मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा पानी आपूर्ति बन्द गरेको छ। बिहीबार मेलम्ची खोलाको पानीमा अत्यधिक धमिलोपना देखिएको र त्यहाँको अस्थायी संरचनामा क्षति पुगेपछि मेलम्ची खानेपानी विकास समितिले केही अवधिका लागि सुरुङबाट पानी पठाउने कार्य बन्द गरेको हो। विसं २०७८ को असार १ र साउन १६ मा आएको भीषण बाढी तथा गेग्रान बहावले परियोजनाको मुख्य हेडवर्क्सलाई व्यापक क्षति पुर्याएपछि हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुँदै आएको छ।
काठमाडौँ उपत्यकाका लाखौँ मानिसको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यस महत्त्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्थापन गरेर सकेसम्म कम अप्ठेरो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ। यद्यपि, विगतमा वैकल्पिक व्यवस्थाको वाचा गरिए पनि खानेपानी अभावले उपभोक्ताहरू धेरै मारमा पर्ने गरेका थिए।
हाल पानी आपूर्ति बन्द रहने अवधि समितिले तोकेको छैन। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बिहीबार खोलाको पानी धमिलो भएसँगै अस्थायी बाँधमा क्षति पुगेपछि तत्कालका लागि पानी आपूर्ति बन्द गरिएको बताए। प्रत्येक वर्षजस्तै यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवर्माखोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष भने त्यस्तो योजना नरहेको उपाध्यायले स्पष्ट पारे। उनले यस अवधिमा सुरुङको भित्री सरसफाइ तथा अन्य अत्यावश्यक जाँचका कामहरू गर्ने समितिको योजना रहेको र उक्त योजना माथिल्लो निकायले अनुमोदन गरेमा कार्यहरू अघि बढ्ने बताए।
दैनिक १७ करोड लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात् बन्द हुँदा सर्वसाधारण उपभोक्तालाई निश्चित रूपमा असर पर्ने देखिन्छ। यसको व्यवस्थापनका लागि केयूकेएलले आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्था मिलाइने बताएको छ। केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार, “साविकमा मेलम्चीबाट दैनिक १७ करोड लिटर अनि हामीले आन्तरिक स्रोतहरूबाट ७-८ करोड लिटर पानी आपूर्ति गर्दै आएका थियौँ। बर्खामा हाम्रो आन्तरिक स्रोतबाट २२-२३ करोड लिटर आपूर्ति गर्न सकिन्छ, त्यसैले एकदम धेरै असर पर्न दिँदैनौँ।” उनले भक्तपुरको महादेवखोला, ललितपुरको देवकी, बासुकी, नल्लुलगायत, फर्पिङको शेषनारायण साथै अन्य खोलाबाट थप आपूर्ति गर्न सकिने जानकारी दिए।
मेलम्चीको १७ करोड लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने वाचा सरकारहरूले गर्दै आएका छन्। तर २०७८ सालको विनाशले मेलम्चीकै १७ करोड लिटर पानी पनि अहिले बाह्रैमास आउन सकेको छैन। स्थायी समाधानका लागि क्षतिग्रस्त हेडवर्क्सको साटो करिब ९०० मिटर पर अर्को हेडवर्क्स बनाउने गरी अध्ययन तथा डिजाइनका काम भइरहेको कार्यकारी निर्देशक उपाध्यायले बताए। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी मधु तिमिल्सिनाका अनुसार, डिजाइनको काम यही सेप्टेम्बरमा सकिने र त्यसपछि निर्माणका अन्य प्रक्रिया सुरु हुन सक्नेछ। यसको अर्थ सरासर काम भए पनि केही थप दुई-चार वर्ष यही स्थिति रहने देखिएको छ। भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहालले अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने बताए। नजिकैको भीमकाय पहिरोका कारण समस्या नपार्ने हिसाबले नयाँ हेडवर्क्स बनाउनुपर्ने स्थिति रहेको उनको भनाइ छ। अहिलेको डिजाइनमा नयाँ हेडवर्क्सको मुखमात्रै बाहिर राखी बाँकी संरचना भूमिगत हुने गरी बनाउने योजना रहेको एक जानकारले उल्लेख गरे।
मेलम्ची खानेपानी आयोजनाको इतिहास निकै लामो र उतारचढावपूर्ण छ। विसं २०२९ मा खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको अध्ययन सुरु भएको थियो भने २०४९ मा मेलम्ची आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प ठहरियो। विसं २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भई कार्य अघि बढ्यो। झन्डै २२ वर्षको निर्माणपश्चात् २०७७ फागुन २२ मा मेलम्चीको पानी सुन्दरीजल आइपुगेको थियो र चैत १५ गते परीक्षण वितरण सुरु भयो। २०७७ चैत २० मा राष्ट्रपतिबाट आयोजनाको उद्घाटन गरिए पनि २०७८ असार १ र साउन १६ मा बाढी तथा गेग्रान बहावले परियोजनामा ठूलो क्षति पुर्यायो। त्यसयता हरेक वर्ष बर्खामा मेलम्चीको सुरुङबाट पानी पठाउने कार्य बन्द गरिँदै आएको छ। हाल नयाँ वैकल्पिक हेडवर्क्सको अध्ययन तथा डिजाइनका कामहरू जारी छन्।
