तस्बिर स्रोत, Getty Images
उनान्चालिस वर्षका मेस्सी सन् २०२६ विश्वकपमा पनि आर्जेन्टिनी टोलीको केन्द्रमा छन्। लिओनेल मेस्सी आफ्नो करिअरको तेस्रो विश्वकप फाइनलको तयारीमा जुटिरहँदा एउटा चिरपरिचित प्रश्न फेरि दोहोरिएको छ: के यी आर्जेन्टिनी सुपरस्टार अहिलेसम्मकै महान् फुटबलर हुन्? के उनले आफ्नै देशका डिएगो म्याराडोना र ब्रजिलका पेलेलाई पनि उछिनेका हुन्?
विश्लेषकहरूका अनुसार युवावस्थाजस्तो विस्फोटक गति नरहे पनि मेस्सी आफ्नो खेल बुझाइ, सही स्थानको छनोट र उत्कृष्ट निर्णय क्षमतामार्फत् खेलको दिशा बदल्ने क्षमता राख्छन्। मेस्सीलाई फुटबल इतिहासकै महान् खेलाडी मान्नेहरू उनका दुई विशेषतामा जोड दिन्छन्: लामो अवधिसम्मको उत्कृष्टता र लगातारको शानदार प्रदर्शन। धेरै महान् खेलाडीहरूको उत्कृष्ट समय तुलनात्मक रूपमा छोटो रह्यो, तर मेस्सी लगभग दुई दशकसम्म विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडीहरूमध्ये एकका रूपमा छन्। यस अवधिमा उनले कीर्तिमानी आठ पटक बालन डोर पुरस्कार जितेका छन्। साथै स्पेन र फ्रान्समा लीग उपाधि, च्याम्पिअन्स लिगको उपाधि, एउटा कोपा अमेरिका तथा सन् २०२२ को कतार विश्वकपको उपाधि पनि जितेका छन्। गोल र ‘असिस्ट’ दुवैमा उनले असाधारण कीर्तिमान बनाएका छन्। उनका समर्थकहरूका अनुसार प्रतिभा, निरन्तरता र लामो समयसम्म कायम उच्चस्तरीय क्षमताको बेजोड तालमेलले उनलाई अरूभन्दा भिन्न बनाएको छ। बार्सिलोनामा छँदा उनीसँगै खेलेका फ्रान्सका पूर्स्ट्राइकर थिएरी आन्री पनि मेस्सीको प्रतिस्पर्धात्मक मानसिकतालाई असाधारण ठान्छन्। उनले मेस्सीमाथि अन्याय भएको महसुस गर्नासाथ उनको व्यवहार पूर्ण रूपमा बदलिन्थ्यो भन्दै “बीस्टलाई नजिस्क्याइयोस्” भनेका थिए।
तस्बिर स्रोत, Getty Images
म्याराडोना र मेस्सी आर्जेन्टिनाका महान् खेलाडीमा गनिन्छन्। आर्जेन्टिनामा मेस्सीको तुलना पेलेभन्दा बढी डिएगो म्याराडोनासँग हुने गरेको छ। कप्तानका रूपमा म्याराडोनाले सन् १९८६ मा आर्जेन्टिनालाई विश्वकप जिताएका थिए। उनको प्रभाव फुटबलमा मात्रै सीमित थिएन, धेरै आर्जेन्टिनीका लागि उनी राष्ट्रिय पहिचानका प्रतीक बनेका थिए। स्पेनी पत्रकार गिल्येम बलगेले “म्याराडोना आर्जेन्टिनाका राजा थिए। राजा चुनिदैन, उसले केवल देशको प्रतिनिधित्व गर्छ” भनेका छन्। गरिबीमा हुर्केबढेका, खुलेर सत्ताको आलोचना गर्ने र विद्रोही व्यक्तित्वका म्याराडोनाको विपरीत मेस्सी मैदानबाहिर शान्त र सङ्कोच मान्ने स्वभावका छन्, राजनीतिक विषयमा बोल्नबाट जोगिन्छन् र पूर्णरूपमा फुटबलमै केन्द्रित रहन्छन्।
सन् २०२१ मा आर्जेन्टिनाले कोपा अमेरिका जितेपछि मेस्सीप्रतिको मानिसहरूको धारणा परिवर्तन हुन थाल्यो। उक्त जितले ठूलो अन्तर्राष्ट्रिय उपाधिको २८ वर्षदेखिको प्रतीक्षा समाप्त गरिदिएको थियो। सन् २०२२ को विश्वकपमा मेस्सीको प्रदर्शनले आर्जेन्टिनालाई तेस्रो विश्व उपाधि दिलायो र यो परिवर्तन अझ सघन बन्यो। त्यस प्रतियोगितामा मेस्सीले आफ्नो व्यक्तित्वको अझ भावुक र आक्रामक पक्ष पनि झल्काए। उनले यस्तो नेतृत्वकौशल देखाए जो धेरै समर्थकहरूले पहिले केवल म्याराडोनासँग मात्रै भएको ठान्थे। बलगे भन्छन्, “उनले आफ्नो व्यक्तित्वका नयाँ पक्षहरू देखाए। मानिसहरूले उनलाई टोलीका सेनापतिका रूपमा हेर्न थाले।” यी क्षणहरूले धेरै आर्जेन्टिनीका लागि मेस्सी र म्याराडोनाबीचको भावनात्मक दूरी कम गरिदिए।
