तस्बिर स्रोत, Reuters/Getty Images/BBC
तस्बिरको क्याप्शन, क्रिस्टा पाइकलाई दिइएको मृत्युदण्डको सजायलाई लिएर अन्तिम क्षणसम्म कानुनी विवाद चलेको थियो
संयुक्त राज्य अमेरिकाको टेनसी राज्यमा मृत्युदण्डको सजाय पाएकी क्रिस्टा पाइकलाई घातक सुईमार्फत मृत्युदण्ड दिने प्रयास विफल भएपछि अस्पताल भर्ना गरिएको उनका वकिलले बताएका छन्। उनका वकिलका अनुसार, ५० वर्षीया पाइकलाई दुई वटा पेन्टोबार्ब्रिटोल सुई दिइएपछि उनको ‘जीवन रक्षा गर्ने उपायहरू’ अपनाएर उपचार गरिएको हो। मृत्युदण्डको सजाय कार्यान्वयनमा के त्रुटि भयो भन्नेबारे विवरणहरू आइरहेका छन्। पाइकलाई सन् १९९६ मा १९ वर्षीया कलिन स्लिमरको हत्याका लागि मृत्युदण्डको सजाय सुनाइएको थियो। यो मृत्युदण्ड अन्तिम क्षणसम्म कानुनी विवादको विषय बनेको थियो।
टेनसीमा यो वर्ष मृत्युदण्डको सजाय कार्यान्वयन असफल भएको यो दोस्रो घटना हो। गत मे महिनामा सन् १९९४ मा अपहरण र तीन जनाको हत्याका लागि दोषी ठहर गरिएका टोनी करदर्सलाई घातक औषधि दिने नसा फेला पार्न नसकिएपछि उनको मृत्युदण्डको प्रक्रियालाई पछि सारिएको थियो।
कसरी कार्यन्वयन गरिन्छ?
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, झन्डै ८९ प्रतिशत घटनामा घातक सुई दिएर मृत्युदण्डको सजाय कार्यान्वयन गरिन्छ
डेथ पेनाल्टी इन्फरमेशन सेन्टर (डीपीआईसी) का अनुसार, सन् १९७६ मा अमेरिकी सर्वोच्च अदालतले मृत्युदण्डमाथिको अस्थायी प्रतिबन्ध हटाएयता अमेरिकामा १,६८३ जनालाई मृत्युदण्ड दिइएको छ। यीमध्ये १८ जना महिला छन्, जुन कुल संख्याको १ प्रतिशत हो। डीपीआईसीको तथ्याङ्क अनुसार, सन् २००९ मा सर्वाधिक ४७ जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०२४ मा २५ जनालाई मृत्युदण्ड दिइएको थियो।
अमेरिकामा मृत्युदण्डको सजायलाई लिएर जनसमर्थन घट्दै गइरहेको छ र यो अहिले ५० वर्षयताकै न्यून बिन्दुमा छ। हालैको एउटा ग्यालप सर्वेक्षणमा ५२ प्रतिशत अमेरिकीहरूले सन् २०२५ मा उक्त अभ्यासलाई समर्थन गरेको देखिन्छ, जबकि ४४ प्रतिशतले त्यसप्रति विरोध जनाएका छन्। यो सन् १९६६ मे यताकै सर्वाधिक उच्च तहको असहमति हो। सन् १९७६ यता अमेरिकी राज्यहरूले मृत्युदण्डको सजाय दिन पाँच मुख्य विधिहरू अवलम्बन गरेका छन्:
- करेन्ट लगाउने
- गोली हान्ने
- झुन्ड्याउने
- ग्यास च्याम्बर
- घातक इन्जेक्सन
