चितवन, २२ चैत । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा चैत २३ गतेदेखि २५ गतेसम्म मौरी व्यवसायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । यस सम्मेलनमा २५० भन्दा बढी अनुसन्धानकर्ता र व्यावसायिक मौरीपालक किसानहरू सहभागी हुनेछन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरको कृषि संकाय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र नेपाल मौरीपालक महासंघको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा मौरीपालनका चार मुख्य विधामाथि ४२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।
सम्मेलनका सदस्य सचिव तथा विश्वविद्यालयका उपप्राध्यापक डा. केदार देवकोटाका अनुसार मौरी पालन, एपिथेरापी (मौरीजन्य उत्पादनबाट गरिने उपचार), परागसेचन र मौरीमा लाग्ने रोग तथा किराको व्यवस्थापनसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुति र गहन छलफल गरिनेछ ।
यस्तै, मौरी तथा परागसेचनसम्बन्धी नवीन अनुसन्धान र प्रविधिको आदानप्रदान, मौरीको स्वास्थ्य, रोग व्यवस्थापन र संरक्षणका उपायहरूको पहिचान, मौरीजन्य उत्पादनको गुणस्तर, मूल्य अभिवृद्धि र बजार विस्तारका सम्भावनाको खोजीमा पनि छलफल हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पुष्करबहादुर पालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य र सञ्जाल विस्तारका साथै नीति निर्माण तथा कार्यान्वयनका लागि वैज्ञानिक आधार प्रदान गर्ने विषयमा समेत विचारविमर्श गरिने जानकारी दिए । उनले परागसेचनमा मौरीको ७० प्रतिशत योगदान रहने भन्दै मौरीको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयका अनुसार नेपालसहित भारत, थाइल्याण्ड, चीन, कोरिया, अमेरिका, क्यानडा, ग्रीस, हंगेरी, स्विडेन, इस्टोनिया, बंगलादेश, श्रीलंका लगायतका विभिन्न देशका विषयविज्ञहरू सम्मेलनमा सहभागी हुँदैछन् । कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठले नेपाल तथा विश्वमा मौरीको अवस्था, उत्पादन वृद्धि, व्यवसायलाई अझ बढी मुनाफामा आधारित बनाउन गर्नुपर्ने काम र भएका अनुसन्धानबारे छलफल र ज्ञान आदानप्रदान हुने बताए । कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले मौरीका उत्पादनहरूको विविधीकरण गरी मूल्य अभिवृद्धि गर्न सम्मेलन महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले जैविक विविधताको संरक्षणले मौरीको संरक्षणमा पनि सहयोग पुग्ने धारणा राखे ।
यद्यपि, मौरीको चरन क्षेत्रको व्यवस्थापन पछिल्लो समय चुनौतीपूर्ण बनेको छ, जहाँ मौरी डेढदेखि दुई किलोमिटरसम्म गएर चर्ने गर्दछन् । नेपाल मौरीपालन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पदम अम्गाईले देशभर ३५ देखि ४० हजार मौरीपालक किसान रहेको र अधिकांश साना किसान रहेको जानकारी दिए । नेपालमा १२ देखि १५ प्रकारका मह पाइने उल्लेख गर्दै उनले विशेषगरी सेरेना र मेलिफेरा जातका मौरी पालन गरिने बताए । नेपालमा करिब १ लाख ३० हजार मेलिफेरा जातका मौरीका गोला रहेको र करिब १२ हजार किसान यसमा आबद्ध रहेको तथ्यांक छ । सेरेना जातका मौरीको भने व्यावसायिक उत्पादन कम हुने गर्दछ ।
सम्मेलनका अवसरमा नेपालमा उत्पादन हुने विभिन्न १२ प्रकारका महको प्रदर्शनी गरिनेछ । प्रदर्शनीस्थलमा ८ वटा स्टल रहनेछन्, जसमध्ये ३ वटा विदेशी व्यवसायीका उत्पादनलाई प्रवर्द्धन गर्नेछन् । सम्मेलनमा ‘हनी बार’ समेत सञ्चालन गरिनेछ, जहाँ विदेशी पाहुना र सरकारका उच्च पदस्थ व्यक्तिहरूलाई नेपालमा पाइने सबै क्षेत्रका मह चाख्ने अवसर प्रदान गरिने सदस्य सचिव देवकोटाले बताए ।
सम्मेलनपश्चात् चैत २६ र २७ गते पाहुनाहरूलाई मौरीपालन केन्द्र, अनुसन्धान फार्म तथा चितवनका पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको छ ।
