बुटवल, २७ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विश्व बैंकको सहयोगमा करिब ७ किलोमिटर लामो अत्याधुनिक मंगलापुर-बेबरा-कान्छीबजार सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्ट्रक्चर प्रोजेक्टअन्तर्गत कुल ५७ करोड ८२ लाख ५६ हजार २८८ रुपैयाँ लागतमा निर्मित यो सडकले तिलोत्तमाको शहरी पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
५ मार्च २०२१ मा सम्झौता भएको यस सडक निर्माण शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । २०७१ मा नगरपालिका स्थापना भएपछिको यो पहिलो अत्याधुनिक सडक परियोजना हो । संस्थापक नगर प्रमुख वासुदेव घिमिरेको कार्यकालमा योजना छनोट तथा विश्व बैंकसँग सम्झौता भई निर्माण प्रक्रिया सुरु भएको यो परियोजनाले २०७९ को निर्वाचनपछि आएको नयाँ नेतृत्वको पालामा तीव्रता पाएको थियो ।
यस परियोजनाको मुख्य उद्देश्य शहरी आवागमन सहज बनाउने, सडक सुरक्षा सुधार गर्ने, ढल निकास व्यवस्थापन गर्ने तथा योजनाबद्ध शहरी विकास प्रबर्द्धन गर्ने रहेको छ । नगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर प्रदीप वनका अनुसार, सडकमा कालोपत्रे, दुवैतर्फ नाली, फुटपाथ, सडक सुरक्षा संकेत, सडक फर्निचर, सडक बत्ती तथा शहरी सौन्दर्यीकरणका कार्यहरू समेत सम्पन्न भएका छन् ।
सडकको क्यारिज वे ४ मिटरबाट ७.५ मिटरमा विस्तार गरिएको छ भने दुवैतर्फ २.७५ मिटर चौडा फुटपाथ निर्माण गरिएको छ । यसमा ट्राफिक संकेत, रोड मार्किङ र ३० किलोमिटर प्रतिघण्टाको डिजाइन स्पिडसहित आधुनिक शहरी सडक मापदण्डहरू लागू गरिएका छन् ।
यो परियोजना दुई मुख्य प्याकेजमा सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत मंगलापुर-बेबरा खण्ड शर्मा सगुन जेभीले ४० करोड ५२ लाख रुपैयाँमा निर्माण गरेको हो । ८ जुलाई २०२२ मा सम्झौता भएको यस प्याकेजको ठेक्का रकम अनुमानित लागतभन्दा २८.८६ प्रतिशत कम थियो । दोस्रो प्याकेजअन्तर्गत बेबरा-कान्छीबजार खण्ड आशिष-आशीर्वाद जेभीले १७ करोड २९ लाख रुपैयाँमा सम्पन्न गरेको छ । १४ अप्रिल २०२४ मा सम्झौता भएको यस प्याकेजको लागत अनुमानभन्दा १६.३५ प्रतिशत कम रहेको नगरपालिकाले जनाएको छ । परियोजना लागत अनुमानभन्दा कममा सम्पन्न भएको छ ।
सडकको आइतबार विश्व बैंकका प्रतिनिधि र शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिको उपस्थितिमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले औपचारिक उद्घाटन गरेका छन् । उद्घाटनपश्चात नगर प्रमुख खाँणले यस आधुनिक सडकले स्थानीय बासिन्दा, व्यवसायी, विद्यार्थी तथा सेवा प्रदायकहरूलाई आवागमनमा सहजता प्रदान गर्ने बताए । धुलोका कारण स्वास्थ्यमा पर्ने असर कम हुने तथा स्थानीय व्यवसायमा सुधार आउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल लगायतले सडक निर्माणले तिलोत्तमाको शहरी विकास, सुरक्षित यातायात र प्रभावकारी नगर सेवा प्रवाहमा दीर्घकालीन टेवा पुग्ने धारणा राखेका थिए । यो परियोजना तिलोत्तमा नगरपालिकाको समग्र विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा साबित भएको छ ।
