तस्बिर स्रोत, AFP via Getty Images
तस्बिरको क्याप्शन, प्रतिस्पर्धी म्यान्चेस्टर सिटीलाई ७ अङ्कले दोस्रो स्थानमा पार्दै आर्सनलले मे महिनामा प्रिमिअर लीग उपाधि जितेको थियो
पछिल्लो लीग सिजनमा लामो अन्तरालपश्चात् आर्सनल टोलीले उपाधि जित्यो। यस सिजनमा उसले उपाधिको रक्षा गर्नु पर्नेछ – सन् २००४-०५ को लीग सिजनपछि यो पहिलो अवसर हो।
यसपालि पनि ‘गनर्स’ टोली उपाधि जित्ने बलियो दाबेदार हो। तर, इतिहासको पानामा उपाधि रक्षकहरूको प्रदर्शन कस्तो रहेको पाइन्छ, अनि मिकेल आर्टेटाको टोलीले लगालग दोस्रो प्रिमिअर लीग उपाधि जित्न सक्ला?
आर्सनलको मनस्थिति उस्तै रहला?
पछिल्ला वर्षहरूमा म्यान्चेस्टर सिटी टोलीका म्यानेजर पेप गार्डिओलाले उपाधि रक्षाको कार्य सरल रहेको देखाएका छन्। सन् २०१७-१८ मा सिटी टोलीलाई गार्डिओलाले म्यानेजरका रूपमा पहिलोपल्ट उपाधि दिलाएका थिए। त्यसपछि यो वर्ष क्लब छाड्नु अघि उनले चार पल्ट म्यान्चेस्टर सिटीलाई प्रिमिअर लीग उपाधि रक्षा गर्न सघाए।
प्रिमिअर लीगमा उनको आगमनभन्दा पहिले लगालग दुई वा तीन पटक उपाधि जित्नु निकै कठिन कार्य मानिन्थ्यो। गार्डिओलाले पहिलो उपाधि जित्नु अगाडिका आठ सिजनमा कुनै एक टोलीले उपाधि रक्षा गर्न सकेको थिएन। गार्डिओलाभन्दा अगाडि प्रिमिअर लीग कालमा जम्मा दुई जना म्यानेजरहरूले मात्र आफ्ना टोलीको उपाधि रक्षा गर्न सकेका थिए – म्यान्चेस्टर युनाइटेडका सर एलेक्स फर्गुसन र चेल्सीका जोजे मोरिन्योले।
विजेता टोलीलाई उपाधि रक्षा गर्न किन यति धेरै कठिन हुन्छ भन्ने प्रश्नको एउटा जबाफ चाहिँ मनोवैज्ञानिक कारण भन्ने आउँछ। एउटा पूरै सिजनभरि विजेता टोलीका खेलाडीहरूले लीगको जितका निम्ति निरन्तर परिश्रम गरेका हुन्छन्। जब उपाधि जितिन्छ, स्वाभाविक रूपमा त्यो ठूलो सफलताका साथै राहतको क्षण पनि बन्न पुग्छ। अनि केही महिना नबित्दै तिनै खेलाडीहरूले सम्पूर्ण परिश्रम दोहोर्याउनु पर्ने हुन्छ – त्यो पनि उपाधि रक्षकको थप बोझका साथ।
यो काम निकै गाह्रो हुन्छ। यस्तै गाह्रो सन् २०१५-१६ मा नाटकीय रूपमा लीग विजेता बनेको लेस्टर सिटी क्लबलाई भएको थियो। लगत्तैको सिजनमा उक्त क्लबलाई उपाधि रक्षामात्र होइन प्रिमिअर लीगमा टिकिरहन नै धौ धौ पर्यो। उपाधि जितेपछि लेस्टर सिटीका एक जना खेलाडीले विजेता टोलीका सदस्यहरूमाथि पर्ने मनोवैज्ञानिक प्रभावबारे गार्डिअनलाई भनेका थिए: “उपाधि जित्नु भनेको एभरेस्ट चढ्नु जस्तै थियो। त्यसपछि ओर्लँदा धाप मारिन्छ र फेरि सुरुदेखि चढ्न भनिन्छ।”
प्रिमिअर लीगका एक पूर्व खेलाडी एन्ड्रस टाउनसेन आर्सनललाई अघिल्लो सिजनको प्रदर्शन दोहोर्याउन कठिन हुने ठान्छन्। “लिभरपुल क्लबले यसअघि दुई चोटि उपाधि जित्दा उसले लगत्तैको सिजनमा उपाधि रक्षा गर्न सकेको थिएन। लगत्तैको सिजनमा उसको प्रदर्शन तुलनात्मक कमजोर रहे,” टाउनसेनले बीबीसी रेडिओ फाइभ लाइभलाई बताए। “अन्तत: उपाधि जित्दा तपाईँले ठूलै राहत अनुभव गर्नुहुन्छ। तर के फेरि अर्को सिजनमा उही स्तरको आक्रामकता र मनस्थिति कायम हुन सक्छ?”
