पहिलो पटक भेट्दा काशान्ड्रा म्याडिशन (बायाँ) र जुलिया टिनेटी (दायाँ) लाई आफूहरू दिदीबहिनी भएको पत्तै थिएन।
काशान्ड्रा म्याडिशन र जुलिया टिनेटीले एउटै बारमा काम गर्ने क्रममा भेट हुँदा आफूहरू सग्लो दिदीबहिनी भएको कल्पना पनि गरेका थिएनन्। उनीहरूबीच अनौठो समानता थियो र चाँडै घनिष्ठ मित्र बने। दुवै सन् १९९० को दशकमा अमेरिकाको कनेक्टिकटमा करिब १५ मिनेटको दूरीमा हुर्किएका थिए, तर बाल्यकालमा एकअर्कालाई चिन्दैनथे। सबभन्दा महत्वपूर्ण कुरा, उनीहरू दुवैलाई डोमिनिकन रिपब्लिकबाट धर्मपुत्रीका रूपमा अमेरिका ल्याइएको थियो।
सानो छँदा म्याडिशनले आफ्नी जन्मदिने आमाको बारेमा सोच्थिन् र उनलाई भेट्ने चाहना राख्थिन्। आफ्नो मुस्कान वा आँखा आमाबाट पाए/नपाएको उनलाई जान्ने उत्सुकता थियो। उनलाई जन्म दिने परिवार डोमिनिकन रिपब्लिकका अति गरिब भएकाले उनलाई धर्मसन्तानका रूपमा दिइएको थियो। उनले आफ्नो जैविक परिवार खोज्ने प्रयास गरे पनि जन्मदर्ताको प्रमाणपत्र नभएकाले सफल भइनन्। सांस्कृतिक पहिचानका लागि १९ वर्षको उमेरमा म्याडिशनले हातमा डोमिनिकन रिपब्लिकको झण्डाको ट्याटु खोपिन्।
म्याडिशन (बायाँ) र टिनेटी (दायाँ) लाई सानै छँदा डोमिनिकन रिपब्लिकबाट धर्मसन्तानका रूपमा ल्याइएको थियो।
त्यसको पाँच वर्षपछि, वेट्रेसका रूपमा काम गर्ने क्रममा म्याडिशनले सहकर्मी टिनेटीलाई भेटिन्। टिनेटीले म्याडिशनको हातमा खोपिएको डोमिनिकन झण्डाको ट्याटु देखिन्। रोचक कुरा के थियो भने टिनेटीले पनि २२ वर्षको हुँदा आफू जन्मिएको देशको सम्झनामा ढाडमा डोमिनिकन रिपब्लिकको झण्डाको ट्याटु खोपाएकी थिइन्। उनीहरू दुवै धर्मसन्तानका रूपमा अमेरिका आएको कुरा चाँडै नै थाहा भयो। “मलाई पनि त्यहीँबाट ल्याइएको हो,” म्याडिशनले भनिन्। उनीहरूले मानिसहरूलाई ‘के हामी उस्तै देखिन्छौं?’ भनेर सोध्न थाले र प्रायः सबैले ‘हो, तिमीहरू दुवै उस्तै देखिन्छौ’ भन्न थाले। रमाइलोमा उनीहरूले आफूहरू दिदीबहिनी भएको बताउन थाले र म्याडिशनले उस्तै लुगा लगाउन समेत आग्रह गर्थिन्।
मजाक-मजाकमा नै उनीहरूलाई आफन्त हुन सक्ने विचार आयो। तर, उनीहरूले आफ्ना धर्मसन्तानसम्बन्धी कागजातहरू केलाउँदा दिदीबहिनी भएको कुनै सङ्केत भेटिएन। कागजात अनुसार उनीहरूको जन्म फरक फरक ठाउँमा भएको थियो र जन्म दिने आमाहरूको थर पनि फरक थियो। निराश भएपछि उनीहरूले नयाँ जागिर पाए र म्याडिशन भर्जिनिया सरिन्, जबकि टिनेटी कनेक्टिकटमै बसिन्। शारीरिक दूरी बढ्दै गए पनि उनीहरू सम्पर्कमा भने थिए।
यी दिदीबहिनीलाई भेट्न पूरै परिवार विमानस्थल आउँदा भावनात्मक माहोल बनेको थियो।
