खोटाङ, चैत ५ । गत चैत २ गते साँझ आएको भीषण हावाहुरीका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न वडामा ठूलो जनधनको क्षति भएको छ । यस विपद्बाट प्रभावित ५२ घर परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले तत्काल राहतस्वरुप जस्तापाता वितरण गर्ने भएको छ । हावाहुरीले घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएका परिवारलाई लक्षित गरी नगरपालिकाले जस्तापाता उपलब्ध गराउने तयारी गरिरहेको छ ।
नगरपालिकाको तथ्यांकअनुसार, २ चैतको शक्तिशाली हावाहुरीले ५२ घरको छाना पूर्णरुपमा उडाइदिएको थियो, जसले गर्दा धेरै परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । यसबाट विशेषगरी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२ घरधुरी, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४ घरधुरी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २८ घरधुरी, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३ घरधुरी र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । यस सम्बन्धमा नगर प्रमुख विमला राईले जानकारी गराउनुभएको छ ।
विपद्को तत्काल पछि नगरपालिकाले पीडितहरुलाई राहतका लागि सक्रियता देखाएको छ । खुला आकाशमुनि बस्न बाध्य पीडित परिवारलाई तत्काल जस्तापाता उपलब्ध गराउन नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट बजेट विनियोजन गरी जस्तापाता खरिद गर्ने योजना बनाएको छ । नगर प्रमुख राईका अनुसार, घरको आकार र क्षतिको मात्रा हेरी पीडितहरुलाई जस्तापाता प्रदान गरिनेछ । थप राहत रकमका लागि चैत ९ गतेको हिउँदे नगरसभामार्फत बजेट संशोधन गरिने र त्यसबाट आवश्यक स्रोत जुटाइने उहाँले बताउनुभयो । हालसम्म नगरपालिकाले ३१ परिवारलाई अस्थायी बसोबासका लागि त्रिपाल वितरण गरिसकेको छ ।
हावाहुरीले छाप्रो उडाइदिएपछि पूर्णरुपमा विचल्लीमा परेका तीन परिवारलाई भने नगरपालिकाले ढुंगामाटोको स्थायी घर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता पनि नगर प्रमुख राईले व्यक्त गर्नुभएको छ । यो पहलले विपद्मा परेका अति कमजोर वर्गका परिवारलाई दीर्घकालीन समाधान प्रदान गर्ने विश्वास लिइएको छ ।
यस हावाहुरीले आवासीय घरहरूमा मात्र नभई सार्वजनिक तथा सामुदायिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्याएको छ । कुल सातवटा विद्यालयको छाना उडाएको छ, जसका कारण शैक्षिक गतिविधिमा समेत बाधा पुगेको छ । बाहुनीडाँडास्थित मालिकादेवी माध्यमिक विद्यालय कदुवा, पञ्चावतीदेवी आधारभूत विद्यालय बेता र बेलडाँडा आधारभूत विद्यालय ढोडेनीको छानामा पूर्ण क्षति पुगेको छ । यसैगरी, च्यास्मीटारस्थित नमुना आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयको छाना पनि उडेको छ । राजापानीस्थित जलन्धारा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको छाना पनि छरपस्ट बनेको वडाध्यक्ष रुद्र राईले बताउनुभयो ।
शैक्षिक संस्थाहरूका अतिरिक्त, बाहुनीडाँडाको बरडाँडा सामुदायिक खोपकेन्द्रमा समेत क्षति पुगेको छ । यसका साथै, हावाहुरीले सामुदायिक संस्था तथा मण्डलीहरूमा पनि क्षति पुर्याएको जानकारी प्राप्त भएको छ । यस प्रकोपबाट प्रभावित सबै क्षेत्रको पुनर्निर्माण र पीडितहरुको सामान्य जीवनयापनमा फर्काउनका लागि नगरपालिकाले आवश्यक सम्पूर्ण पहल गरिरहेको छ ।
