बागमती प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका तथा पुराना घटनाका उपचाररत घाइतेको मृत्यु पुष्टि भएसँगै कम्तीमा ६ जनाको ज्यान गएको छ। सोही अवधिमा १० जना विभिन्न घटनामा परी घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार, ज्यान गुमाउनेहरूमा करेन्ट लागेर दुई जना, भिरबाट लडेर दुई जना र सवारी दुर्घटनामा परी दुई जना रहेका छन्।
बाँदर धपाउन खेतबारीमा जडान गरिएको करेन्ट लागेर काभ्रे र सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ। काभ्रेको पनौती नगरपालिका–१२, महभीरमा असार ५ गते दिउँसो ६८ वर्षीया कमला मुल्मीको आफ्नै काक्रोबारीमा करेन्ट लागी ज्यान गयो। उनी काक्रो गोडमेल गर्न जाँदा करेन्टको सम्पर्कमा आएकी थिइन्। यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, बगुवामा धानको बीउ राख्न खेतमा जाँदा बाँदर धपाउन राखिएको करेन्टको पासोमा परी ६६ वर्षीय भीमप्रसाद दुलाल मृत अवस्थामा फेला परेका छन्। मृतकका दाइ टोमशंकर दुलालले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
भिरबाट लडेर दुई जनाले ज्यान गुमाएका छन्। नुवाकोटको तारकेश्वर गाउँपालिका–१, जन्तरे शिरान डाँडामा असार ५ गते खेतिपातीका लागि गएका ३८ वर्षीय जितबहादुर तामाङ भिरबाट करिब ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, रसुवाको नौकुण्ड गाउँपालिका–५, खाल्चेतका ७० वर्षीय बुदे गलान तामाङको असार ५ गते काठमाडौंस्थित ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी असार ३ गते बाख्राका लागि घाँस काट्न जाँदा भिरबाट करिब १०० मिटर तल खसेर गम्भीर घाइते भएका थिए।
सवारी दुर्घटनामा परी थप दुई जनाको मृत्यु भएको छ। चितवनको रत्ननगर नगरपालिका–४, देवौलीमा असार ५ गते ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ५१ वर्षीय शान्तकुमार चौधरीको ज्यान गयो। गम्भीर घाइते भएका चौधरीलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। अर्को घटना सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, नयाँपुलमा वैशाख १ गते भएको मोटरसाइकल दुर्घटनासँग सम्बन्धित छ। उक्त दुर्घटनामा गम्भीर घाइते भएका बा.प्र.०२–०४९ प ७७६२ नम्बरको मोटरसाइकलमा पछाडि सवार १४ वर्षीय जितबहादुर श्रेष्ठको काठमाडौंस्थित केएमसी अस्पतालमा असार ५ गते राति उपचारका क्रममा मृत्यु भएको हो। सोही दुर्घटनामा चालक २५ वर्षीय जीवन खत्रीको घटनाकै दिन मृत्यु भएको थियो।
यसैगरी, प्रदेशका विभिन्न स्थानमा भएका घटनामा १० जना घाइते भएका छन्। दोलखाको कालिञ्चोक गाउँपालिका–१, बेगुम्बामा मोटरसाइकलमा मोबिल हाल्ने क्रममा चेनले दाहिने हातका तीन औँला काटिँदा २५ वर्षीय दिनेश बुढा घाइते भए। धादिङको नीलकण्ठ नगरपालिका–५, खाल्टेमा ५३ वर्षीया मिरा नेपाली आफ्नै घरको पिँढीमा अचेत अवस्थामा फेला परेपछि प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६, बीपी राजमार्गमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १९ वर्षीय बिरमान तामाङ गम्भीर घाइते भई धुलिखेल अस्पताल पठाइएका छन्। नुवाकोटको बिदुर नगरपालिका–५, माझिटारमा अटो ब्रेक फेल भई पल्टिँदा घाइते भएका होम घलेसहित शान्तीकुमारी तामाङ, शोकबहादुर तामाङ र टेकबहादुर तामाङ उपचारपश्चात् डिस्चार्ज भएका छन् भने एक जनाको उपचार जारी छ। चितवनको भरतपुर महानगरपालिका–२, लायन्सचोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल सवार एक जना र एक पैदलयात्री गरी दुई जना पुरुष गम्भीर घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३, वनस्पति क्षेत्रमा मोटरसाइकल चित्तलसँग ठोक्किँदा ३५ वर्षीय दीपक सिन्तान गम्भीर घाइते भएका छन् र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उक्त दुर्घटनामा चित्तलको घटनास्थलमै मृत्यु भएको थियो।
