काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट विच्छेद हुँदै गएको गम्भीर निष्कर्ष प्रस्तुत गरेका छन्। वामपन्थी आन्दोलनले वर्तमान समयमा सामना गरिरहेका चुनौतीहरूको विश्लेषण गर्दै उनले यो कटु सत्य स्वीकारेका हुन्।
आइतबार राजधानीमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले गत प्रतिनिधिसभा निर्वाचनको परिणामलाई उदाहरणका रूपमा प्रस्तुत गरे। उनको भनाइमा, एमालेले पार्टी सदस्य र तिनका निकट जनमतबाहेक अन्य समुदायको विश्वास र समर्थन आर्जन गर्न सकेन। यसले कम्युनिस्ट पार्टीहरू आफ्नो वैचारिक आधार र सामाजिक जनाधारबाट विच्छेद भइसकेको स्पष्ट सन्देश दिएको उनको ठहर छ।
वामपन्थी शक्तिहरूले विगतमा पूर्वाधार विकासका परियोजनाहरूमा अत्यधिक ध्यान केन्द्रित गर्दा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण मुद्दाहरूमा प्रभावकारी काम गर्न नसकेको पोखरेलले बताए। उनले जोड दिए, “पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिस्ट जनमत होला जस्तो भयो। पार्टी सदस्य र उसको निकटको सदस्यमा आधारित जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ।” उनको विश्लेषणमा, यसले कम्युनिस्ट पार्टीको जनाधार संकुचित बन्दै गएको र आधारभूत वर्गसँगको नाता कमजोर भएको देखाउँछ।
आधारभूत वर्गसँगको यो विच्छेदको मूल कारण खोतल्दै महासचिव पोखरेलले वामपन्थीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गराउने सन्दर्भमा चुकेको स्पष्ट पारे। नेपालको श्रमशक्तिको सबैभन्दा ठूलो हिस्सा कृषिमा निर्भर रहे पनि कृषि पेसामा संलग्न परिवारकै शिक्षित युवाहरू आधुनिक कृषि प्रणाली वा कृषि उद्यमशीलतामा फर्कन नचाहँदा समाजमा शैक्षिक बेरोजगारीको भयावह स्थिति सिर्जना भएको उनको विश्लेषण छ। ग्रामीण क्षेत्रमा उत्पादनशील शक्ति बन्न सक्ने युवाहरू शहरी क्षेत्र वा विदेश पलायन हुन बाध्य भएको यथार्थ उनले प्रस्तुत गरे।
उनले भने, “कृषिलाई पेसा मान्ने समुदायभित्रको लेखपढ गरेको पुस्ताले कृषिमा फर्कन मानेन। त्यो पुस्ता शैक्षिक बेरोजगारको रूपमा समाजमा उपस्थित भयो।” पोखरेलका अनुसार, रोजगार वा काम दिन सक्ने क्षेत्रहरूमा शिक्षित युवाहरूको संलग्नता हुन सकेन। आफू शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह अन्ततः वैदेशिक पलायन, राज्यविरुद्धको घृणा र वैकल्पिक राजनीतिक शक्तिहरूको खोजीमा परिणत भएको उनले औंल्याए। मुलुकले भोगिरहेको वर्तमान संकटको एउटा प्रमुख कारण नै शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न गहिरो असन्तुष्टि भएको पोखरेलले दाबी गरे।
यस्तो विषम परिस्थितिमा कम्युनिस्ट आन्दोलनको भविष्यका लागि पार्टीको समग्र पुनर्गठन आजको अपरिहार्य आवश्यकता भएको उनले औंल्याए। वामपन्थी कार्यकर्ताहरूमा उत्पन्न भएको निराशालाई उत्साह र गतिशीलतामा बदल्न जरुरी रहेको बताउँदै उनले आगामी दिनमा आन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउन जनतासँगको सम्बन्धलाई थप बलियो र सुदृढ बनाउनुपर्नेमा विशेष जोड दिए। जनताका आधारभूत आवश्यकता र जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो। यसका साथै, नीति निर्माण र कार्यान्वयनमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि पनि उनले प्रकाश पारे, जसले जनविश्वास पुनर्जीवित गर्न मद्दत पुग्नेछ।
