तस्बिर स्रोत, Getty Images
अमेरिका र इजरेलबीच इरानमा जारी युद्धले विश्वभरि हरेक घरको खर्च बढाइरहँदा केही कम्पनीहरूका लागि भने यो अवसर मुनाफाको माध्यम बनेको छ। युद्धले सिर्जना गरेको अनिश्चितता र इरानले होर्मुज जलमार्गमा निम्त्याएको अवरोधका कारण मानिसहरूको दैनिक खर्चमा वृद्धि भएको मात्र छैन, सरकारदेखि निजी कम्पनी र परिवारहरू समेत नियमित खर्च कटौती गर्न बाध्य भएका छन्।
तर, यसको असर सबैका लागि घाटा मात्र भएको छैन। युद्धका कारण इन्धनको मूल्यमा देखिएको उतारचढावले केही व्यवसायहरूलाई अहिलेसम्मकै उच्च नाफा कमाउने मौका दिएको छ। मध्यपूर्वको यस युद्धले अर्बौँ डलर कमाउन सफल केही प्रमुख व्यवसाय र कम्पनीहरूको यहाँ चर्चा गरिएको छ।
१. तेल र ग्यास
इरान युद्धको सबैभन्दा ठूलो प्रभाव ऊर्जा अर्थात् इन्धनको मूल्यमा परेको छ। विश्वको करिब २० प्रतिशत तेल र ग्यास होर्मुज जलमार्ग हुँदै ढुवानी हुन्छ, तर फेब्रुअरीको अन्त्यबाट युद्धका कारण त्यो बाटो भएर हुने ढुवानी लगभग ठप्प भयो। यसको परिणाम इन्धन बजारमा तत्कालै देखियो, जहाँ मूल्यमा अचानक भारी वृद्धि भयो र विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले उल्लेख्य नाफा कमाए।
यसबाट युरोपका ठूला तेल व्यापारी कम्पनीहरूले सर्वाधिक फाइदा उठाए। ब्रिटिश तेल तथा ग्यास कम्पनी बीपीको नाफा यो वर्षको पहिलो त्रैमासिकमा दोबरले बढेर ३ अर्ब अमेरिकी डलरभन्दा धेरै पुगेको छ। अर्को ब्रिटिश कम्पनी शेलको पनि पहिलो त्रैमासिक नाफा झन्डै ७ अर्ब डलर पुगेको छ। सन् २०२६ का सुरुवाती तीन महिनामा फ्रान्सको अन्तर्राष्ट्रिय कम्पनी टोटल एनर्जिजको नाफा पनि एकतिहाइले बढेर ५.४ अर्ब अमेरिकी डलर पुगेको छ। अमेरिकी कम्पनीहरू एक्सअन मोबिल र शेभ्रनको नाफा भने अघिल्लो वर्षको प्रथम त्रैमासिक अवधिका तुलनामा घटेको छ, जुन मध्यपूर्वबाट आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको अवस्था हो। तर विश्लेषकहरूले वर्षको अन्त्यसम्म यी कम्पनीहरूले पनि नाफा आर्जन गर्न सक्ने अपेक्षा गरेका छन्।
२. ठूला ब्याङ्कहरू
विश्वका केही ठूला ब्याङ्कहरूले पनि इरानमा युद्ध जारी रहँदा आफ्नो नाफा बढाएका छन्। सन् २०२६ को पहिलो त्रैमासिक अवधिमा जेपी मोर्गन ब्याङ्कको व्यापार शाखाले ११.६ अर्ब डलर आय गरेको छ, जसले ब्याङ्कको समग्र त्रैमासिक नाफा अहिलेसम्मकै दोस्रो धेरै कायम गरेको छ। यस वर्षको पहिलो तीन महिनामा विश्वका सबैभन्दा ठूला छ वटै ब्याङ्क—ब्याङ्क अफ अमेरिका, मोर्गन स्ट्यान्ली, सिटी ग्रूप, गोल्डमन साक्स, वेल्स फार्गो र जेपी मोर्गन—ले उल्लेखनीय नाफा बढाएका छन्। यी ब्याङ्कहरूले सन् २०२६ को पहिलो त्रैमासिक अवधिमा एकमुष्ट गरेर ४७.७ अर्ब अमेरिकी डलर नाफा कमाए।