घातक इन्जेक्सन सबैभन्दा आम विधि हो र अमेरिकामा सन् १९७६ यताका कुल मृत्युदण्डमध्ये ८९ प्रतिशत यसै विधिबाट कार्यान्वयन गरिएका छन्। डीपीआइसीका अनुसार, हाल मृत्युदण्ड कार्यान्वयन गर्दै आएका प्रत्येक राज्यले घातक इन्जेक्सन प्रयोग गर्छन् र धेरैले वैकल्पिक उपायहरूलाई पनि अनुमति दिएका छन्। अमेरिकामा कुनै पनि राज्यले सन् १९९६ यता झुन्ड्याएर मृत्युदण्ड दिएका छैनन्। अन्तिम पटक डेलवेरमा बिली बेलीलाई त्यसरी मृत्युदण्ड दिइएको थियो। न्यू ह्याम्पसरले सन् २०१९ मा मृत्युदण्डलाई उन्मूलन गरे पनि, घातक इन्जेक्सनको प्रयोग व्यावहारिक नभएको अवस्थामा झुन्ड्याएर मृत्युदण्ड दिन सकिने व्यवस्था कायम राखेको थियो। यद्यपि, उक्त राज्यले सन् १९३९ देखि मृत्युदण्डको सजाय कार्यान्वयन गरेको छैन।
अमेरिकामा २७ वटा राज्यहरूले सङ्घीय र सैनिक कानुनअन्तर्गत मृत्युदण्डलाई कानुनी मान्यता दिएका छन्। क्यालिफोर्निया, ओहायो, ओरेगन र पेन्सलभेनिया लगायत चार वटा राज्यहरूले मृत्युदण्डको सजायलाई स्थगित गरेका छन्। कानुनी मान्यता प्राप्त गरेका कैयौँ अरू राज्यहरूले पनि वर्षौँदेखि उक्त सजाय कार्यान्वयन गरेका छैनन्। सन् २०२५ मा फ्लोरिडामा १९ वटा मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको थियो, जुन सो वर्षको कुल राष्ट्रिय तथ्याङ्कको करिब ४० प्रतिशत हो।
कस्ता औषधिहरू प्रयोग हुन्छन्?
ऐतिहासिक रूपमा धेरै राज्यहरूले तीन वटा औषधि प्रयोगसम्बन्धी प्रोटोकल तयार पारेका छन्:
- एनिस्थेस्टिक वा बेहोस बनाउने (अधिकांश अवस्थामा सोडिअम थायोपेन्टल र पछि मिडाजोलम)
- पक्षाघात गराउने तत्त्व (भिक्युरोनिअम ब्रोमाइड)
- मुटुको धड्कन बन्द गराउन पोटासिअम क्लोराइड
वर्षौँसम्म सोडिअम थायोपेन्टललाई घातक सुईहरूमा व्यापक रूपमा प्रयोग गरिन्थ्यो। तर, मृत्युदण्ड दिइँदा उक्त औषधिको प्रयोगप्रति फर्मस्यूटिकल कम्पनीहरूले विरोध जनाएपछि र युरोपेली सङ्घको नियमनले यसको उपलब्धतालाई घटाएपछि, उत्पादकहरूले उक्त प्रयोजनका लागि सो औषधिको आपूर्ति रोकिदिए। त्यसपछि धेरै राज्यहरूले एउटै औषधि पेन्टोबारबिटलको प्रोटोकललाई पछ्याए, जसअन्तर्गत बन्दीलाई बारबीचुरेटको भारी डोज दिएर मस्तिष्कका गतिविधि र श्वासप्रश्वासलाई निष्क्रिय तुल्याइन्छ। कम डोजमा उक्त औषधि बिरामीलाई शान्त पार्ने वा छारे रोग नियन्त्रण गर्न प्रयोग गरिन्छ भने पशुचिकित्सकहरूले जनावरहरूलाई मार्न पनि यो औषधि प्रयोग गर्छन्।
सङ्घीय सरकारले सन् २०१९ मा एकल औषधि प्रोटोकलअन्तर्गत अभावका माझ मृत्युदण्डमा प्रयोग गर्ने एक मात्र औषधिका रूपमा पेन्टोबारबिटललाई राख्ने निर्णय लिएको थियो। यसको परिणाम स्वरूप कैयौँ राज्यहरूले औषधि उत्पादकभन्दा अलि कम नियमन गरिने फार्मेसीहरूबाट उक्त औषधिको जोहो गर्ने गरेका छन्। कैयौँ राज्यहरूले आपूर्तिकर्ताको परिचय गोप्य राख्ने व्यवस्थासहितका कानुन अनुमोदन गरेकाले औषधिको स्रोत अधिकांश अवस्थामा अस्पष्ट रहने गरेको छ। यसका बाबजुद, यसै वर्षको एप्रिलमा न्याय मन्त्रालयले प्रकाशन गरेको एउटा मेमोले यसलाई ‘घातक इन्जेक्सनमा प्रयोग गरिने औषधिमध्ये सर्वेत्कृष्ट मानक’ का रूपमा चित्रण गरेको थियो।
