वीरगन्ज, पर्सा। पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरमा गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै सत्यतथ्य छानबिनको मागसहित सोमबार वीरगन्जमा बृहत प्रदर्शन गरिएको छ। ठोरी–३, रामनगर माइती भएकी र दुई सन्तानकी आमा सिलवाल गत शुक्रबार आफ्नै घर छेउको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। तर, माइती पक्षले उनको मृत्यु आत्महत्या नभई हत्या गरेर शव झुण्ड्याइएको दाबी गर्दै आएको छ।
मृतक लक्ष्मीको शव गत शुक्रबारदेखि नारायणी अस्पतालको शवगृहमा राखिएको छ। माइती पक्षले पोष्टमार्टम रिपोर्ट सार्वजनिक नभएसम्म र घटनाको यथार्थ छानबिनको सुनिश्चितता नभएसम्म शव बुझ्न अस्वीकार गरेपछि शव चार दिनदेखि अलपत्र अवस्थामा छ।
यसै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै मृतक लक्ष्मीका माइती गाउँ, ठोरीका महिला, आफन्त र परिवारजन सोमबार सदरमुकाम वीरगन्ज आएर प्रदर्शनमा उत्रिएका थिए। ठोरीबाट आएका प्रदर्शनकारी वीरगन्जको नयाँ बसपार्क चोकमा भेला भई नाराबाजी गर्दै घण्टाघरसम्म पुगेका थिए। त्यसपश्चात् उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।
प्रजिअ दाहाललाई ज्ञापनपत्र बुझाउँदै ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले लक्ष्मीले आत्महत्या नगरेको बरु उनका पति सुधिर सिलवाल, सासु र ससुराले कुटपिट गरी हत्या गरेपछि शव गोठमा झुण्ड्याएको आरोप लगाइन्। उनले उक्त घटनामा संलग्न सबैलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिइन्। माइती पक्षले लक्ष्मीका पति, सासु, ससुराका साथै सुधिरका दिदी र भिनाजुको समेत घटनामा संलग्नता रहेको दाबी गरेको छ। ज्ञापनपत्रमा अस्पतालले तयार पारेको पोष्टमार्टम रिपोर्ट गलत रहेको भन्दै पुनः पोष्टमार्टम गर्नुपर्ने, घटनाबारे निष्पक्ष छानबिनका लागि जाँचबुझ समिति गठन गर्नुपर्ने, मृतकको झोला (ब्याग) र मोबाइल सार्वजनिक गर्नुपर्ने तथा घटनामा संलग्न सासु, ससुरा, पतिका दिदी भिनाजुलाई तत्काल प्रहरीले पक्राउ गर्नुपर्ने लगायतका मागहरू उल्लेख गरिएको छ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटना भएकै दिन लक्ष्मीका पति सुधिरलाई प्रहरी नियन्त्रणमा लिई हिरासतमा राखिएको जानकारी दिए। उनका अनुसार सोही दिन सासु र ससुरालाई पनि नियन्त्रणमा लिएको भए पनि वृद्ध अवस्थाका कारण र मृतककै आफन्तहरूको सहमतिमा उनीहरू दुवै जनालाई तारिखमा छाडिएको हो। प्रहरी नायब उपरीक्षक मल्लले पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै मृत्युको यकिन कारण खुल्ने स्पष्ट पारे। उनले पति सुधिर प्रहरी हिरासतमै रहेको र घटनाका बारेमा प्रहरीले गहन अनुसन्धान गरिरहेको समेत बताए।
मृतक लक्ष्मीका माइती पक्षका आफन्तका अनुसार, पति सुधिर सिलवाल नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन् र उनी लागू पदार्थको सेवनकर्ता पनि हुन्। उनी र उनका परिवारका सदस्यहरूले लक्ष्मीलाई निरन्तर कुटपिट गर्दै आएको माइती पक्षको आरोप छ। गत शुक्रबार बिहान लक्ष्मीको शव गोठमा मृत अवस्थामा भेटिएका दिन घटनास्थलमा उनले लगाएका चुरा फुटेर छरिएको अवस्थामा भेटिएको, बिहीबार बेलुकी पति–पत्नीबीच झगडा भएको, झगडा भएको कोठाको बरण्डा बाहिर रगतका टाटा देखिएको, पासो लगाउन प्रयोग भएको भनिएको डोरी कतै नखुम्चिएको (नबांगिएको) र शव गोठको भुइँमा सुताइएको अवस्थामा भेटिएको माइती पक्षको भनाइ छ। यसका साथै, मृतक लक्ष्मीका चार वर्षीय छोराले समेत आफ्ना बाबाले ममीको पेटमा लात्तीले हानेको बयान दिएको आफन्तजनले बताएका छन्।