निरन्तरता निर्णायक हुन सक्छ
आर्सनलका प्रतिद्वन्द्वी टोलीहरूमा आउने सिजनमा थुप्रै फेरबदल भएका छन्। म्यान्चेस्टर सिटी, लिभरपुल र चेल्सी नयाँ म्यानेजरका साथ मैदानमा ओर्लने छन्। टोअनह्याम र म्यान्चेस्टर युनाइटेडका म्यानेजर अघिल्लो सिजनको बीचमा नियुक्त भएका थिए र यसपालि पूरै सिजनको निम्ति पहिलोपल्ट ती क्लबको बाग्डोर सम्हाल्दै छन्।
तस्बिर स्रोत, AFP via Getty Images
तस्बिरको क्याप्शन, म्यानेजर मिकेल आर्टेटाले आर्सनललाई नेतृत्वमा निरन्तरता दिने छन्
अर्थात् ती टोलीभित्र एक तहको अनिश्चय हुने छ जबकी आर्सनललाई मिकेल आर्टेटाको नेतृत्वमा निरन्तरता उपलब्ध हुन्छ। आफ्नो खेलाडी टोलीमा पनि आर्सनलले धेरै परिवर्तन गरेको छैन। सबभन्दा उल्लेखनीय भनेको ग्रीक क्लब ब्रुगबाट अग्रपङ्क्तिका क्रिस्टस जोलिस तथा न्युक्यासल युनाइटेडबाट मिडफिल्डर ब्रुनो गिमाराइजको आगमन रहेको छ। खासगरी गिमाराइजलाई भित्र्याउँदा उपाधि रक्षाको सम्भावना उच्च हुने आर्टेटाको विश्वास छ। तर रक्षापङ्क्तिका विलियम सलिबा घाइते हुँदा आर्सनललाई धक्का लागेको छ। विश्वकपका बेला ढाडमा चोट लागेपश्चात् उनी ‘लामो समय’का लागि मैदान बाहिरै हुने देखिन्छ।
प्रतिद्वन्द्वीहरू बलिया होलान्?
म्यानेजरको फेरबदलले आर्सनलका केही प्रतिद्वन्द्वीहरूलाई थोरै अनिश्चयमा पारे तापनि उपाधि जित्ने होडमा ती टोलीहरू रहने छन् भन्नेमा दुविधा छैन। उदाहरणका लागि चेल्सीको बागडोर सम्हालेका जाबी ओलोन्सोमाथि धेरैको नजर छ। अनि उक्त टोलीले इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीका फर्वार्ड मोर्गन रोजर्सजस्ता केही चर्चित खेलाडी भित्र्याएको छ।
म्यान्चेस्टर सिटीका नयाँ म्यानेजर एन्जो मारेस्काले नटिङ्गम फरेस्टका मिडफिल्डर एलियट एन्डरसनलाई भित्र्याएका छन् तर स्पेनी मिडफिल्डर रोड्रीलाई क्लबले गुमाउने देखिएको छ। हालै सकिएको विश्वकपमा उत्कृष्ट खेलाडी बनेका रोड्रीको ठाउँमा चेल्सीका एन्जो फर्नान्डेज आउन सक्छन्। म्यान्चेस्टर युनाइटेडले एस्टन भिलाका युरी टियलमान्सलाई भित्र्याएर आफ्नो मिडफिल्ड मजबूत पारेको छ भने भिलाले रोजर्स, टियलमान्स र लुका डिन्यलाई गुमाउँदै छ। दुई सिजनअगाडि उपाधि विजेता रहेको लिभरपुलले सेन्टर-ब्याक जेरेमी ज्याके तथा डिफेन्डर रोनाल्ड अरावोलाई भित्र्याएको छ। टोअनह्यामका म्यानेजरले स्यान्ड्रो टोनाली, माटेअस फर्नान्डेज तथा ज्या पल भ्यान हेकजस्ता खेलाडी भित्र्याएका छन्।
आर्सनललाई सिजनको सुरुआत कति कठिन?
सुरुआतमै बलियो प्रदर्शन गर्नु सिजनको सफलताका निम्ति महत्त्वपूर्ण हुन्छ। सुरुमा सजिला खेल पर्योभन्दैमा सफलता निश्चित् नभए पनि त्यसले टोलीलाई अवश्य सहज बनाउँछ। विश्वका १३,५०० विभिन्न क्लबहरूको गोल गर्न सक्ने क्षमता विश्लेषण गरेर ओप्टाले प्रिमिअर लीगका प्रत्येक टोलीको पहिलो पाँच खेलको कठिनाइको स्तर जाँचेको छ। त्यसमा ओप्टाले अरू टोलीको तुलनामा म्यान्चेस्टर युनाइटेडले सहज सुरुआती प्रतिद्वन्द्वी पाउने गरेको ठानेको छ।
गत सिजनमा आर्सनल र म्यान्चेस्टर सिटीबीच उपाधिको निम्ति मुख्य प्रतिस्पर्धा भयो। यसपालिका सुरुआती खेलहरू हेर्दा यी दुवै टोलीले समान स्तरको कठिनाइ (प्रतिद्वन्द्वी) झेल्ने ठानिएको छ। आर्सनलले पहिलो खेल कोभेन्ट्रीसँग गृह मैदानमा खेल्ने छ र त्यसपछि एस्टन भिलासँग खेल्न जानेछ। लगत्तै उसले गृह मैदानमा चेल्सीसँग र बाहिर निस्किएर सन्डरल्यान्ड तथा ब्राइटनसँग खेल्ने छ। म्यान्चेस्टर सिटीले चाहिँ गृह मैदानमा बर्नमथसँग खेल्ने छ र क्रिस्टल प्यालेससँग खेल्न जाने छ। लगत्तै कोभेन्ट्रीसँग गृह मैदानमा खेल्ने छ र त्यसपछि प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडकहाँ खेल्न जानेछ। लगत्तै उसले गृह मैदानमा सन्डरल्यान्डसँग खेल्ने छ। यसपालिको प्रिमिअर लीग नेपाली समयानुसार अगस्ट २२ देखि सुरु हुने छ। पहिलो खेल आर्सनल र कोभेन्ट्री सिटीका बीच हुने छ।