डीपीआइसीका अनुसार, उक्त औषधि प्राप्त गर्न भइरहेका कठिनाइले मृत्युदण्ड कार्यान्वयन गर्दा कतिपय राज्यहरूले नयाँ औषधि र मिश्रणलाई विकल्पका रूपमा प्रयोग गर्नुपर्ने परिस्थिति निम्त्याएको छ। यसका कारण मृत्युदण्डको कार्यान्वयनमा समय लाग्ने र बन्दीहरूले पीडा र आघात महसुस गर्नुपर्ने अवस्था देखिएको छ भने लागत पनि बढेको छ। सन् २०१४ मा घातक सुईमार्फत् मृत्युदण्ड दिने प्रक्रियामा गम्भीर त्रुटि देखिएपछि ओक्लोहोमाकी गभर्नरले त्यसलाई स्थगित गरेकी थिइन्। लुइजियानाले औषधि प्राप्त गर्न नसकेपछि १५ वर्षसम्म उक्त सजायको कार्यान्वयन गरेन। सन् २०२५ को डिसेम्बरमा नाइट्रोजन ग्यास प्रयोग गरी उसले मृत्युदण्डको स्थगन अन्त्य गरेको थियो।
के परिवर्तन भएको छ?
तस्बिर स्रोत, Tennesse Department of Corrections
तस्बिरको क्याप्शन, क्रिस्टा पाइकलाई सन् १९९६ मा १९ वर्षीया युवती कलिन स्लेमरको हत्याका लागि दोषी ठहर गरिएको थियो
एप्रिल महिनाको अमेरिकी न्याय मन्त्रालयको मेमोले मृत्युदण्डको विधिलाई विस्तार गर्ने भन्दै त्यसमा गोली प्रहार गर्ने, ग्यास प्रयोग गर्ने र करेन्ट लगाउनेसहितका तरिकाहरू उल्लेख गरेको थियो। मन्त्रालयले उक्त कदमले मृत्युदण्डको सजायलाई ‘बलियो बनाउने’ भन्दै त्यसले ‘सबैभन्दा बर्बर अपराधहरूलाई निरुत्साहित गर्ने, पीडितहरूलाई न्याय दिने र जीवित रहेका पीडितका परिवारलाई लामो समयदेखि उनीहरूले प्रतिक्षा गरेको शान्ति’ दिने उल्लेख गरेको थियो।
जो बाइडेनको प्रशासनले अधिकांश सङ्घीय मृत्युदण्ड कार्यान्वयनमा रोक लगाएको थियो। राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि मृत्युदण्डको सजायप्रति समर्थन जनाउँदै आएका छन् र सन् २०२५ जनवरीमा उनले पुनः पदभार ग्रहण गरेकै दिन न्याय मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन अघि बढाउन निर्देशन दिएका थिए।
विद्युतीय कुर्सी
करेन्ट लगाएर मृत्युदण्ड दिने विधि एक समय निकै प्रचलित थियो, तर अहिले यो दुर्लभ बन्दै गएको छ। हाल अमेरिकाका नौ राज्यले यो विधिलाई अनुमति दिन्छन्। साउथ क्यारोलिनाले यसलाई राज्यमा मृत्युदण्ड कार्यान्वयन गर्ने मूल विधि बनाएको छ भने अन्य आठ राज्यले घातक सुईलाई प्राथमिक विकल्प राख्दै विद्युतीय कुर्सीलाई वैकल्पिक उपायका रूपमा राखेका छन्। सन् १९७६ यता १६३ जनालाई यसरी मृत्युदण्ड दिइएको छ, तर सन् २००० पछि भने केवल १९ वटा मृत्युदण्ड यसरी कार्यान्वयन भएका छन्। पछिल्लो पटक सन् २०२० मा टेनसीमा यो विधि प्रयोग गरिएको थियो।
