तस्बिर स्रोत: Donny Muslim/BBC
इन्डोनेसियाको जाभा सागरमा डुबेको एक यात्रुवाहक पानीजहाज (फेरी) दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १०७ जनाको सकुशल उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनाग्रस्त उक्त पानीजहाजमा सवार १३० जना यात्रु अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।
२४३ जना यात्रु बोकेको ‘भर्गो ट्रान्सपोर्ट ८’ नामक पानीजहाज खराब मौसमका कारण आइतबार बिहानै सम्पर्कविहीन भएको थियो। यो फेरी सुराबायाबाट दक्षिण कालिमन्तानको बन्जारमासिनतर्फ गइरहेको थियो। स्थानीय समयअनुसार आइतबार बिहान करिब २ बजे बन्जारमासिनबाट करिब १५० किलोमिटर दक्षिणमा यसको अन्तिम अवस्थाबारे जानकारी प्राप्त भएको थियो।
घटनास्थलमा व्यापक खोजी तथा उद्धार अभियान चलाइएको छ। यसका लागि नौसेनाका पानीजहाज र हेलिकप्टरहरू परिचालन गरिएको छ। जाभा सागरमा रहेका अन्य सबै पानीजहाजहरूलाई पनि दुर्घटनाग्रस्त फेरीका यात्रुहरूको कुनै संकेत देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
दुर्घटना व्यवस्थापनका लागि आइतबार बिहान त्रिशक्ति बन्दरगाह क्षेत्रमा एउटा अपरेसन केन्द्र स्थापना गरिएको छ। बान्जारमासिनकी रुस्मिलावती आफ्ना आठ जना आफन्तको खबर पाउन बन्दरगाह पुगेकी छन्। उनका आफन्तहरू जाभाका विभिन्न इस्लामिक विद्वानहरूको समाधि स्थलको भ्रमण गरी हवाईजहाजबाट पुगेका थिए तर फर्कने क्रममा पानीजहाजको यात्रा गर्न चाहेका थिए। रुस्मिलावतीले आइतबार दिउँसोसम्म पनि आफ्ना आफन्तहरूको उद्धारबारे कुनै आधिकारिक जानकारी नपाएको बताइन्।
परिवारले अन्तिम पटक ती आफन्तहरूमध्ये एकजनाको ‘ह्वाट्सएप स्टाटस’ मार्फत जानकारी प्राप्त गरेको थियो। उक्त पोस्टमा लेखिएको थियो: “आज राति छालहरू निकै डरलाग्दा छन्। के पानीजहाजको यात्रामा यस्तै हुन्छ, जहाज हल्लिने र छालहरूसँग ठोक्किने?” रुस्मिलावतीले भनिन्, “आशा छ, उनीहरू सुरक्षित छन्।”

तस्बिर स्रोत: Getty Images
अर्कोतर्फ, मिसनाह आफ्ना पति अहमद सुपान्दी जीवितै रहेको खबर पाएर भावविभोर भइन्। ‘भर्गो ट्रान्सपोर्ट ८’ मा सवार अहमदलाई पछि ‘एमभी हाइडा’ नामक अर्को जहाजले उद्धार गरेको थियो। सुराबायास्थित तन्जुङ पेराक बन्दरगाहमा चालक दलका सदस्यका आफन्तहरू पनि आफ्ना प्रियजनबारे जानकारी लिन व्यग्रताका साथ पर्खिरहेका छन्।

तस्बिर स्रोत: Donny Muslim/BBC
फ्रेडी नाम गरेका एक आफन्तले उनका कान्छा भाइ स्टेभी मानुहुवा सो जहाजमा किबोर्ड वादकका रूपमा कार्यरत रहेको र यात्रुहरूलाई मनोरञ्जन प्रदान गर्ने गरेको बताए। फ्रेडीले भने, “पानीजहाज सुराबायामा रोकिँदा दुई दिनअघि हाम्रो कुराकानी भएको थियो। त्यसयता अहिलेसम्म कुनै खबर आएको छैन।” उनले आफ्ना भाइको अवस्था वा उनी कहाँ छन् भन्नेबारे अझैसम्म कुनै जानकारी नपाएको गुनासो गरे।
इन्डोनेसियाली द्वीप समूहमा १७,००० भन्दा बढी टापुहरू छन् र त्यहाँ पानीजहाज यातायातको एक प्रमुख माध्यम हो। यसअघि गत महिना पनि इन्डोनेसियाको मादुरा टापुनजिकै एउटा फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो। यस्ता दुर्घटनाहरू इन्डोनेसियामा बारम्बार हुने गरेका छन्, जसले समुद्री यातायातको सुरक्षामाथि प्रश्न उठाएको छ।
