तस्बिर स्रोत, ISNA/WANA/REUTERS
होर्मुज जलमार्गमा पानीजहाजको सुरक्षित आवागमन व्यवस्थापनबारे इरानसँग सकारात्मक वार्ता भइरहेको ओमानले जनाएको छ। तर, तेहरानले कुनै सम्झौता हुँदैमा उक्त महत्त्वपूर्ण जलमार्ग तत्काल पूर्णतः खुला नहुने चेतावनी दिएको छ। शनिवार दुवै देशले वार्तामा प्रगति भइरहेको बताए पनि त्यसको समयसीमा भने अस्पष्ट छ। ओमानको विदेश मन्त्रालयले पानीजहाजहरूमाथि कुनै पनि आक्रमण भए सो प्रक्रियामा अवरोध पुग्ने स्पष्ट पारेको छ।
तेहरानका सर्त
इरानका विदेशमन्त्री अब्बास अराग्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्, तर जलमार्गलाई फेरि खुला गर्न “अन्य सर्तहरू” बाँकी रहेको उल्लेख गरे। विश्वको तेल तथा प्राकृतिक ग्यासको करिब २० प्रतिशत परिमाण ढुवानी हुने उक्त जलमार्गलाई इरानले गत फेब्रुअरीमा अमेरिका र इजरायलले आफूविरुद्ध आक्रमण गरेलगत्तै लगभग ठप्प पारिदिएको थियो। पछिल्ला दिनहरूमा भएका वार्ता सो जलमार्गमा पानीजहाज आवातजावतका निम्ति नयाँ बाटो निर्धारणसम्बन्धी इरान र ओमानबीच सहमतिको सम्भावना खोजीमा केन्द्रित छन्। यस्तो बाटोका लागि दुवै देश जिम्मेवार हुनेछन् र त्यसले पानीजहाज आवातजावत सहज बनाउने अपेक्षा गरिएको छ।
तर, अराग्चीले व्यस्त जलमार्गलाई पुनः र पूर्ण खुला गर्न अन्य सर्तहरू समेत पूरा हुनुपर्ने सङ्केत गरेका छन्। त्यस्ता सर्तमा अमेरिकाले जुनमा दुई देशले हस्ताक्षर गरेको युद्धविराम सहमति उल्लङ्घन गरेका कारण क्षतिपूर्ति तिर्नुपर्ने पनि रहेको उनले बताए। समझदारी पत्र (एमओयु) भनिएको उक्त सहमतिका साथै कूटनीतिक वार्ता चाँडै नै भङ्ग भयो र दुवै देशले आक्रमण-प्रत्याक्रमण सुरु गरे।
तस्बिर स्रोत, Getty Images
इरानका सुरक्षा प्रमुख मोहम्मद बकेर जोल्कादरले तस्नीम समाचार संस्थासँग बोल्दै अमेरिकाले आफ्नो व्यवहार “नसच्चाएसम्म” जलमार्ग नखुल्ने बताएका छन्। उनका अनुसार जलमार्ग खोल्न अमेरिकाले ६ वटा सर्त पूरा गर्नु पर्छ जसमा इरानविरुद्ध धम्की दिन बन्द गर्नुपर्ने, इरानी बन्दरगाह लक्षित सामुद्रिक नाकाबन्दी अन्त्य हुनुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने, इरानविरुद्धका आर्थिक प्रतिबन्ध खुकुलो पारिनु पर्ने र युद्धका लागि क्षतिपूर्ति दिनु पर्ने जस्ता विषयहरू रहेका छन्। यसैबीच, जुलाई २० देखि रेड सीस्थित साउदी अरेबियाका बन्दरगाहलाई लक्षित गर्दै यमनका इरान समर्थित हुथी समूहले नाकाबन्दी गरिरहेको छ।
ट्रम्पको भनाइ र शुल्क विवाद
यो साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग “छिट्टै” सहमति हुने बताएका थिए। तर, उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजसँग बोल्दै प्रगति भए तापनि धेरै काम बाँकी रहेको जानकारी दिए। “हामी खेलको बीचमा छौँ। यो सकिएको छैन,” भान्सले भने। उनका अनुसार अमेरिकी जनताका निम्ति उत्कृष्ट परिणाम हासिल गर्न कूटनीतिक, आर्थिक तथा सैन्य गरी सबै किसिमका विकल्पहरू उपयोग भइरहेका छन्। साथै, युद्धभन्दा अगाडि वा फेब्रुअरी २८ भन्दा अगाडिकै परिमाणमा खाडीबाट “तेल ढुवानी” हुने उनले बताए। “पानीजहाजहरू सुरक्षित आवतजावत गर्न सक्ने गरी मार्ग व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे हामी काम गरिरहेका छौँ,” भान्सले स्पष्ट पारे।
उक्त जलमार्ग पार गर्न पानीजहाजले इरानलाई शुल्क तिर्नु पर्छ भनेर इरानले दिइरहेको धम्की तेहरान र वाशिङ्टनबीच विमतिको एउटा मुख्य बुँदा रहेको बताइएको छ। सो जलमार्ग पार गर्ने पानीजहाजले बोकेको सामग्रीको मूल्यको ५-७ प्रतिशतसम्म तेहरानले शुल्क लिन खोजेको एक इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले विगतमा विवरण दिएको थियो। तर, भान्सले ती विवरणलाई धेरै महत्त्व नदिई “इरानीहरूले होर्मुज जलमार्गमा शुल्क लगाउने उनीहरूको कुनै योजना नरहेको हामीलाई बताएका छन्” भन्दै थपे।
युएईको ट्याङ्करमा हमला
ओमानले होर्मुज जलमार्गमा रहेका पानीजहाजमाथि कुनै पनि आक्रमण नगर्न चेतावनी दिइरहँदा, शनिवार युनाइटेड अरब इमिरेट्स (युएई) ले इरानले उसको सरकारी तेल कम्पनी एडनकसँग सम्बन्धित एक ट्याङ्करलाई निसाना बनाएको दाबी गरेको छ। युएईको विदेश मन्त्रालयले “इरानी हमला” मा एडनकको ट्याङ्करमाथि “क्षेप्यास्त्र” प्रहार भएको बताए पनि त्यसमा कुनै हताहत भने नभएको जनाएको छ।
शनिवार यूकेको सामुद्रिक व्यापार सञ्चालनसम्बन्धी निकाय यूकेएमटिओले पनि ओमानको तट पारी “अज्ञात प्रोजेक्टाइलबाट” एक पानीजहाजमा हमला भएको र त्यसका कारण भएको आगलागी निभाइएको बताएको छ। यस घटनामा पनि कुनै हताहत नभएको उसले जानकारी दिएको छ। युएईले भनेको र यूकेएमटिओले भनेको घटना एउटै पानीजहाजसँग सम्बन्धित हो वा फरक, त्यो भने अझै प्रस्ट हुन सकेको छैन।