गोली हानी मृत्युदण्ड
गोली हानेर मृत्युदण्ड दिने विधि कुनै बेला परम्पराको अवशेषका रूपमा लिने गरिन्थ्यो। तर साउथ क्यारोलाइनाले सन् २०२५ मा यो विधिमार्फत् मृत्युदण्ड कार्यान्वयन पुनः सुरु गर्यो। त्यसपछि घातक सुईका लागि आवश्यक औषधि प्राप्त गर्न कठिनाइ भएपछि आइडाहोले जुलाई २०२६ मा गोली हानेर मृत्युदण्ड दिने विधिलाई आफ्नो मुख्य कार्यान्वयन विधि बनायो।
नाइट्रोजन ग्यास
अलाबामा सन् २०२४ मा नाइट्रोजन हाइपोक्सिया प्रयोग गरेर मृत्युदण्ड कार्यान्वयन गर्ने पहिलो राज्य बनेको थियो। त्यसपछि मार्च २०२५ मा लुइजियानाले पनि यही विधि अपनायो। यस प्रक्रियामा कैदीलाई शुद्ध नाइट्रोजन सास फेर्न बाध्य पारेर शरीरलाई अक्सिजनबाट वञ्चित गराइन्छ। समर्थकहरूले यसलाई घातक इन्जेक्सनको व्यावहारिक विकल्पका रूपमा वर्णन गर्छन्। तर आलोचकहरूका अनुसार यो विधिको पर्याप्त परीक्षण भएको छैन र यसले गम्भीर नैतिक प्रश्नहरू उठाउँछ।
आलोचकहरू के भन्छन्?
मृत्युदण्डका आलोचकहरूका अनुसार घातक सुईमार्फत् मृत्युदण्ड दिन आवश्यक औषधि प्राप्त गर्न भइरहेको कठिनाइ र विवादास्पद बनेका केही मृत्युदण्ड कार्यान्वयनहरूले गम्भीर मानवीय प्रश्नहरू उठाएका छन्। कानुनी चुनौती अधिकांश अवस्थामा कतिपय औषधि प्रयोगका मापदण्डहरूले अनावश्यक पीडा वा कष्ट निम्त्याउँछन् भन्नेमा केन्द्रित छन्। अभियानकर्ताहरूले ती कदमले अमेरिकी संविधानले निषेध गरेको ‘क्रूर र असमान्य दण्डमाथिको प्रतिबन्ध’लाई उल्लङ्घन गरेको पनि तर्क गर्ने गरेका छन्।
आलोचकहरूले केही राज्यमा मृत्युदण्डका लागि औषधि आपूर्ति गर्ने कम्पनी वा व्यक्तिको पहिचान गोप्य राखिने भएकाले औषधिको स्रोत र गुणस्तरबारे स्वतन्त्र रूपमा जाँच गर्न कठिन हुने पनि औँल्याउने गरेका छन्। केही आलोचकहरूले मृत्युदण्डको असर बन्दी र पीडितका परिवारमा मात्र सीमित नहुने तर्क गरेका छन्। सन् २०१४ मा बीबीसीसँगको अन्तर्वार्तामा १९९० को दशकमा जर्जियाको कारागार प्रणाली सञ्चालन गरेका एलेन अल्टले मृत्युदण्ड कार्यान्वयनले कारागार प्रमुख, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा प्रत्यक्षदर्शीहरूमाथि पनि दीर्घकालीन मानसिक असर पार्ने बताएका थिए। उनले बीबीसीसँग भनेका थिए, “म अझै पनि दुस्वपन देख्छु। यो तपाईँले कल्पना गर्न सक्ने सबैभन्दा जानजानी गरिने हत्या हो र यसको प्रभाव जीवनभरि मानसपटलमा रहिरहन्छ।”
