विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा वार्षिक तीन लाख अमेरिकी डलर (करिब चार करोड ५५ लाख रुपैयाँ) को आकर्षक तलबसहित अमेरिकाको सान फ्रान्सिस्कोमा स्थापित जीवन, श्रीमती र प्रियजनहरूको साथ— यो धेरैका लागि जीवनकै सबैभन्दा ठूलो सपना हुन सक्छ। तर नेपालमा जन्मे-हुर्केका सफ्टवेयर इन्जिनियर प्रतीक कार्कीका लागि यो लोभलाग्दो वास्तविकता एच-१बी भिसाका कारण एकाएक गहिरो अनिश्चितताको भुमरीमा बदलियो। लगातार चार पटकसम्म भाग्यले साथ नदिएपछि उनले जुन साहस देखाए, त्यसले उनलाई आज एउटा सफल उद्यमी मात्र बनाएन, बरु अमेरिकाको स्थायी बसोबास अनुमति पत्र ‘ग्रिन कार्ड’ सम्म पुर्यायो। हालै सामाजिक सञ्जाल ‘एक्स‘ (ट्विटर) मा आफ्नो संघर्ष र सफलताको कथा साझा गरेपछि प्रतीक यतिबेला विश्वभर भाइरल भइरहेका छन्।
प्रतीकका अनुसार अमेरिकासँग उनको सम्बन्ध बाल्यकालदेखि नै जोडिएको थियो। उनका बुबाले अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा पोस्टडक्टोरल अनुसन्धानकर्ताका रूपमा काम गर्थे। तर पारिवारिक सम्बन्धमा दरार आएपछि आमाबुबा अलग भए। दुई ससाना छोराहरूको पालनपोषण र उज्ज्वल भविष्यका लागि उनका बुबाले अमेरिकामा बनाएको सुखद करियर र जीवन चटक्कै छोडेर नेपाल फर्कने कठिन निर्णय लिए।
नेपाल फर्केपछि उनीहरू काठमाडौंमा हजुरबुबा-हजुरआमाको घरको एउटा सानो अटारी कोठा (बुइँगल) मा बस्न थाले। प्रतीक लेख्छन्, ‘हाम्रा लागि बाबाले अमेरिकाको सबै कुरा त्याग्नुभयो। नेपाल छोडेपछिका मेरा हरेक पाइलाहरू बाबाले सुरु गरेर अधुरो छोडेको त्यही यात्रालाई पूरा गर्नमा केन्द्रित थिए।’ वर्षौँको कडा मेहनतपछि प्रतीक उच्च शिक्षा र करियरका लागि पुनः अमेरिका पुगे। उनले गुगलमा सिनियर सफ्टवेयर इन्जिनियरका रूपमा काम पाए, जहाँ उनको वार्षिक कमाइ चार करोड ५५ लाख रुपैयाँभन्दा बढी थियो। तर अमेरिकामा उनको कानुनी बसाइ हरेक वर्ष खोलिने एच-१बी भिसा लटरीको ‘चिट्ठा’ मा निर्भर थियो, जसले उनको भविष्यमाथि सधैँ अनिश्चितताको बादल मडारिरहन्थ्यो।
दुई वर्षअघि जब चौथो पटक पनि उनको नाम लटरीमा परेन, उनी छाँगाबाट खसेजस्तै भए। प्रतीक सम्झिन्छन्, ‘मलाई अझै याद छ मेरो दिमागमा के चलिरहेको थियो। मेरी श्रीमती, हाम्रा बिरालाहरू र हामीले बुनेको संसार यहीँ थियो। तर एउटा अनियमित चिट्ठा लगातार हारेका कारण यी सबै कुराको कुनै अर्थ रहेन जस्तो भइरहेको थियो। म क्यानडा सर्ने वा नेपाल फर्केर आफूले माया गरेको मान्छेभन्दा हजारौँ माइल टाढा बस्नुपर्ने सोचमा डुबेको थिएँ।’ त्यो निराशाजनक रात प्रतीक आत्तिएर घर फर्के। उनकी श्रीमतीले उनलाई ढाडस दिँदै भनिन्, ‘हामीसँग केही समय टिक्न पुग्ने बचत छ, र आखिर यो तिम्रो सपना हो।’ श्रीमतीको यही एउटै वाक्यले उनलाई ठूलो जोखिम मोल्ने आँट दियो।