धेरै वर्षपछि म्याडिशनले क्रिसमस उपहारका रूपमा आनुवंशिक परीक्षण (Genetic Testing) किट पाइन्। त्यसको माध्यमबाट उनले एकजना ‘कजन’ फेला पारिन्, जसले सन् २०१५ मै उनको जन्म दिने आमाको निधन भएको दुःखद खबर सुनाइन्। ती कजनले म्याडिशनलाई परिवारका अन्य सदस्यहरू र उनका जन्म दिने बुबा एड्रिआनो लुना कोलाडो पत्ता लगाउन मद्दत गरिन्। म्याडिशनले आफ्ना बुबा कोलाडोसँग फोनमा कुरा गर्दा उनले आफूलाई धर्मसन्तानका रूपमा दिनुपरेको कठिन परिस्थितिबारे सुनाए। म्याडिशन आमाको गर्भमै हुँदा उनका जेठा दाजु गम्भीर बिरामी परेकाले परिवारलाई बचाउने अन्तिम उपायका रूपमा कोलाडोले म्याडिशनलाई धर्मसन्तानका रूपमा दिने निर्णय गरेका थिए।
त्यसपछि म्याडिशनले डोमिनिकन रिपब्लिक जाने योजना बनाइन्। उनलाई स्वागत गर्न परिवारका सबै सदस्य विमानस्थलमा जुटेका थिए, सबैले उनको तस्बिर अङ्कित टी-सर्ट लगाएका थिए। म्याडिशनले आफ्ना बुबालाई अँगालो मार्दा दुवैका आँखा रसाए। यो भावनात्मक यात्राको घर फर्किएपछि कथामा अर्को अप्रत्याशित मोड आयो। मौली नामक महिला म्याडिशनको सम्पर्कमा आइन्, जो टिनेटीकी बाल्यकालकी साथी थिइन्। मौलीले म्याडिशनलाई जन्म दिने आमाको एउटा तस्बिर पठाउँदै ती महिला टिनेटीसँग दुरुस्तै मिल्दोजुल्दो देखिने भन्दै म्याडिशन र टिनेटी वास्तवमै दिदीबहिनी भएकोमा जोड दिइन्।
जैविक पितासँग म्याडिशन र टिनेटी अनि साथमा म्याडिशनकी सानी छोरी।
त्यसपछि म्याडिशनले आफ्ना जैविक बुबालाई भिडिओ कल गरेर अर्को शिशुलाई पनि धर्मसन्तानका रूपमा दिए/नदिएको सोधिन्। “उहाँ कसैले सास खोसिदिए जस्तो देखिनुभयो,” म्याडिशन भन्छिन्, “अनि उहाँले ‘हो, मैले दिएको थिएँ’ भन्नुभयो। यो सुनेर मलाई आश्चर्य लाग्यो।” यो नयाँ खुलासापछि म्याडिशनले समय खेर फाल्न चाहिनन्। उनले तुरुन्तै अर्को आनुवंशिक परीक्षण किट ल्याइन् र आठ घण्टाको यात्रा गरी टिनेटी भएको ठाउँमा पुगिन्। साढे दुई साताको प्रतीक्षापछि नतिजा आयो। टिनेटीले सन्देश खोल्दा त्यहाँ स्पष्ट लेखिएको थियो – उनी र म्याडिशन साख्खै दिदीबहिनी थिए। “यो दिमाग खराब हुने जस्तो अचम्मकै कुरा थियो,” टिनेटी भन्छिन्, “हामी दिदीबहिनी रहेछौँ, तर यतिञ्जेलसम्म हामीलाई थाहै थिएन।” म्याडिशन यो खबर सुनेर रोइन् र आफ्ना बुबालाई खबर गर्दा उनी पनि अत्यन्तै खुशी भए।
त्यसपछि दुवै दिदीबहिनीले सँगै डोमिनिकन रिपब्लिक जाने योजना बनाए। उनीहरू त्यहाँ पुग्दा पुन: सम्पूर्ण परिवार विमानस्थलमा उनीहरूको प्रतीक्षामा थियो, यसपटक दिदीबहिनी दुवैको तस्बिर भएको टी-सर्ट लगाएका थिए। उनीहरूका बुबा कोलाडो टिनेटीको नजिकै आएर उनलाई बलियोसँग अँगालो हाल्दै “मेरी छोरी” भने। दिदीबहिनीका रूपमा सँगै गरेको यो पहिलो यात्रा खुशी र नाचगानले भरिएको थियो। कोलाडोका अनुसार आफ्ना छोरीहरूसँग पुनर्मिलन हुनु भगवानले दिएको सबैभन्दा ठूलो उपहार हो। “म धेरै खुशी छु। उनीहरू मलाई भेट्न आउँदा मेरो मन खुशीले भरिन्छ,” उनी भन्छन्, “यो एउटा सुन्दर कथा हो। सबैले यस्तो कथा सुनाउने अवसर पाउँदैनन्।”
म्याडिशन र टिनेटीलाई स्वागत गर्दा परिवारजनले “तिम्रो परिवारमा स्वागत छ” लेखिएको टीसर्ट लगाएका थिए।
