काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच गत मंगलबार एक महत्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध आयाम, संसदीय सहकार्यको विस्तार, विकास साझेदारीका सम्भावनाहरू तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय साझा चासोका विषयमा विस्तृत विचार आदानप्रदान भएको छ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण र अटल प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि मित्रराष्ट्र चीनको हितविपरीत कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट र कटिबद्ध रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख अर्यालले वर्तमान सरकार देशको विकास, सुशासनको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण र प्रविधिको प्रवर्द्धनमा केन्द्रित रहेको जानकारी दिँदै यी प्राथमिकता प्राप्त क्षेत्रहरूमा चीन सरकारको निरन्तर साथ र सहयोगको अपेक्षा राखेको बताए। उनले सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना तीव्र गतिमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै नेपालको राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भाव र सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरे।
अन्तरसंसदीय सहकार्य विस्तारमा जोड दिँदै सभामुख अर्यालले संघीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय मैत्री समूहमार्फत द्विपक्षीय संसदीय सम्बन्धलाई थप मजबुत बनाइने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसदीय अभ्यासलाई अगाडि बढाउने प्रण गर्दै सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई मूर्तरूप दिँदै विधायिकी निकायहरूबीच सहकार्य अभिवृद्धि गरिने बताए।
आर्थिक सहकार्यका सन्दर्भमा, सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाकाहरूको स्तरोन्नति तथा ‘कनेक्टिभिटी’ सुदृढीकरणमा जोड दिए। उनले चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) को कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे। साथै, बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा चासोका विषयमा सहकार्य गर्ने, सांस्कृतिक आदानप्रदान बढाउने र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने नेपालको प्रतिबद्धता पनि उनले व्यक्त गरे।
राजदूत चाङ माओमिङले सभामुख अर्यालसँगको भेटलाई दुई देशबीचको सम्बन्ध विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताए। उनले चिनियाँ राष्ट्रिय जनकंग्रेसका तर्फबाट सभामुख अर्याललाई शुभकामना सन्देश तथा बधाईपत्र हस्तान्तरण गरे। नेपाल र चीनबीचको सम्बन्ध असल छिमेकीपन, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै राजदूत माओमिङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको स्मरण गराए।
राजदूत माओमिङले चीनले नेपाललाई एक महत्वपूर्ण र विश्वसनीय छिमेकीका रूपमा लिँदै आएको बताउँदै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले ‘एक चीन नीति’प्रति नेपालको अविचलित प्रतिबद्धताको प्रशंसा गर्दै यसलाई चीनले उच्च महत्व दिएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनाहरूमा सहकार्य बढाउन चीन तयार रहेको राजदूत माओमिङले बताए। उनले यसै सन्दर्भमा संघीय संसद् सचिवालयलाई विद्युतीय सवारीसाधन सहयोग गरिएको जानकारी पनि दिए। साथै, उनले सभामुख अर्याल, सांसदहरू तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको हार्दिक निम्ता समेत दिए। –रासस
