इरानको दाबीलाई कतारले “ठाडै अस्वीकार” गरेको छ। कतारले ती “गलत भनाइ”बाट आफू अचम्भित भएको प्रतिक्रिया दिएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता मजेद मोहम्मद अल अन्सारीले कतारी हवाई क्षेत्रको उल्लङ्घन भएपश्चात् पाइलटहरूसँग सम्पर्क गरिएको तर कुनै जबाफ नआएको बताए। उनले “अन्तर्राष्ट्रिय कानुनबमोजिम हाम्रो भूभाग रक्षा गर्न आवश्यक कदम चालिएका थिए” भनी सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
अल अन्सारीले कतारी खोज तथा उद्धार टोलीले ती “पाइलटका ‘अवशेष’ खोज्नका निम्ति आफ्नो कर्तव्य पूर्ण पालना गरेको” स्पष्ट पारेका छन्। उनले “अवशेष फेला परेका एक जना पाइलटलाई हस्तान्तरण गर्न” इरानसँग कतारले सम्पर्क गरेको तर उक्त खोज तथा उद्धार कारबाहीका विवरण समीक्षा गर्न दिइएको निम्तोबारे तेहरानले अझसम्म कुनै जबाफ नदिएको बताए।
अमेरिका र इजरेलद्वारा इरानमाथि फेब्रुअरी २८ मा आक्रमण गरिएपछि चलेको युद्ध अझै जारी छ। बीचमा भएको युद्धविराम सहमतिका बाबजुद पनि आक्रमण-प्रत्याक्रमणका घटनाहरू भइरहेका छन्। यस युद्धले होर्मुज जलमार्गलाई पनि प्रभावित पारेको छ, जुन अन्तर्राष्ट्रिय अर्थतन्त्रका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिन्छ। उक्त जलमार्गको भावी सञ्चालनबारे इरान र ओमानबीच भइरहेका वार्तामा केही प्रगति भएको विवरणहरू सार्वजनिक भएका छन्। यसैबीच, इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासमा व्यावसायिक उडानहरू फेरि सुरु भएका छन्, जहाँ युद्धका दौरान बारम्बार अमेरिकी आक्रमणका घटनाहरू भएका थिए।