वेल्थ क्लबका लगानी रणनीतिकार सुसाना स्ट्रीटरका अनुसार, “व्यापारको ठूलो परिमाणले लगानी ब्याङ्कहरूलाई फाइदा भयो, खास गरी मोर्गन स्ट्यान्ली र गोल्डमन साक्सजस्ता ब्याङ्कहरूलाई।” लगानीकर्ताहरूले जोखिम भएका धितोपत्र र ऋणपत्र बेचेर सुरक्षित ठानिने नगद सम्पत्ति थुपार्दा ब्याङ्कहरू फाइदामा गए। अर्थतन्त्रमा देखिएको उतारचढावको मौका छोप्दै लगानीकर्ताहरूले व्यापारको परिमाण पनि बढाए। स्ट्रीटर थप्छिन्, “युद्धले सिर्जना गरेको उतारचढावले व्यापार बढायो। युद्ध बढ्ने डरले केही लगानीकर्ताहरूले धितोपत्र बिक्री गरे, बाँकीले मूल्य घटेको मौका छोपेर त्यही बेला किने, जसले घटेको मूल्य उकास्न सहयोग गर्यो।”
३. हतियार कम्पनीहरू
यूकेको व्यापार परामर्शदाता आरएसएमकी वरिष्ठ विश्लेषक एमली साभिचका अनुसार, युद्धका समयमा पहिलो नाफा कमाउने रक्षा क्षेत्र अर्थात् हतियार उत्पादन तथा बिक्री कम्पनीहरू हुन्। “युद्धले रक्षा क्षमतामा देखिएको खाडल उजागर गरिदिन्छ र क्षेप्यास्त्र प्रतिरक्षा, ड्रोन प्रणाली तथा सैन्य उपकरणमा युरोप र अमेरिकाभरि लगानी बढाउँछ,” उनले बीबीसीसँग भनिन्। रक्षा कम्पनीहरूको महत्त्व उजागर गर्दै युद्धले सरकारहरूलाई पनि हतियारको मौज्दात बढाउन उद्वेलित गर्छ र हतियारको माग पनि बढ्छ।
एफ३५ लडाकु विमानका पाटपुर्जासहितका उपकरण बनाउने बीएई सिस्टम्सले यो वर्ष आफ्नो बिक्री र नाफा दुवै बढ्ने अपेक्षा गरिएको जनाएको छ। उसले विश्वभरि नै बढ्दो “सुरक्षा जोखिम”का कारण सरकारहरूले रक्षा खर्च बढाउँदा आफ्नो कम्पनीलाई सहयोग पुगेको उल्लेख गरेको छ। बोइङ, नोर्थ्रोप ग्रमन र लकहीड मार्टिनजस्ता विश्वका सबैभन्दा ठूला तीन वटा रक्षा ठेकेदारहरूले सन् २०२६ को पहिलो त्रैमासिक अवधिको अन्त्यमा अहिलेसम्मकै धेरै माग पूरा गर्न बाँकी रहेको जनाएका छन्। पछिल्ला वर्षहरूमा व्यापक मात्रामा बढेको रक्षा कम्पनीहरूको शेअरको मूल्य भने मार्चको मध्यबाट केही खस्कन थालेको छ।
४. नवीकरणीय ऊर्जा क्षेत्र
विश्लेषक स्ट्रीटरका अनुसार, जीवाश्म इन्धनमा निर्भरता घटाउनुपर्ने आवश्यकता पनि यो युद्धले बोध गराएको छ। यसले अमेरिकामा पनि “नवीकरणीय ऊर्जामा मानिसहरूको चासो ह्वात्तै बढाएको छ,” उनी भन्छिन्। युद्धले नवीकरणीय ऊर्जाका क्षेत्रमा गरिने लगानी उत्तिकै महत्त्वपूर्ण र सङ्कटका समयमा स्थिरताका लागि सहयोग हुने महसुस गराएको स्ट्रीटर बताउँछिन्।
मानिसहरूले नवीकरणीय ऊर्जामा लगानी बढाउँदा अमेरिकाकै फ्लोरिडाको नेक्स्ट एरा एनर्जीको शेअर मूल्य यो वर्ष मात्रै १७ प्रतिशतले बढेको छ। डेनमार्कका वायु ऊर्जा कम्पनीहरू भेस्टस तथा ओर्स्टेडले पनि आफ्नो नाफा बढेको विवरण प्रकाशित गरेका छन्। यसले युद्धका कारण अर्थतन्त्रमा समस्या निम्तिँदा पनि नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरू कसरी उकालो लागिरहेका छन् भन्ने दर्शाउँछ। यूकेको अक्टोपस एनर्जीले युद्धले फेब्रुअरीयता सौर्य ऊर्जा उत्पादनका लागि प्रयोग हुने प्यानलहरूको बिक्री ५० प्रतिशतले बढाएको हालै बीबीसीसँग बताएको थियो। पेट्रोलको मूल्य बढ्दा विद्युतीय सवारी साधनहरूको माग पनि बढेको छ, जसको सबैभन्दा ठूलो फाइदा चिनियाँ कार उत्पादकहरूले लिइरहेका छन्।
