बागमती प्रदेशमा एमाले मन्त्रीहरूको राजीनामा रोकियो: केन्द्रको निर्देशनपछि यथास्थितिमै सरकार अगाडि बढ्ने
हेटौंडा, ३२ असार । बागमती प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरूको सामूहिक राजीनामा पार्टी केन्द्रको निर्देशनसँगै रोकिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आजै राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी केन्द्रीय नेतृत्वको हस्तक्षेपपछि स्थगन भएको हो।
आज दिउँसो ५ बजे सम्पन्न मन्त्रिपरिषद् बैठकलगत्तै एमालेका छ जना मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। यद्यपि, केन्द्रीय नेतृत्वबाट आएको निर्देशनपश्चात् उनीहरूले तत्कालका लागि राजीनामा नदिने निर्णय गरेका हुन्। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यसअघि राजीनामाको तयारी भए पनि पार्टीको उच्च तहको निर्देशनले रोकिएको जानकारी दिनुभयो।
बागमती प्रदेशको वर्तमान गठबन्धन सरकारमा नेकपा (एमाले) बाट विभिन्न महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका मन्त्रीहरू संलग्न छन्। जसमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहनुभएको छ। यी सबै मन्त्रीहरू मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कार्यालयबाट बाहिरिएका थिए।
स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री बानियाँ र एमालेका मन्त्रीहरूबीच आगामी राजनीतिक कदमका बारेमा विस्तृत छलफल भएको थियो। यस क्रममा मुख्यमन्त्री बानियाँले कांग्रेसको केन्द्रीय नेतृत्व तहबाट समेत मन्त्रिपरिषद् फेरबदलको सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभएको थियो। सोही छलफलमा वर्तमान अवस्थालाई नै निरन्तरता दिँदै अगाडि बढ्ने विषयमा सहमति जुटेको बताइएको छ।
एक एमाले मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “हाम्रो पार्टी नेतृत्वबाट पनि नेपाली कांग्रेससँग छलफल चलिरहेको जानकारीसहित तत्काल राजीनामा नदिनु भन्ने निर्देशन प्राप्त भएको थियो। मुख्यमन्त्रीज्यूले समेत कांग्रेस नेतृत्वबाट बागमती सरकारका विषयमा कुनै नयाँ जानकारी नआएको बताउनुभयो। त्यसैले, हाललाई सरकार यथास्थितिमै अगाडि बढ्नेछ।”
मन्त्रिपरिषद् बैठकको समापनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकार हालकै अवस्थामा निरन्तर अघि बढ्ने जानकारी दिनुभएको छ। यो निर्णयले प्रदेशको राजनीतिक अस्थिरता तत्कालका लागि टरेको मानिएको छ, यद्यपि केन्द्रीय राजनीतिका उतारचढावले भविष्यमा पुनः यस्तै स्थिति आउन सक्ने सम्भावना कायमै छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको केन्द्रीय स्तरको संवादले प्रदेश सरकारको भविष्य निर्धारण गर्ने देखिन्छ।
