यस वर्षको साउन महिनाको तेस्रो सोमबार देशभरका शिवालयमा लाखौँ भक्तजनले पूजा, आराधना तथा दर्शन गरेका छन्। काठमाडौँको पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो। चान्द्रमास अनुसार यो श्रावणको पहिलो सोमबार भएकाले विगतका दुई सोमबारभन्दा भक्तजनको संख्या उल्लेख्य बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३:०० बजेदेखि नै दर्शनार्थीका लागि खुला गरिएको थियो। कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार बेलुका करिब ७:०० बजेसम्म पनि मन्दिरमा भक्तजनको लाम जारी रहेको थियो। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका थिए। दिउँसोसम्म पानी परेका कारण धेरै भक्तजन छाता ओढेर लाममा बसेको दृश्य देखिन्थ्यो।
श्रद्धालु भक्तजनहरूको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि कोषले विशेष प्रबन्ध मिलाएको थियो। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले लाखौँ भक्तजनलाई मर्यादित वातावरणमा दर्शन गराउने गरी व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार, विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्म मात्र सञ्चालन भएको थियो भने मन्दिरका ढोकाहरू बेलुकी आरती पछि ८:०० बजेसम्म भक्तजनका लागि खुला राखिएको थियो। मन्दिर प्रवेशका लागि चारवटा लाइनको व्यवस्था गरिएको थियो।
विगतका पहिलो र दोस्रो सोमबार (साउन ४ र ११ गते) भन्दा आज पशुपति क्षेत्रमा थप सहज व्यवस्था गरिएको दर्शनार्थीहरूले बताएका छन्। कोषले विगतका दुई हप्तामा भएका कमीकमजोरीलाई सुधार गरी यसपटक राम्रो व्यवस्थापन गरेको जनाएको छ। बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने बोल बम यात्रीहरूको पनि उल्लेख्य उपस्थिति थियो। दशौँ हजार बोल बम यात्रीले जल चढाएको र उनीहरूका लागि विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। यसैगरी विन्ध्यवासिनी आध्यात्मिक संस्थाले आज पशुपतिनाथ मन्दिरमा दूध अर्पण गरेको थियो।
दर्शन व्यवस्थापनलाई प्रभावकारी र सुरक्षित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघसंस्थाहरूको विशेष सेवा र सहभागिता रहेको थियो। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था मिलाइएको थियो। विभिन्न संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुका साथै महारुद्र परिवारले भुवनेश्वरी मन्दिरअघि भक्तजनका लागि भण्डाराको व्यवस्था गरेको थियो।
पशुपतिनाथसँगै राजधानीका अन्य प्रमुख शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव (सानो पशुपतिनाथ) लगायत ठूलासाना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। यसैगरी देशभरका साना, ठूला सबै शिवालयमा भक्तजनहरू पूजा आराधना एवं दर्शनका लागि लामबद्ध भएका थिए। राजधानी बाहिरका शिवालयमा पनि आज विगतका दुवै सोमबारभन्दा बढी भक्तजन आएको नागेश्वर तथा बाणेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए। चान्द्रमास अनुसार श्रावण महिना लागेपछिको यो पहिलो सोमबार भएकाले ती मन्दिरमा पनि अत्यधिक भक्तजनको उपस्थिति रहेको उनले बताए।
