तस्बिर स्रोत, Getty Images
इरानले आफ्नो सुरक्षा प्रमुख अलि लारिजानी इजरायलको आक्रमणमा मारिएको पुष्टि गर्दै त्यसको “निर्णायक” प्रतिवाद गरिने चेतावनी दिएको छ। लारिजानी इरानमाथि अमेरिका र इजरायलको आक्रमण सुरु भएयता सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईपछि मारिने दोस्रो शीर्ष अधिकारी हुन्।
इजरायली सञ्चारमाध्यमका अनुसार, लारिजानी आफ्ना छोरासँग लुकेर बसेका बेला उनीमाथि आक्रमण भएको थियो। लारिजानी सन् २०२५ अगस्टदेखि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (SNSC) का प्रभावशाली सचिवका रूपमा कार्यरत थिए। उक्त परिषद्मा उनलाई सर्वोच्च नेता आयतोल्लाह अलि खामेनेईको प्रतिनिधिको रूपमा चित्रण गरिन्थ्यो।
इजरायली हवाई आक्रमणमा लारिजानीको मृत्युले इस्लामिक गणतन्त्रलाई एक संवेदनशील घडीमा देशका सबैभन्दा अनुभवी र प्रभावशाली नीति निर्माताको अभाव हुने भएको छ। सैन्य कमान्डर नभए पनि इरानको रणनीतिक निर्णय प्रक्रियामा उनको केन्द्रीय भूमिका थियो। सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको भूमिकामा उनी युद्ध, कूटनीति र राष्ट्रिय सुरक्षाका निर्णय प्रक्रियाको केन्द्रबिन्दुमा थिए। अमेरिका र इजरायलसँग इरानको टकराब व्यवस्थापनमा उनको भनाइ इरानको सबै प्रणालीमा लागू हुन्थ्यो।
फेब्रुअरी २८ मा सर्वोच्च नेता अलि खामेनेई मारिएपछि, लारिजानीले इरान लामो सङ्घर्षका लागि तयार रहेको सङ्केत गरेका थिए। पश्चिमाविरुद्ध कट्टर अडान राखे पनि इरानभित्र उनलाई व्यवहारवादी नेताका रूपमा हेरिन्थ्यो। उनले वैचारिक विषयलाई जडतामा भन्दा रणनीतिक दृष्टिकोणबाट व्याख्या गर्थे। पश्चिमा देशहरूसँग सहकार्यबारे गहिरो आशङ्का गर्ने लारिजानीले चीनसँग इरानको दीर्घकालीन सम्झौतासहितका कूटनीतिक प्रयासहरूमा दूतको रूपमा काम गरेका थिए।

तस्बिर स्रोत, Getty Images
उनको मृत्युको समयमा लारिजानी तीन प्रमुख सङ्कटको व्यवस्थापनको नेतृत्व गरिरहेका थिए। उनले व्यवस्थापन गरिरहेको पहिलो सङ्कट, युद्ध, जसमा उनले इरानले लामो सङ्घर्षका लागि तयार रहनुपर्ने, क्षेत्रभर द्वन्द्व विस्तार गर्नुपर्ने र हर्मुजको जलसन्धि बन्द गरिनुपर्ने तर्क अघि सारेका थिए।
दोस्रो सङ्कट, आन्तरिक अशान्तिको लहर थियो। आर्थिक असन्तुष्टिबाट सुरु भएको यो सङ्कट व्यापक विरोध प्रदर्शनमा परिणत भई इस्लामिक गणतन्त्र ढाल्ने प्रयाससम्म पुगेको थियो, जसमा सरकारले व्यापक दमन गर्दा देशभरि हजारौं प्रदर्शनकारी मारिएका थिए।
तेस्रो विषय इरानको आणविक कार्यक्रम र वाशिङ्टनसँगको रोकिएको वार्ता हो, जुन संयुक्त सैन्य आक्रमणपछि अवरुद्ध भएको छ। लारिजानीको मृत्यु हुँदा यी कुनै पनि विषय निष्कर्षमा पुगेका छैनन् र यो नाजुक परिस्थितिमा उनको जिम्मेवारी कसले सम्हाल्छ भन्ने स्पष्ट छैन।

तस्बिर स्रोत, Anadolu via Getty Images
तस्बिरको क्याप्शन, इरानका सेना प्रमुखले अलि लारिजानी हत्याको “निर्णायक” प्रतिवाद गरिने चेतावनी दिएका छन्
इरानले विश्वको ऊर्जा बजार अवरुद्ध गरेर प्रतिवाद देखाए पनि, उसको हवाई क्षेत्र निरन्तरको आक्रमणका लागि खुला देखिएको छ। यसले अन्य वरिष्ठ नेताहरू तत्काल निशानामा पर्न सक्ने जोखिम कायमै राखेको छ। यो घटनाले इरानको सेनालाई थप शक्तिशाली बनाउने ठानिएको छ। राष्ट्रपति मसुद पेजेस्कियानले केही गरी वरिष्ठ नेताहरू आदेश दिन सक्षम नभएमा सशस्त्र फौजलाई आफैँले नेतृत्व लिएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए, जसको अर्थ केन्द्रीय समन्वयको भर नपरी तत्कालै निर्णय लिने सुविधा फौजलाई हुनु हो।
अर्कोतर्फ, इरानको नेतृत्व आफ्नो उत्तराधिकारी व्यवस्थापनमा सङ्घर्ष गरिरहेको सङ्केतहरू पनि देखिएका छन्। इरानले सार्वजनिक घोषणा तत्कालका लागि पछि सारेको छ र नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईसहितका केही व्यक्तित्वहरूलाई सार्वजनिक गरेको छैन। यो उनीहरूको सुरक्षाका कारण हो वा आन्तरिक अनिश्चितताका कारण हो भन्ने स्पष्ट छैन।
तत्कालका लागि यसको सम्भावित परिणाम थप अस्थिर अवस्था, युद्धमा कठोर सैन्य प्रस्तुति र आन्तरिक रूपमा थप दमन हुन सक्छ। तर, समय बित्दै जाँदा आफ्ना वरिष्ठ अधिकारीहरू गुमाउँदै गएको प्रणालीलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुँदै जान्छ। अझ ९ करोड जनसङ्ख्या भएको देशका लागि यो थप चुनौतीपूर्ण हुन सक्छ। यस अर्थमा, लारिजानीको मृत्यु केवल एक अधिकारीको क्षति मात्रै होइन। यसले युद्ध र देशभित्रको स्थायित्व दुवैमा नेतृत्वको सङ्कटलाई थप गहिरो बनाउन सक्छ।
