नेपाली ग्रामीण जीवनशैलीको अभिन्न अंग मानिने स्थानीय जातका गाईहरू अहिले लोपोन्मुख अवस्थामा पुगेका छन्। किसानहरूले व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईपालनमा जोड दिन थालेपछि मौलिक पहिचान बोकेका स्थानीय गाईहरू गाउँका गोठहरूबाट हराउँदै गएका हुन्। यो प्रवृत्तिले ग्रामीण अर्थतन्त्र, कृषि प्रणाली र परम्परागत संस्कृतिमा समेत गम्भीर असर पारेको छ।
यस चुनौतीलाई सम्बोधन गर्न र स्थानीय गाईको संरक्षणमा किसानहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङमा एक उदाहरणीय कार्यक्रम सुरु गरिएको छ। यस वडाले स्थानीय लहिनो जातका गाई पाल्ने किसानलाई प्रतिगाई वार्षिक दुई हजार रुपैयाँ स्याहार भत्ता वितरण गर्न थालेको छ। यो पहलले स्थानीय गाईपालनलाई पुनर्जीवन दिने र यसको महत्वबारे जनचेतना जगाउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष सुशील चन्दका अनुसार, गाउँघरबाट लोप हुँदै गएका स्थानीय गाईहरूलाई जोगाउँदै पुनः परम्परागत गाईपालनतर्फ किसानलाई आकर्षित गराउनु यस कार्यक्रमको मुख्य लक्ष्य हो। स्थानीय गाईको घट्दो संख्याले धार्मिक, सांस्कृतिक तथा कृषि क्षेत्रमा गम्भीर असर पुर्याएको उहाँले बताउनुभयो। गाई हाम्रो मौलिक सम्पत्ति र ग्रामीण पहिचान भएको उहाँको भनाइ छ।
वडाध्यक्ष चन्दले पहिला मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा रहेकामा अहिले गाईको सट्टा नगद दिने चलन बढेकोमा चिन्ता व्यक्त गर्नुभयो। धार्मिक कर्मका लागि आवश्यक पर्ने गाईको गोबर र गोमूत्रसमेत खोज्नुपर्ने अवस्था आउनुले परम्परागत रीतिरिवाजमा प्रत्यक्ष चुनौती थपिएको उहाँको भनाइ छ। यसले हाम्रो मौलिक संस्कृति र परम्परामा समेत नकारात्मक प्रभाव पारेको र यसको संरक्षण अपरिहार्य रहेको उहाँले जोड दिनुभयो।
स्थानीय नरबहादुर विष्टले यस पहलप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, ‘पहिले हरेक घरमा गाई पालिन्थ्यो, तर अहिले दिनभरि गाउँ घुम्दा गोठहरू खाली देखिन्छन्। स्थानीय गाई भेट्टाउन मुस्किल छ, गोबर र गौमूत्र खोज्न टाढा जानुपर्ने बाध्यता छ। वडाले दिएको यो स्याहार भत्ताले गाई जोगाउनका लागि थोरै भए पनि हौसला मिलेको छ।’ यसले किसानहरूलाई परम्परागत कृषि प्रणाली र धार्मिक आस्था जोगाउन थप प्रेरणा दिएको छ।
जानकारहरूका अनुसार, स्थानीय गाई केवल दूधका लागि मात्र नभई नेपाली गाउँको संस्कृति, धार्मिक आस्था, जैविक खेती प्रणाली र पर्यावरणीय सन्तुलनसँग गहिरो रूपमा जोडिएका छन्। यसको दूध, गोबर र गोमूत्र मानव स्वास्थ्य, जैविक मल उत्पादन तथा विभिन्न धार्मिक कार्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। हिन्दू परम्परामा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिने र जन्मदेखि मृत्युसम्मका अनेकौं संस्कारमा यसबाट प्राप्त वस्तुको प्रयोग हुने भएकाले यसको संरक्षण धार्मिक तथा सांस्कृतिक दुवै दृष्टिले अपरिहार्य रहेको छ।
वडाध्यक्ष चन्दले पाका पुस्ताको माग र मौलिक सम्पत्तिको संरक्षणका लागि यो कार्यक्रम सुरु गरिएको बताउँदै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय तहले थालेको यो अभियानले किसानलाई आर्थिक प्रोत्साहनका साथै लोप हुँदै जान थालेको परम्परा र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने स्थानीय राधा कुँवरको भनाइ छ। उहाँले यस महत्वपूर्ण कार्यलाई सफल बनाउन सबै सरोकारवाला पक्षबाट सहकार्य र समन्वयको खाँचो औंल्याउनुभयो।
