तस्बिर स्रोत, Getty Images
बाङ्ग्लादेशको ढाकाजस्तै कतिपय एशियाली सहरहरूमा पेट्रोल पम्पहरूमा लामो लाइन देखिन थालेको छ।
इरानविरुद्ध अमेरिका-इजरेल युद्धका कारण विश्व ऊर्जा बजारमा गम्भीर सङ्कट उत्पन्न भएको छ। खाडी क्षेत्रबाट प्राप्त हुने ऊर्जामा अत्यधिक निर्भरता रहेकाले तेलको भाउ एकतिहाइले बढेर प्रति ब्यारल १०० डलर पुगेको छ। होर्मुज जलसन्धि, जहाँबाट विश्वको २० प्रतिशत तेल ओसारिन्छ, र ऊर्जा पूर्वाधारमा भएका आक्रमणले आपूर्तिमा ठूलो व्यवधान आएको छ।
यस ऊर्जा सङ्कटको सबैभन्दा बढी मार एशियालाई परेको छ, जहाँ होर्मुज जलसन्धिमार्फत् आपूर्ति हुने ९०% तेल तथा ग्यास खपत हुन्छ। एशियाली अर्थतन्त्र र जनजीवन, चाहे त्यो घर न्यानो पार्न, गाडी चलाउन वा बिजुली उत्पादन गर्न होस्, यस ऊर्जामा पूर्णतः निर्भर छ। विशेषगरी दक्षिणपूर्वी एशिया सबैभन्दा जोखिममा छ, जहाँ मलेशिया र इन्डोनेशियाजस्ता देशहरू पनि आयातमा निर्भर भएका छन्। मध्यपूर्वबाट आउने ‘हेभी सावर’ कच्चा तेल प्रशोधन गर्न बनेका रिफाइनरीहरूले तत्काल अन्य विकल्प (जस्तै अमेरिकी तेल) प्रयोग गर्न सक्दैनन्, जसलाई ठूलो लगानी आवश्यक पर्छ।

यसले फिलिपिन्सजस्ता ९५% तेल आयातमा निर्भर देशहरूलाई समस्यामा पारेको छ, जसले इन्धन जोगाउन सरकारी कर्मचारीलाई कम दिन काम गर्न आह्वान गरेका छन्। थाईल्यान्डले सार्वजनिक कार्यालयमा एयर कन्डिसनर २६ डिग्री सेल्सियसमा राख्ने जस्ता उपाय अपनाएको छ। दक्षिणपूर्वी एशिया खाद्यान्न आयातमा पनि निर्भर रहेकाले यातायात शुल्क वृद्धिले खाद्य मूल्य बढाएको छ; गत साता जेट इन्धन ६०% ले बढेको थियो। भियतनाममा डिजेलको मूल्य ६०% ले बढेको छ र बाङ्ग्लादेशसहित केही सहरहरूमा पेट्रोल पम्पमा लामो लाइन देखिएका छन्।
विश्वभरि इन्धनको मूल्य बढिरहेको छ तर एशियाको तुलनामा कम। दक्षिण कोरियाले मूल्यमा अस्थायी सीमा तोकेको छ भने जापानले थोक विक्रेतालाई अनुदान दिने घोषणा गरेको छ। फ्रान्स र यूकेले पनि मूल्य नियन्त्रण वा कर समीक्षाका उपाय अपनाएका छन्।

एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र चीनले भने यस सङ्कटसँग जुझ्न राम्रो तयारी गरेको छ। उसँग विश्वकै सबैभन्दा ठूलो तेलभण्डार छ र अमेरिकी आर्थिक प्रतिबन्धका बाबजुद इरानबाट पनि लाखौँ ब्यारेल तेल किन्दै आएको छ। चीनमा बिक्री हुने नयाँ गाडीमध्ये एकतिहाइ बिजुलीबाट चल्ने र बिजुली उत्पादनका लागि कोइलामा बढी निर्भर भएकाले पेट्रोलको मूल्यवृद्धिले चीनलाई कम असर पार्ने देखिन्छ। जापान र दक्षिण कोरियाले पनि देशका भण्डारबाट तेल निकालेका छन्, तर रुसी तेल कटौती गरेसँगै उनीहरू मध्यपूर्वमा ऊर्जाका लागि अझ बढी निर्भर बनेका छन्।

युक्रेन युद्धपश्चात् युरोपले रुसी ग्यासबाट टाढा हुन नर्वे र अमेरिकासँगबाट एलएनजी आयात गर्न थालेको छ। खाडीबाट युरोपमा ग्यास आपूर्ति कम भए पनि, कतार एनर्जीले आफ्ना पूर्वाधारमा ‘सैन्य हमला’का कारण उत्पादन रोकेपछि विश्वव्यापी ग्यास सङ्कट निम्तिने खतरा छ। एशियाली ग्राहकले अन्य विकल्प खोज्दा विश्वव्यापी रूपमै ग्यासको भाउ बढ्नेछ। अमेरिका फ्र्याकिङ्ग विधिले ग्यास उत्पादन बढाएकाले अपवाद बने पनि, निर्यात पूर्वाधारको कमीले गर्दा तत्कालै विश्वव्यापी आपूर्तिलाई भरथेग गर्न सक्दैन।
सिंगापुरस्थित अस्मन चिआबाट थप रिपोर्टिङ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
