भदौ ४, २०८३ बिहीबार २२:१०:४१
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का थारू सांसदहरूले टीकापुर घटना सम्बन्धमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागप्रति आफू सकारात्मक रहेको बताउँदै, भदौ ७ गतेभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सांसद सुरेन्द्र चौधरीलाई जिम्मेवारी दिएका छन्।
वि.सं. २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाही सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरिएको थियो। उक्त घटनामा एक नाबालक र आठ सुरक्षाकर्मीसहित नौ जनाको ज्यान गएको थियो। घटनापछि थारू समुदायका सयौं व्यक्तिहरूलाई मुद्दा चलाइएको थियो, जसमध्ये केहीले जेल जीवन बिताइसकेका छन् भने कतिपय अझै पनि फरारको सूचीमा छन्। लामो समयदेखि यो प्रतिवेदन सार्वजनिक नहुँदा थारू समुदायमा न्याय र समाधानको आशा अधुरो रहेको भन्दै यसलाई सार्वजनिक गर्न निरन्तर माग भइरहेको छ।
सांसद सुरेन्द्र चौधरीको नेतृत्वमा लक्ष्मण थारू, ठाकुर सिंह थारू, पुष्पा चौधरी, करिश्मा कठरिया र अमरकान्त चौधरीसहितका छ जना थारू सांसदहरूले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शाहलाई भेटेका हुन्। भेटमा सांसदहरूले टीकापुर घटनापछि थारू समुदायका व्यक्तिहरूले अकारण जेल-नेल भोग्नुपरेको र कतिपय अझै पनि फरार बन्नुपरेको यथार्थ प्रस्तुत गर्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी उनीहरूलाई न्याय दिलाउनुपर्नेमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका थिए। उनीहरूले आसन्न भदौ ७ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई अल्टिमेटमसहितको आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री शाहले थारू सांसदहरूको मागप्रति सकारात्मक दृष्टिकोण राख्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने आफ्नो धारणा व्यक्त गरेका थिए। उनले यस विषयलाई गम्भीरतापूर्वक लिएको र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए। सोही क्रममा प्रधानमन्त्रीले भदौ ७ गतेको समयसीमाभित्र प्रतिवेदन सार्वजनिक गर्ने विषयमा विस्तृत सुझावसहितको कार्ययोजना तयार गरी पेश गर्न सांसद सुरेन्द्र चौधरीलाई विशेष जिम्मेवारी दिएका छन्। प्रधानमन्त्रीको यो निर्देशनले प्रतिवेदन सार्वजनिकरणको प्रक्रियामा थप गति दिने अपेक्षा गरिएको छ।
भेटवार्ता पछि अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री शाहको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। ‘हाम्रो नेतृत्वको टोलीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउनुपर्ने हाम्रो सामूहिक मागसहित प्रधानमन्त्रीजीलाई भेट्यौं। उहाँले यस विषयमा सुझाव पेश गर्ने जिम्मेवारी मलाई दिनुभएको छ। हामी छिट्टै विस्तृत सुझावसहितको प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाउँछौं,’ चौधरीले भने, ‘प्रधानमन्त्री यस विषयमा अत्यन्तै सकारात्मक हुनुहुन्छ र हामीलाई न्याय मिल्नेमा विश्वस्त छौं।’ उनले भेटमा थारू समुदायका अन्य सवालमा पनि संक्षिप्त छलफल भएको जानकारी दिए।
टीकापुर घटनापछि थारू समुदायले लामो समयदेखि न्यायको माग गर्दै आएका छन् र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनु उनीहरूको न्यायप्राप्तिको एउटा महत्त्वपूर्ण खुड्किलो मानिएको छ। सत्तारुढ दलकै सांसदहरूले प्रधानमन्त्रीसँग सीधै यस विषयमा पहल गर्नुले यो मुद्दाले थप प्राथमिकता पाएको देखिन्छ। यस प्रतिवेदनको सार्वजनिकरणले टीकापुर घटनाका पीडित तथा प्रभावितहरूलाई न्याय दिने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक पाठ सिकाउने विश्वास लिइएको छ।
