भोटेकोशी बाढीले प्रकृतिको अदम्य शक्तिको भयावह चित्र प्रस्तुत गर्दै मानव सभ्यता प्रकृतिको सामु निरीह प्रमाणित गरिदिएको छ। यस बाढीले मानवनिर्मित संरचनाहरू पनि क्षणभंगुर हुन्छन् भन्ने कटु सत्य उजागर गरेको छ, साथै प्रकृतिसँग सहअस्तित्वको सिद्धान्त अपनाउनु नै बुद्धिमानी हो भन्ने गहिरो सन्देश दिएको छ।
नदीहरू मानव सभ्यताका जीवनरेखा हुन्; यिनले सिँचाइ, विद्युत् उत्पादन र बस्तीलाई जीवन दिन्छन्। तर, नदीहरू कहिलेकाहीँ आफ्नो विनाशकारी रूपमा प्रस्तुत हुन्छन्। भोटेकोशी बाढीले गरेको विध्वंश नदीभित्र लुकेको त्यही शक्तिको प्रकटीकरण हो। जीवन दिने नदीले कहिलेकाहीँ जीवन लिन्छ भन्ने यथार्थ यसले प्रमाणित गरिदिएको छ।
हिजो हजारौंलाई जीवन र जीविकोपार्जनको आधार दिने भोटेकोशी नदीले आज हजारौंको जीवन र बास, गाँस, कपास खोसेको छ। यसको दोष केवल प्रकृतिलाई मात्र दिन मिल्दैन, मानव पनि उत्तिकै दोषी छन्। मानिसले विकास र प्रकृतिबीचको सन्तुलनलाई बेवास्ता गरी गरिएका निर्माणले असन्तुलन पैदा भयो। सहअस्तित्वको शाश्वत सत्यलाई उपेक्षा गर्दा प्रकृति आफ्नो उग्र रूपमा प्रस्तुत भयो र मानव निरीह साबित हुन पुग्यो।
यो बाढी मानव-प्रकृति सम्बन्धको असन्तुलनको परिणाम हो। यस बाढीमा मानिसका घर, सपना र आशाहरू बगेका छन्; हजारौं सुन्दर जीवन सदाका लागि गुमेका छन्, जुन फर्काउन सकिँदैन। धेरैले जीवन गुमाए, बाँचेकाहरूले पनि घर र सम्पत्ति गुमाए। यति ठूलो क्षतिमा आफन्त गुमाउनुको पीडाले सबैभन्दा धेरै पोलेको छ। सम्पत्ति र घर पुनः प्राप्त गर्न सकिएला, तर गुमेको जीवन र आफन्त फर्केर आउँदैनन् भन्ने पीडा बाढी पीडितका आँखामा आँसु बनेर उर्लिरहेको छ।
एकैछिनको बाढीले रसुवा, नुवाकोट र धादिङका हजारौंको जीवन समाप्त पारेको छ, हजारौं घर खण्डहर बनेका छन्। घर मानिसको आश्रयस्थल मात्र नभई सपना, मिहिनेत र वर्षौंसम्मको भावना जोडिएको सम्पत्ति हो। क्षणिक विध्वंसले मुटु चिरिन्छ, मन भक्कानिन्छ। पीडाले बोल्न नसकेर उनीहरू भग्नावशेष बनेको घर हेर्दै टोलाइरहेका छन्। हजारौं सपनाहरू बाढीमा बगेका छन्, सपनाविहीन बस्तीहरू रित्तो खण्डहरूजस्तै बनेका छन् जहाँ जीवनको आस होइन, त्रासमात्रै छ।
त्रसित मानिसहरू पलायनको योजना बुन्न थालेका छन्। के अब त्यो त्रिशूली बजार, ढुंगेबजार, टिमुरे अनि स्याफ्रुबेसी फेरि उसैगरी आवाद होला? त्यहाँको चहलपहल, पहिचान, सौन्दर्य, समाजशास्त्र र अर्थतन्त्रले पुनर्जीवन पाउला? भोटेकोशी बाढीका कारण हजारौंको मृत्यु र सुन्दर बस्तीहरू क्षतविक्षत भएपछि यस्तै गम्भीर प्रश्नहरूको जन्म भएको छ।
भोटेकोशी बाढीले मानिसका आँखा खोलिदिएको छ, सोचलाई सिर्जनशील र विचारलाई परिमार्जन गरिदिएको छ। यो प्राकृतिक घटना हुनुका साथै मानवीय संवेदनाको परीक्षा पनि हो। यसले मानवीय कमजोरी औंल्याए तापनि मानवीय आँट र साहसलाई जगाएको छ। बाढीले संरचना भत्काए पनि मानवीय संवेदनालाई झन् घनिभूत र भावनालाई झन् सबल बनाइदिएको छ।
फलस्वरूप, सहयोगी मनहरू जागेका छन् र सहयोगी हातहरू अघि बढेका छन्। बाढीले मानिसको सम्पत्ति, संरचना र सपना बगाए पनि जिउने आशा र संकल्प बगाएको छैन। अवरोधले बाटो छेके पनि जीवनयात्रा रोकिँदैन। शोक र पीडालाई शक्ति र संकल्पमा बदलेर मानिसहरू पुनः उठ्नेछन् र जीवनयात्रालाई निरन्तरता दिनेछन्।
