बाजुराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय पर्यटकीय स्थल सिमकुरु लामो समयदेखि सरकारी उपेक्षाका कारण संरक्षणको पर्खाइमा रहेको छ। समुद्री सतहदेखि करिब २,३०० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण र आफैँमा निकै आकर्षक तथा मनमोहक छ। यसको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय नागरिकले लामो समयदेखि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँग बजेट माग गर्दै आए पनि उनीहरूको माग अझै पूरा हुन सकेको छैन।
बुढीनन्दा नगरपालिका–४ मा पर्ने सिमकुरुको माथिल्लो भेगमा भावना, च्याँच्या, जौलारुखलगायतका गाउँबस्तीहरू रहेका छन्। चारैतिर अग्ला डाँडाकाँडाले घेरिएको, बीचमा समथर भूभाग र त्यहीँबाट सलल बग्ने सानो खोलाले यसको प्राकृतिक सौन्दर्यलाई अझै निखारेको छ। विशेषतः यहाँ रहेका नौ मुले पानीका धाराहरूले धार्मिक महत्त्व बोकेका छन्, जहाँ बुढीनन्दा ताल जाने तीर्थयात्रीहरू नुहाएर आफ्नो यात्रालाई पवित्र बनाउने गर्छन्।
बुढीनन्दा तालको प्रमुख प्रवेशद्वारका रूपमा रहेको सिमकुरु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। ताल जाने तीर्थयात्रीहरू पनि सिमकुरुमा बास बसेर यात्रा अगाडि बढाउने गर्छन्। करिब ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको सिमकुरुको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आर्थिक अवस्थामा ठूलो टेवा पुग्ने सम्भावना छ। यसबाट दुर्गम गाउँबस्तीका स्थानीयले उत्पादन गरेका अर्गानिक तरकारी तथा फलफूलले राम्रो बजार पाउन सक्नेछ।
जिल्लाकै एक प्रख्यात पर्यटकीय स्थल भए पनि अहिलेसम्म कुनै पनि तहको सरकारले यसको विकासमा खासै चासो नदेखाएको बुढीनन्दा नगरपालिका–४ का युवा नेता दिपराज ऐडी बताउनुहुन्छ। उहाँका अनुसार, ‘अन्य जिल्लाका धेरै कमसल ठाउँलाई पनि त्यहाँका स्थानीय सरकारले पर्यटकीय स्थलका रूपमा विकास गर्दै आएका छन्, तर प्राकृतिक रूपमा यति सम्पन्न सिमकुरु ओझेलमा परेको छ।’ सरकारी उदासीनताले यसको अस्तित्व नै लोप हुने खतरा बढेको ऐडीको भनाइ छ।
सिमकुरुको विकासका लागि पहिलो चरणमा राम्रा र ठूला होमस्टे निर्माण गर्नुपर्ने र त्यसपछि यसको घेराबार गर्नुपर्ने वडाध्यक्ष जुल्फे रोकाया बताउनुहुन्छ। उहाँले पालिकादेखि प्रदेश तथा सङ्घीय सरकारसँग पटकपटक बजेट माग गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो। यद्यपि, स्थानीय सरकारले ग्रामीण सडक निर्माण गरेपछि पर्यटकलाई आवागमनमा सहजता मिलेको छ। बुढीनन्दा नगरपालिकाले भने सिमकुरु नगरपालिका मात्र नभई समग्र जिल्लाकै सुन्दर धार्मिक तथा पर्यटकीय स्थल भएकाले यसको संरक्षण तथा प्रवर्द्धनका लागि हाल चासो देखाएको जनाएको छ।
सिमकुरुको नैसर्गिक सुन्दरता र आर्थिक सम्भावनालाई मूर्त रूप दिन तीनै तहका सरकारको प्राथमिकता, ठोस योजना र पर्याप्त लगानी अपरिहार्य देखिन्छ। बाजुराको गौरव बढाउन सक्ने यो पर्यटकीय स्थललाई समयमै संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु आवश्यक छ।
