सल्यान, चैत ४ । देशव्यापी रूपमा नयाँ राजनीतिक शक्तिको उभार आइरहेका बेला पनि सल्यानमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रमेश मल्लले कम्युनिस्ट किल्ला जोगाउन सफल भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो पटक चुनावी मैदानमा होमिएका मल्लले २३ हजार १८९ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । यस जितले उनको पार्टीलाई चुनौतीपूर्ण चुनावी परिवेशमा महत्वपूर्ण सफलता दिलाएको छ ।
मल्लका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितकुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरेका थिए । यसैगरी, नेपाली कांग्रेसका केशवबहादुर विष्टले १७ हजार ५५८ र नेकपा एमालेका गुलावजंग शाहले १५ हजार ३७३ मत ल्याएका थिए । कडा प्रतिस्पर्धाका बाबजुद मल्लले आफ्नो पकड कायम राख्न सफल भए ।
आफ्नो विजयलाई ‘रोमाञ्चक’ संज्ञा दिँदै मल्लले सल्यानमा जित्नेमा आफूमा पूर्ण आत्मविश्वास भए पनि देशव्यापी रूपमा रास्वपाको अप्रत्याशित उभारले मतगणनाका क्रममा केही चिन्ता बढाएको अनुभव सुनाए । उनले सल्यानको विजय सुरुदेखि नै सुनिश्चित रहेको आफ्नो विश्वास अन्ततः सत्य साबित भएको बताए ।
मल्लले सल्यानमा आफ्नो विजयका पछाडि चार प्रमुख कारण औंल्याएका छन् । पहिलो, सल्यान माओवादी आन्दोलनको आधारभूमि र त्यागको विरासत बोकेको जिल्ला हो । यस क्षेत्रमा ठूलो बलिदान भएको र त्यसले जनआधार बनाएको उनको भनाइ छ । दोस्रो, पार्टीको स्थापित र एकताबद्ध नेतृत्व टिमले चुनावी अभियानमा अभिभावकीय भूमिका निर्वाह गर्यो । तेस्रो, उनको उम्मेदवारीले युवा पुस्ताको भावनालाई सम्बोधन गरेको र उनीहरूले यसलाई आफ्नो स्वामित्वमा लिएको महसुस गरेकाले युवा वर्गलाई आकर्षित गरेको मल्लले निष्कर्ष निकाले । चौथो, गाउँ–गाउँसम्म पुगेर किसान, मजदुर, बुद्धिजीवी लगायत सबै वर्गसँग गरिएको सघन अन्तर्क्रियाले जनताको माया र विश्वास जित्न सफल भएको मल्लले बताए ।
यद्यपि, समग्र चुनावी नतिजा पार्टीका लागि सुखद नरहेको स्वीकार गर्दै मल्लले जनताको अपेक्षाअनुसार आधारभूत आवश्यकता पूरा गर्न नसक्नु नै प्रमुख कमजोरी रहेको विश्लेषण गरे । उनका अनुसार, गाउँमा अझै बिजुली, पानी, राम्रो सडक, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सुविधाको अभाव तथा बेरोजगारीका कारण युवाहरू विदेशिनुले जनतामा निराशा बढेको छ । उनले यसपटकको मत ‘फ्रस्ट्रेसन’ को परिणाम भएको तर्क राखे । यद्यपि, सल्यानमा विद्युतीकरण ५ प्रतिशतबाट ८० प्रतिशत पुगेको, सडक सञ्जाल विस्तार भएको र कृषि उत्पादन बढेको जस्ता केही उपलब्धिहरू पनि भएको उनको दाबी छ, तर जनताका अपेक्षा धेरै भएकाले यी पर्याप्त छैनन् ।
अब वाम आन्दोलनलाई पुनः एकीकृत गर्नुपर्नेमा मल्लले जोड दिए । यसका लागि पुरानो पुस्ताले आफ्ना कमजोरी स्वीकार्नुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिन हिम्मत गर्नुपर्ने उनको भनाइ छ । संसद्मा आफ्नो प्राथमिकता जनताको आधारभूत आवश्यकता पूरा गराउनेमा केन्द्रित रहने बताए । बिजुली, पानी, सडक, स्वास्थ्य र शिक्षाका लागि आफू निरन्तर संघर्ष गर्ने उनको प्रतिबद्धता छ ।
मल्लले शान्ति प्रक्रियाका बाँकी काम र संविधानको कार्यान्वयनको जिम्मेवारी अब रास्वपाजस्तो ठूलो शक्ति बनेर आएका नयाँ पार्टीको काँधमा सरेको पनि औंल्याए । रमेश मल्ल माओवादी जनयुद्धका बेला १० वर्ष भूमिगत जीवन बिताएका अनुभवी नेता हुन् । सल्यानबाटै विद्यार्थी राजनीति सुरु गरेकाले उनी जिल्लामा परिचित छन् ।
२०५० सालमा तत्कालीन माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका मल्ल २०५६ मा सल्यान जिल्ला अध्यक्ष बने । उनी दुई कार्यकाल जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य, क्षेत्रीय संयोजक, कोषाध्यक्ष, उपाध्यक्ष र २०७२ मा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षसम्म बने । पार्टीमा पनि २०५७ मा जिल्ला समिति सदस्य र २०६० मा सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्य बनेका थिए । उनी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यसमेत भइसकेका छन् । २०७९ पुसदेखि २०८१ असारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवका रूपमा पनि उनले काम गरेका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका मल्ललाई सल्यानका जनताले पहिलो पटक संसद्मा पठाएका छन् ।

तस्वीर/भिडियो : कमल प्रसाईं
