देशभरका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्लो २४ घण्टाभित्र भएका विशेष कारबाहीहरूमा ठूलो मात्रामा खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा नियन्त्रित लागूऔषधका विभिन्न परिमाण बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा नेपाली नागरिकका साथै भारतीय नागरिक समेत रहेका छन्।
काठमाडौँ महानगरपालिका-३२, कोटेश्वर चोक नजिकबाट शुक्रबार साँझ प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३१ वर्षीय अशिम श्रेष्ठ सहित दुई जनालाई १ ग्राम ९२ मिलिग्राम खैरो हेरोइन र नगद २४ हजार रुपैयाँ सहित पक्राउ गरेको छ।
प्रदेश नं १ अन्तर्गत, झापाको मेचीनगर नगरपालिका-८ बाट शनिबार बिहान २ जनालाई ५३ ग्राम ४ सय ४० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा २३ वर्षीय सोमनाथ राजवंशी र २४ वर्षीय गणेश चौधरी रहेका छन्। उनीहरू प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटीसफारीमा सवार थिए। झापा गाउँपालिका-४ टाघनडुब्बाबाट भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका २७ वर्षीय रिङ्वाङ लिम्बुलाई शुक्रबार दिउँसो २ ग्राम ६ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ।
मोरङको विराटनगर महानगरपालिका-१५ बाट शुक्रबार दिउँसो भारत बिहारका २२ वर्षीय साहिल पाण्डे सहित २ जनालाई १४ ग्राम २ सय ७० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको छ। उनीहरू प्र.१-०२-०५३ प २६७ नम्बरको स्कुटरमा सवार थिए। सोही महानगरपालिका-१५ मण्ठा पोखरीबाट शनिबार दिउँसो ३१ वर्षीय मोहमद हुसेनलाई करिब १ सय ग्राम ६ सय मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिइएको छ।
सुनसरीको इनरूवा नगरपालिका-३ बाट शुक्रबार साँझ २६ वर्षीय मनोज उराव सहित २ जनालाई २ हजार ७ सय ट्याब्लेट ट्रामाडोल सहित नियन्त्रणमा लिइएको छ। धरान उपमहानगरपालिका-११ बाट शनिबार बिहान २४ वर्षीया स्वास्तिका गुरूङ सहित ३ जनालाई ९ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ। यस क्रममा घरधनी कृष्ण राई फरार रहेकाले उनको खोजी कार्य जारी छ।
मधेस प्रदेशमा, सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका-४ बाट शनिबार राति ४३ वर्षीय मोहन साहलाई करिब ९१ किलो २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिइएको छ। प्रहरीलाई देख्नासाथ ५ जना अपरिचित व्यक्तिहरूले लागूऔषध फाली भाग्ने क्रममा साहलाई नियन्त्रणमा लिइएको हो भने अन्य ४ जना फरार छन्। पर्साको वीरगन्ज महानगरपालिका-१६ बाट भारतबाट नेपालतर्फ आउँदै गरेका ना.११ प ५०२५ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय राहुल यादव सहित २ जनालाई शुक्रबार दिउँसो करिब १ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ।
बागमती प्रदेश अन्तर्गत, चितवनको भरतपुर महानगरपालिका-२ स्थित होटल राइनसबाट शुक्रबार दिउँसो ३२ वर्षीय दिनेश परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम, बुप्रेनोर्फिन, फेनारगन (प्रत्येक ३२ एम्पुल) र नगद ६५ हजार ७ सय रुपैयाँ सहित पक्राउ गरिएको छ। प्रहरीले उनले प्रयोग गरेको ना.६५ प १३१७ नम्बरको स्कुटर समेत बरामद गरेको छ। भरतपुर महानगरपालिका-१२ बाट शुक्रबार दिउँसो ३० वर्षीय रामलामा वाईवालाई ट्रामाडोल ६१ ट्याब्लेट र भोमिन ७० ट्याब्लेट सहित नियन्त्रणमा लिइएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि लागूऔषध कारोबारी पक्राउ परेका छन्। बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ बाट शुक्रबार दिउँसो २० वर्षीय सर्जन परियारलाई ५ सय ४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बाट शुक्रबार दिउँसो ३० वर्षीय बिरेन्द्र चौधरी सहित ३ जनालाई १ ग्राम ४ सय १० मिलिग्राम खैरो हेरोइन, नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित नियन्त्रणमा लिइएको छ।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
