काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सल्यानका किसान जलवायु परिवर्तनजन्य विपत्ति र जंगली जनावरको दोहोरो मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । लगातारको असिना, भारी वर्षा र बाढीका कारण सल्यानको कृषि क्षेत्रमा व्यापक क्षति पुगेको उल्लेख गर्दै उहाँले तत्काल राहत तथा पुनस्र्थापनाका लागि तीनै तहका सरकारलाई समन्वयात्मक भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद मल्लले सल्यानमा लगातार तीनपटकको विनाशकारी असिना र वर्षासहितको जलवायुजन्य प्रकोपले कृषि व्यवसायमा लागेका किसानलाई गम्भीर आघात पुर्याएको बताउनुभयो । जलवायु परिवर्तनका कारण अनपेक्षित मौसम परिवर्तनले किसानहरू समस्यामा परेका छन् भने, जंगली जनावरको आक्रमणले उनीहरूको जीविकोपार्जन झनै कष्टकर बनेको छ ।
गत शनिबार सल्यानको बागचौर नगरपालिका, छत्रेश्वरी र कपुरकोट गाउँपालिका लगायतका क्षेत्रमा भीषण असिनापानी परेको थियो । यस असिनाले पाक्न लागेको गहुँबाली, तरकारी खेती, साथै सुन्तला, आँप, लिची, ओखर, टिमुर, किवी र स्याउ जस्ता फलफूलबालीमा अकल्पनीय क्षति पुर्याएको सांसद मल्लले जानकारी गराउनुभयो । असिनापानीसँगै शारदा नदीमा आएको बाढीले सयौँ रोपनी उब्जाउ खेतसमेत पुरेको छ, जसका कारण किसानको वर्षभरिको मेहनत खेर गएको छ ।
प्राकृतिक विपत्तिले कृषि क्षेत्रमा मात्र होइन, ग्रामीण पूर्वाधारमा समेत ठूलो नोक्सानी पुगेको छ । सांसद मल्लका अनुसार, ग्रामीण सडक, कृषि सिँचाइ कुलो, खानेपानीका योजना तथा नदी किनारका तटबन्ध संरचनाहरू क्षतविक्षत भएका छन् । यी संरचनाहरूको क्षतिले स्थानीय जनजीवनलाई थप कष्टकर बनाएको र दैनिक जीवनमा समेत बाधा पुगेको उहाँको भनाइ छ ।
किसानहरू एकातिर बँदेल, बाँदर लगायतका जंगली जनावरको निरन्तर आक्रमणबाट बाली जोगाउन संघर्ष गरिरहेका छन् भने अर्कोतिर अतिवृष्टि र अनावृष्टिको मारले उनीहरूको मनोबल कमजोर बनाएको छ । सांसद मल्लले सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, “एकातिर जंगली जनावरको अतिक्रमण, अर्कोतिर जलवायुजन्य विपत्तिको मारले किसानमा आशा हराउँदै गएको छ । यस्तो अवस्थामा सरकार बेखबरझैँ बन्नुले राज्यप्रतिको भरोसासमेत कमजोर बनेको छ ।”
उहाँले तत्काल तीनै तहका सरकारको सक्रिय समन्वयमा पीडित किसान र क्षतिग्रस्त संरचनाहरूको यथार्थपरक लगत संकलन गर्नुपर्नेमा जोड दिनुभयो । संकलित लगतका आधारमा तत्काल राहत वितरण, उचित क्षतिपूर्ति र दीर्घकालीन पुनस्र्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न उहाँको माग छ । साथै, कृषि बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाई किसानको पहुँचमा पुर्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । “सरकार अभिभावक बनोस् र पीडितको घाउमा मल्हम लगाओस्,” सांसद मल्लले सरकारलाई आह्वान गर्दै कृषकहरूको समस्यालाई गम्भीरतापूर्वक लिई आवश्यक कदम चाल्न आग्रह गर्नुभयो ।
