४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोली चीनको सिचवान प्रान्तस्थित भूकम्पले ध्वस्त भई पुनर्निर्माण गरिएको वेनचुआन क्षेत्र पुगेको छ । सन् २००८ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्तीहरू र त्यसपछिको बृहत् पुनर्निर्माण प्रक्रियाको स्थलगत अध्ययन गर्नु टोलीको मुख्य उद्देश्य हो ।
भ्रमण टोलीका सदस्य तथा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार, उनीहरूले भूकम्पपछिको खोज तथा उद्धार, राहत वितरण, प्रभावित परिवारको पुनर्स्थापना र बस्ती पुनर्निर्माणसम्बन्धी चीनको अनुभवबारे जानकारी लिएका छन् । पुनर्निर्माण पश्चात् स्थानीय जनतालाई जीविकोपार्जन र आर्थिक उपार्जनसँग जोड्ने संयन्त्रमा चीनले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरूको समेत टोलीले अध्ययन गरेको पराजुलीले जानकारी दिए ।
पराजुलीले वेनचुआनको यो अनुभव नेपालमा हालै घटेका विपद् तथा भविष्यमा हुनसक्ने सम्भावित विपद्सँग जुध्नका लागि एउटा महत्त्वपूर्ण पाठ भएको बताएका छन् । उनले विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, सूचना प्रणालीको विकास गर्ने, सुरक्षित स्थानहरूको पहिचान गर्ने र उद्धार कार्यमा कसको भूमिका तथा जिम्मेवारी के हुने भन्ने स्पष्ट कार्यविधिबारे स्थानीय सरकार र समुदायले मिलेर गरेको तयारी तथा नियमित अभ्यासको प्रक्रियाबाट नेपालले सिक्न सक्ने कुरामा जोड दिए । वेनचुआनमा यी कार्यविधिहरूलाई हुबहु कार्यान्वयनमा ल्याइएको अनुभव अनुकरणीय रहेको उनको भनाइ छ ।
भूकम्पको दर्दनाक पीडा र ७० हजारभन्दा बढी नागरिकको ज्यान गएको उक्त स्थानमा इतिहासमा कहिल्यै नबिर्सने गरी म्युजियम नै तयार पारिएको सन्दर्भ उल्लेख गर्दै पराजुलीले भने, ‘भविष्यमा आउन सक्ने त्यस्ता विपद्सँग जुध्नका लागि गरिएका तयारी र त्यसको कार्यान्वयन, विशेषगरी भोटेकोशी–त्रिशूली लगायतका नेपालका विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि वेनचुआन शहरको पुनर्निर्माण एउटा महत्त्वपूर्ण उदाहरण हुन सक्छ ।’
रास्वपाका २० जना सांसद सम्मिलित यो टोली कात्तिक २९ गते ११ दिने चीन भ्रमणका लागि प्रस्थान गरेको थियो । रास्वपाका महामन्त्री विपिनकुमार आचार्य संयोजकत्वको यस टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्रीसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, कानुन न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटा लगायतका सांसदहरू लिमा अधिकारी, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन् । टोलीले बेइजिङ, हाङचोउ र सिचुवान लगायतका प्रमुख शहरहरूको भ्रमण गर्ने कार्यतालिका रहेको र मंसिर १० गते स्वदेश फर्किने जनाइएको छ ।
