नारायणी अस्पतालमा चिकित्सकमाथि भएको क्रूर आक्रमणमा गम्भीर घाइते मेडिकल अफिसर डा. प्रमोद रामलाई थप विशिष्ट उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको उपचारका क्रममा भएको यस जघन्य घटनाले देशभरका स्वास्थ्यकर्मीको सुरक्षा र मनोबलमाथि गम्भीर प्रश्न खडा गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुगी डा. रामको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिइन्। उनले उपचारमा संलग्न विशेषज्ञ चिकित्सक तथा अस्पताल प्रशासनलाई डा. रामको स्वास्थ्य लाभका लागि कुनै कमी हुन नदिन र सर्वोत्तम उपचार सुनिश्चित गर्न कडा निर्देशन दिएकी छन्। मन्त्रालयका अनुसार, घाइते डा. रामलाई आवश्यक सम्पूर्ण विशेषज्ञ सेवा र व्यवस्थापनका लागि ट्रमा सेन्टरसँग समन्वय गरिएको छ, जसका लागि मन्त्रालयले हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि लक्षित आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै उपचारका क्रममा कुनै पनि अप्रिय घटनाको छानबिनका लागि मुलुकमा प्रचलित कानुनी व्यवस्था पूर्णतः विद्यमान रहेको स्पष्ट पारेको छ। कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु वा स्वास्थ्य संस्थामा तोडफोड गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने मन्त्रालयले दोहोर्याएको छ।
मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीहरूको तत्काल पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउन सशक्त आग्रह गरेको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आफ्नो सेवा निर्बाध रूपमा सुचारु राख्न अनुरोध गर्दै, अस्पतालजस्तो संवेदनशील स्थानमा सुरक्षित र निर्भय कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग गम्भीरतापूर्वक अपिल गरिएको छ। स्वास्थ्यकर्मीको सुरक्षा र आत्मसम्मानका लागि राज्य सधैं प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ।
मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा सभ्य समाजका लागि अस्वीकार्य हुने कुरामा जोड दिँदै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक र अपरिहार्य जिम्मेवारी भएको बताइन्। यस्ता निन्दनीय घटनाहरू भविष्यमा दोहोरिन नदिनका लागि आवश्यक कानुनी तथा प्रशासनिक कदमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाइने र दोषीहरूलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरिन्। यस्ता आक्रमणले स्वास्थ्य सेवाको प्रवाहमा बाधा पुग्नुका साथै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबलमा नकारात्मक असर पार्ने हुँदा यसलाई गम्भीरताका साथ लिइएको छ।
सरकार स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि प्रतिबद्ध रहेको र यस्तो जघन्य कार्यलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट सन्देश मन्त्रालयले दिएको छ।
प्रकाशित: ११ श्रावण २०८३ १८:१६ सोमबार
