काठमाडौँ, मङ्सिर ५ गते । अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षा र सिपसँग जोडेर आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारले सातवटै प्रदेशमा ‘रिसर्च एण्ड रिसोर्स सेन्टर’ स्थापना गर्ने योजना अगाडि बढाएको छ। यो पहल विशेष आवश्यकता भएका बालबालिकाको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण कदम मानिएको छ।
प्रतिनिधिसभा सदस्य सरिता महतोले बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ, नेपालको १५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस योजनाको घोषणा गर्नुभएको हो। राजधानीमा आयोजित उक्त सभामा उहाँले भन्नुभयो, “यी रिसर्च एण्ड रिसोर्स सेन्टरमार्फत अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरदेखि विद्यालय, उच्च शिक्षा, क्षमताअनुसारको सिप र रोजगारीसम्म जोड्ने दीर्घकालीन योजना बनाइएको छ।”
सांसद महतोले आफ्नो छोरा तीन वर्षको हुँदा अटिजम पहिचान भएपछि यस क्षेत्रमा काम गर्न प्रेरित भएको अनुभव सुनाउनुभयो, जसले गर्दा उहाँलाई यस क्षेत्रमा नीतिगत कार्य गर्न प्रेरणा मिलेको छ। उहाँले अभिभावकहरूको चिन्ता निवारण गर्दै स्पष्ट पार्नुभयो, “कतिपय अभिभावकले सेन्टर स्थापना भएपछि बालबालिकालाई परिवारबाट छुट्याइन्छ कि भन्ने आशङ्का गर्नुहुन्छ, त्यो सत्य होइन। यी सेन्टरहरूमा बालबालिका तथा अभिभावकलाई तालिम, थेरापी, स्वास्थ्य र प्रविधिसम्बन्धी सहयोग उपलब्ध गराउने योजना छ।” हाल केन्द्र स्थापनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी पनि उहाँले दिनुभयो।
सरकारले सामुदायिक विद्यालयको पूर्वाधार सुधार, विशेष शिक्षकको व्यवस्था, सेन्सरी तथा थेरापी कक्ष स्थापना गरी समावेशी शिक्षालाई प्रवर्धन गर्नेछ। अपाङ्गता भएका बालबालिकाको क्षमता र रुचिअनुसार उच्च शिक्षा, व्यावसायिक सिप तथा आवश्यकताअनुसार दीर्घकालीन हेरचाहको व्यवस्था गरिनेछ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले संविधान, ऐन र नीतिमा अपाङ्गताका अधिकार सुनिश्चित भए पनि व्यवहारमा कार्यान्वयन फितलो भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले सङ्घीयता लागू भएपछि केन्द्र सरकारले अपाङ्गता क्षेत्रको बजेट कटौती गरेको र स्थानीय तह अलमलमा रहेको बताउनुभयो। आचार्यले स्थानीय तहलाई अपाङ्गता क्षेत्रमा काम गर्न बाध्यकारी बनाउने, नीति कार्यान्वयनको अनुगमन गर्ने र जवाफदेही बनाउने संयन्त्रको आवश्यकता औंल्याउनुभयो। उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र विशेष पाठ्यक्रम विकासमा अभिभावक महासङ्घको योगदानको प्रशंसा गर्दै अधिकारमुखी अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घका अध्यक्ष रामनारायण श्रेष्ठले आफ्ना बालबालिकाले माग राख्न नसक्ने र अरू सरह बन्न नसक्ने हुँदा उनीहरूको मानवअधिकार रक्षा, क्षमता अभिवृद्धि र शिक्षाका लागि अभिभावक नै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। महासङ्घकी उपाध्यक्ष शिला थापाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूमा पनि सिक्ने क्षमता हुने र सिप सिकेर धेरैले रोजगारी पाई आत्मनिर्भर बनेको बताउनुभयो। उहाँले बालबालिकालाई सक्षम बनाउने र अभिभावक नहुँदा उनीहरूको दीर्घकालीन हेरचाहको चिन्तालाई सम्बोधन गर्न राज्यले शिक्षा, सिप र दीर्घकालीन संरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।
