काठमाडौँ: नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात गरेको जनाएको छ, जुन ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो। पृथ्वी राजमार्ग अवरुद्ध भई आपूर्तिमा केही चुनौती देखिए पनि निगमले वैकल्पिक व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत उपभोक्तालाई ग्यास उपलब्ध गराइरहेको छ।
निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) को विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको छ। नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुँदैआएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि ग्यास आपूर्ति प्रणालीमा अस्थायी परिवर्तन गरिएको छ। यसको सामना गर्न निगमले तराईका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरणको व्यवस्था मिलाएको छ। विशेषगरी, भदौ १८ गतेदेखि २७ गतेसम्म वैकल्पिक मार्गहरु त्रिभुवन राजपथ र बिपी राजमार्गको प्रयोग गरी करिब तीन लाख ९९ हजार ५२९ वटा सिलिन्डर उपभोक्तालाई वितरण गरिसकेको सहप्रवक्ता सुवेदीले जानकारी दिनुभयो।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका खाली सिलिन्डरलाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। यस व्यवस्थाले आपूर्तिलाई केही सहज बनाएको छ। पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ।
निगमले मुख्य राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर यसै वैकल्पिक मार्गबाट काठमाडौँ ल्याई बिक्री वितरण जारी राख्ने जनाएको छ। बाटो सञ्चालनमा आएलगत्तै एलपी ग्यासका बुलेटहरू नियमित रूपमा सोही रुटबाट आउने छन्। काठमाडौँमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी वजारमा पठाउन थालेपछि ग्यासको आपूर्ति थप सहज हुने विश्वास गरिएको छ।
आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन निगमले उच्चस्तरीय समन्वय टोली गठन गरेको छ। सरकारले ग्यास भरिएका सिलिन्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा लुकाएको पाइएका करिब एक हजार २०० थान सिलिन्डर तत्काल उपभोक्तालाई वितरण गरिएको छ भने अनियमितता गर्ने विक्रेतालाई जरिवानासमेत गराइएको निगमले जनाएको छ। ग्यास सिलिन्डर बिक्री वितरणलाई थप पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने पहल पनि भइरहेको सहप्रवक्ता सुवेदीले बताउनुभयो।
चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा ग्यासको आयात र बिक्रीमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ। गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा करिब १२ लाख बढी सिलिन्डरको बजारीकरण भएको छ। आर्थिक वर्ष २०८०/८१ को साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर ग्यास बिक्री भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर ग्यास बिक्री भएको थियो। यस्तै, गत वर्षको भदौमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर ग्यास बिक्री भएकोमा चालु आर्थिक वर्षको भदौ २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ। यो वृद्धिले बजारमा ग्यासको माग बढिरहेको संकेत गर्दछ।
