विश्वभर आज र भोलि, मे ८ र ९, दोस्रो विश्वयुद्धका पीडितहरूको सम्झना तथा मेलमिलाप दिवसका रूपमा विशेष कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। मानवताले भोगेको सबैभन्दा ठूलो र विनाशकारी द्वन्द्वको सम्झनामा, यस दिन विश्वका विभिन्न देशहरूले युद्धमा ज्यान गुमाएका लाखौं निर्दोष नागरिक र सैनिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै युद्धको भयावहताबाट पाठ सिक्ने प्रतिबद्धता जनाउँछन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००४ नोभेम्बर २२ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितहरूको सम्झना तथा मेलमिलाप दिवसका रूपमा मनाउन प्रारम्भ गरिएको हो। यस प्रस्तावमार्फत सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकायहरू, गैरसरकारी संस्था तथा व्यक्तिहरूलाई यी दिनहरूमा उपयुक्त ढङ्गले स्मृति दिवस मनाएर युद्धका पीडितहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न र शान्तिको प्रवर्द्धनका लागि योगदान दिन आह्वान गरिएको थियो।
महासभाले दोस्रो विश्वयुद्धजस्तो भयावह घटनाले नै भावी पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घ स्थापना गर्ने आधार तयार गरेको कुरालाई जोड दिएको छ। युद्धको अन्त्यपछि अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने, विवादहरूलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने तथा मानवीय मूल्यमान्यताको रक्षा गर्ने प्रमुख लक्ष्यसहित संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो। यस सन्दर्भमा, महासभाले सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुरूप शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षालाई मजबुत बनाउन एकताबद्ध प्रयास गर्न निरन्तर आग्रह गर्दै आएको छ।
यस दिवसको महत्वलाई अझै सुदृढ गर्न सन् २०१० मार्च २ मा महासभाले पुनः अर्को प्रस्ताव पारित गर्दै सदस्य राष्ट्र तथा सम्बन्धित निकायहरूलाई मे ८ र ९ लाई दोस्रो विश्वयुद्धका सबै पीडितहरूको सम्मानमा उपयुक्त रूपमा मनाउन आग्रह गरेको थियो। सोही वर्ष, दोस्रो विश्वयुद्ध समाप्त भएको ६५औँ वर्ष पूरा भएको अवसरमा, सन् २०१० मे महिनाको दोस्रो सातामा महासभाले विशेष शोकसभा पनि आयोजना गरेको थियो। यस्तै, गत वर्ष मे ७ मा, दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्ष पूरा भएको अवसरमा पनि महासभाले विशेष शोकसभा आयोजना गरी युद्धका पीडितहरूलाई सम्झना गरेको थियो।
ती अवसरमा तत्कालीन महासचिवले दोस्रो विश्वयुद्धलाई स्वतन्त्रता र मुक्तिका लागि इतिहासकै सबैभन्दा ठूलो सङ्घर्ष भएको बताउँदै उक्त युद्धमा करिब चार करोड सर्वसाधारण र दुई करोड सैनिकको मृत्यु भएको जानकारी दिएका थिए। मृत्यु हुने सैनिकहरूमध्ये झन्डै आधा सोभियत सङ्घका थिए। यस तथ्याङ्कले युद्धको भयावह मानवीय लागतलाई प्रस्ट पार्छ। दोस्रो विश्वयुद्धबाट विशेषगरी युरोप, एसिया, अफ्रिका, प्रशान्त क्षेत्र तथा विश्वका अन्य भागका मानवजातिलाई अपूरणीय पीडा पुगेको थियो, जसको घाउ अझै पनि गहिरो छ।
यद्यपि, महासभाले युद्धपछिको मेलमिलाप, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहकार्य, लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा आधारभूत स्वतन्त्रताको प्रवद्र्धनमा भएको प्रगतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ। यी दिवसहरूले विगतका भयावह पाठहरूलाई सम्झना गर्दै भविष्यमा यस्ता द्वन्द्वहरू दोहोरिन नदिने सामूहिक प्रतिबद्धतालाई नवीकरण गर्ने अवसर प्रदान गर्दछ। विश्वभरका मानिसहरूले एकताबद्ध भएर शान्ति, सहिष्णुता र समझदारीका लागि काम गर्नु आजको आवश्यकता हो, ताकि भावी पुस्ताले युद्धको विभीषिका भोग्नु नपरोस्।