२७ वर्षको उमेरमा प्रतीकले गुगलको करोडौँको जागिरबाट राजीनामा दिए। जागिर छोडेपछिका केही महिनाहरू निकै तनावपूर्ण र चुनौतीपूर्ण रहेको उनलाई स्मरण छ। उनले सान फ्रान्सिस्कोमा विभिन्न सल्लाहकार, साथीहरू र प्राविधिकहरूसँग नयाँ आइडियामा काम गर्न थाले। गुगलमा काम गर्दा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रोजेक्टहरूमा देखिएका समस्याहरूलाई सुधार्ने सोचका साथ उनले ‘एन्थ्रोमाइन्ड’ नामक आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपको जग बसाले। सान फ्रान्सिस्कोकै एक कार्यक्रममा उनको भेट मन्नत नामकी सह-संस्थापकसँग भयो, जो ठ्याक्कै त्यही समस्याको समाधान खोजिरहेकी थिइन्। लगत्तै उनीहरूले लगानी (भिसी फन्डिङ) र पहिलो प्रोजेक्ट पनि प्राप्त गर्न सफल भए।
लटरी प्रणालीको अनिश्चितताबाट वाक्क भएका प्रतीकले यस पटक वैकल्पिक र वैध बाटो रोजे। उनले ‘ओ-१’ भिसाका लागि आवेदन दिए, जसलाई प्राविधिक क्षेत्रमा असाधारण क्षमता भएका व्यक्तिहरूलाई दिइने भएकाले ‘आइन्स्टाइन भिसा’ पनि भनिन्छ। गुगलमा रहँदा गरेका कामहरू, विभिन्न ह्याकाथनहरूमा निर्णायक (जज) बनेको अनुभव र आफ्ना प्राविधिक लेखहरू समेटेर उनले बलियो फाइल तयार पारे। उनको ‘ओ-१’ भिसा स्वीकृत भयो अनि त्यसकै आधारमा ग्रिन कार्डको प्रक्रिया अगाडि बढ्यो। लामो र मानसिक रूपमा थकाउने अध्यागमनको लडाइँ जितेपछि प्रतीक र उनकी श्रीमतीले हालै अमेरिकाको स्थायी बसोबास अनुमति पत्र (ग्रिन कार्ड) प्राप्त गरेका छन्।
आफ्नो हातमा ग्रिन कार्ड समातेको तस्बिर साझा गर्दै प्रतीकले भावुक हुँदै लेखेका छन्, ‘आज मेरी श्रीमती र म दुवैको हातमा ग्रिन कार्ड छ। दुई आप्रवासी, एउटा कम्पनी र भान्साको टेबलमा भएको त्यो एक कुराकानी, जसले हाम्रो सबै कुरा बदलिदियो। बाबा, यो सफलता हजुरका लागि हो, हजुरको त्याग र सिकाएका पाठहरूका लागि धन्यवाद! हाम्रो अध्यागमनको यात्रा त सकियो, तर ‘एन्थ्रोमाइन्ड’ को यात्रा भर्खर सुरु हुँदैछ।’ उनको यो कथा अहिले सामाजिक सञ्जालमा ठूलो चर्चाको कारण बनेको छ। धेरैले उनको साहस र दृढताको प्रशंसा गरेका छन् भने केहीले अमेरिकाको त्रुटिपूर्ण भिसा प्रणालीको आलोचना गर्दै उच्च दक्ष जनशक्तिलाई लटरीमा मात्र निर्भर गराउन नहुने टिप्पणी गरेका छन्।
