काठमाडौं । तातो चिया र चुरोट एकसाथ सेवन गर्ने प्रवृत्ति नेपाली समाजमा व्यापक छ। चोक, गल्लीका चिया पसलदेखि ठूला होटलसम्म यस्ता दृश्य सामान्य बनेका छन्। धेरैले यसलाई मुड स्फूर्त बनाउने र तनाव घटाउने माध्यमका रूपमा लिने गरे पनि स्वास्थ्य विज्ञहरूले भने यो बानीलाई शरीरलाई भित्रबाटै खोक्रो पार्ने घातक प्रक्रियाका रूपमा चित्रण गरेका छन्। उनीहरूका अनुसार, यो संयोजनले घाँटी र अन्ननलीलाई जलाउँदै कोषिका नष्ट गर्छ, जसले क्यान्सर जस्ता घातक रोग निम्त्याएर असमयमै जीवन समाप्त पार्न सक्छ।
चियासँगै चुरोट पिउन किन हुँदैन ?
सामान्यतया ६५ देखि ७० डिग्री सेल्सियसभन्दा तातो अवस्थामा चिया पिइन्छ। क्याफिनले मस्तिष्कलाई ताजा बनाउँछ भने चुरोटको निकोटिनले तत्काल आरामको अनुभूति दिन्छ। तर यी दुवै सँगै लिँदा शरीरमा खतरनाक रासायनिक प्रतिक्रिया उत्पन्न हुन्छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार, तातो चियाले घाँटी र अन्ननलीको नरम म्यूकस झिल्लीलाई बारम्बार पोल्छ, जसले साना–साना घाउ (माइक्रो–इन्जुरी) सिर्जना गर्छ। चुरोटको धुवाँमा टार, बेन्जिन, फर्माल्डिहाइड, निकोटिन जस्ता ७० भन्दा बढी क्यान्सरको जोखिम बढाउने रसायन हुन्छन्। तातोपनले कमजोर बनाएको ठाउँमा यी विषाक्त पदार्थ सजिलै रगतमा मिसिन्छन् र डीएनएमा क्षति पुर्याउँछन्।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ओमप्रकाश यादव बताउँछन् कि सामान्य अवस्थामा म्यूकस झिल्लीले हानिकारक कणहरूबाट जोगाउँछ, तर तातो चियाले त्यही सुरक्षात्मक तहलाई भत्काइदिन्छ। यसले चुरोटको धुवाँमा भएका विषाक्त पदार्थलाई खुला घाउमा सिधै हमला गर्न मद्दत पुर्याउँछ। डा. यादव थप्छन्, “दैनिक यो प्रक्रिया चल्दा घाउ निको नहुने र असामान्य कोषिका बढ्ने खतरा हुन्छ।” विज्ञानले यो संयोजनलाई ‘साइनर्जेस्टिक इफेक्ट’ भन्छ, जसको अर्थ छुट्टाछुट्टै सेवन गर्दाभन्दा सँगै सेवन गर्दा दोब्बर वा पाँच गुणा बढी हानि गर्छ।
कति घातक ? वैज्ञानिक प्रमाण के भन्छन् ?
विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) ले २०१६ मा नै ‘६५ डिग्रीभन्दा तातो पेय’ लाई सम्भावित क्यान्सरकारकका रूपमा वर्गीकृत गरिसकेको छ। चुरोटसँग मिसिँदा यो जोखिम झन् बढ्छ। २०१८ मा ‘एनल्स अफ इन्टरनल मेडिसिन’ मा प्रकाशित चीनको एक वृहत् अध्ययनले तातो चिया र चुरोट सँगै सेवन गर्ने ४ लाख ५६ हजार १५५ व्यक्तिमाथि ९ वर्षसम्म निगरानी गरेको थियो। सो अध्ययनको नतिजा अनुसार, दैनिक तातो चिया र चुरोट पिउनेमा अन्ननलीको क्यान्सर (एसोफेगल क्यान्सर) को जोखिम २.०३ गुणा बढेको पाइयो। यदि रक्सी पनि थपियो भने जोखिम ५ गुणासम्म पुग्यो। अध्ययनले तातो चिया मात्र पिउनेहरूमा जोखिम नबढेको उल्लेख गर्दै चुरोट नै मुख्य दोषी भए पनि तातो चियाले क्यान्सर कोष विकासका लागि ढोका खोल्ने निचोड निकालेको थियो।
इरान, युरोप र दक्षिण एसियाका थुप्रै अध्ययनले पनि यही तथ्य पुष्टि गरेका छन्। नेपालमा पनि धूम्रपान, तातो चिया र मदिराको यो ‘त्रिवेणी’ ले अन्ननलीको स्क्वामस सेल कार्सिनोमा (Esophageal Squamous Cell Carcinoma) का बिरामी बढाइरहेको छ। यो अन्ननलीको भित्री तहमा हुने एक घातक क्यान्सर हो, जुन धूम्रपान, अत्यधिक मदिरा सेवन र तातो चियाको संयोजन जस्ता कारकले गर्दा बढ्छ। यसले निल्न गाह्रो हुने, घाँटी दुख्ने, र तौल घट्ने जस्ता लक्षण देखाउँछ र ढिलो पत्ता लाग्दा उपचार जटिल हुन्छ। ग्लोबक्यानको नेपाल फ्याक्टसिट २०२२ अनुसार, नेपालमा करिब २२ हजार नयाँ क्यान्सर केसमध्ये २५२ केस अन्ननलीको क्यान्सरका थिए, जुन कुलको १.१ प्रतिशत हो। यो संख्या सानो देखिए पनि ढिलो पत्ता लाग्ने र उपचार जटिल हुने भएकाले यो क्यान्सर नेपालमा घातक मानिन्छ, विशेषगरी धूम्रपान गर्ने र तातो चियासँग चुरोट पिउनेहरूमा यसको जोखिम उच्च हुन्छ।
लतले शरीरमा पार्ने विस्तृत प्रभाव
यो बानीले शरीरलाई बहुआयामिक रूपमा आक्रमण गर्छ। तातो चियाले ६०–७० डिग्री सेल्सियस तापक्रममा घाँटी र अन्ननलीलाई जलाउँछ, जसले कोषिका सुन्निन्छन्। चुरोटका कण र रसायन त्यही सूजन भएको ठाउँबाट सजिलै भित्र पस्छन्। डा. शाहीका अनुसार, निकोटिनले रक्तनली साँघुरो पार्छ भने क्याफिनले मुटुको धड्कन बढाउँछ। यसले गर्दा रक्तचाप बढ्छ र मुटुमा अतिरिक्त भार पर्छ। फोक्सोमा टार जम्मा भई सास फेर्न गाह्रो हुन्छ, पेटमा एसिड बढेर अल्सर र रिफ्लक्स निम्त्याउँछ। कलेजो र मिर्गौलामा पनि यसको मन्द विषाक्त प्रभाव पर्छ। दीर्घकालमा यो प्रक्रियाले अक्सिडेटिभ तनाव बढाउँछ, शरीरको एन्टिअक्सिडेन्ट स्तर घटाउँछ र कोषिकालाई छिटो बुढो बनाउँछ। युवावस्थादेखि नै यो बानीले स्वास्थ्य बिगार्छ, विशेषगरी ४० वर्षमाथिका नियमित धूम्रपानकर्तामा जोखिम झन् उच्च हुन्छ।
यो लतबाट कसरी बच्ने ?
डा. शाहीले यस लतबाट बच्नका लागि निम्न सरल उपायहरू सुझाएका छन्:
१. चिया पिउने बित्तिकै चुरोट नपिउने। कम्तीमा १०–१५ मिनेट पर्खने वा चुरोट पूर्ण रूपमा त्याग्ने संकल्प गर्ने।
२. चिया ६० डिग्री सेल्सियसभन्दा कम तापक्रममा चिसो पारेर पिउने।
३. चुरोट त्याग्न चिकित्सकको सल्लाह लिने, आवश्यक परेमा निकोटिन प्याच, परामर्श वा औषधि प्रयोग गर्ने।
४. चियासँगै चुरोटको सट्टा फलफूल, पानी वा ग्रीन टी जस्ता स्वस्थ विकल्पहरू सेवन गर्ने।
५. नियमित व्यायाम, स्वस्थकर आहार, पर्याप्त पानी र तनाव व्यवस्थापनमा ध्यान दिने।
६. यदि लत छोड्न कठिनाइ भएमा विशेषज्ञ चिकित्सकको सहयोग लिने।