तस्बिर स्रोत, Getty Images
ब्रजिलका पेले र आर्जेन्टिनाका डिएगो म्याराडोनालाई फुटबल इतिहासकै महानतम खेलाडीहरूमध्ये मानिन्छ। मेस्सीले म्याराडोनालाई मात्र नभई ब्रजिलका महान् खेलाडी पेलेलाई पनि उछिनेका केही विश्लेषकहरूको तर्क छ। सन् २०२२ मा दिवङ्गत भएका पेले तीनवटा विश्वकप (१९५८, १९६२, १९७०) जित्ने एक मात्र खेलाडी हुन्। सन् २०१८ मा पेलेले म्याराडोना मेस्सीभन्दा “धेरै राम्रा खेलाडी” भएको तर्क गरेका थिए, जसमा उनले मेस्सी आफ्नो बायाँ खुट्टामा अधिक निर्भर रहेका बताएका थिए। ब्रजिलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोस्टओले सन् २०२१ मा मेस्सीले म्याराडोनालाई पछि पारेका तर अझै पनि पेलेभन्दा तलै रहेका तर्क गरेका थिए। उनले “पेलेपछि मेस्सी इतिहासकै उत्कृष्ट खेलाडी हुन्, उनी म्याराडोनाभन्दा अधिक पूर्ण छन् र उनको करिअर पनि लामो रह्यो। पेले र मेस्सीको शारीरिक क्षमतामा फरक छ” भनेका थिए। पेले स्वयंले भने आफ्नो खेलकौशलको मेस्सीसँग तुलना गर्न नमिल्ने भन्दै “दायाँबायाँ दुवै खुट्टाले राम्रो प्रहार गर्ने र राम्रोसँग हेड गर्ने खेलाडी र केवल एउटा खुट्टामा निर्भर खेलाडीबीच कसरी तुलना गर्न सकिन्छ?” भनेका थिए।
उक्त विमतिले एउटा ठूलो समस्या उजागर गर्छ। आँकडाहरूले नै महानता निर्धारण गर्ने भए यो बहस उहिल्यै टुङ्गिसकेको हुन्थ्यो। विभिन्न श्रेणीमा मेस्सीका व्यक्तिगत र समूहगत उपलब्धिहरू अतुलनीय छन्। तथापि, फुटबलका महानतम खेलाडीबीचको तुलनाबारे बहस भइरहनुको कारण सङ्ख्याहरूले मात्रै अर्थ्याउन सक्दैनन्। यो बहस एउटा साधारण तथ्यका कारण जटिल बनेको छ, त्यो के भने पेले, म्याराडोना र मेस्सीले निकै फरक समयमा खेले। पेलेले सन् १९५८ मा पहिलोपटक विश्वकप जित्दा फुटबलमा आधुनिक खेलविज्ञान, विश्वव्यापी टेलिभिजन प्रसारण र उन्नत प्रविधि थिएन। म्याराडोनाको समयसम्म आइपुग्दा फुटबल विश्वव्यापी आकर्षणको खेल बनिसकेको थियो तर अर्बौँ डलरको उद्योग बन्नबाट निकै पर थियो। मेस्सीले आफ्नो लगभग सम्पूर्ण करिअर प्रदर्शनको विश्लेषण, अत्याधुनिक चिकित्सा सुविधा र सञ्चारमाध्यमको निरन्तर उपस्थितिले प्रमुख भूमिका खेल्ने माहोलमा बिताएका छन्। यसले गर्दा विभिन्न पुस्ताका खेलाडीहरूबीच तुलना गर्नु झन् कठिन हुँदै गएको छ।
मेस्सीलाई “प्रतिभाशाली” भन्न रुचाउने ब्रजिलका पूर्वस्ट्राइकर रोनाल्डो महानतम खेलाडीको पहिचान गर्ने कुरा छनौटको मापदण्डमा भर पर्ने धारणा राख्छन्। पेले, म्याराडोना र मेस्सीको करिअर बिल्कुलै भिन्न संसारमा विकसित भयो। पेलेले फुटबललाई विश्वव्यापी खेल बनाउन महत्त्वपूर्ण भूमिका खेले। म्याराडोना आर्जेन्टिनी इतिहासको उथलपुथलपूर्ण समयमा खेलकुद, राजनीति र संस्कृतिका प्रतीक बने। मेस्सीले विश्वव्यापीकरण, खेल विज्ञान र सञ्चारमाध्यमको निरन्तर उपस्थितिले प्रभावित युगमा आफ्नो विरासत बनाए। यी तीनै जनाले यस्तो खेलमा प्रतिस्पर्धा गरे, जुन गहिरो रूपमा परिवर्तन हुँदै गुज्रिएको छ। उनीहरूले पूर्ण रूपमा फरक परिस्थिति, खेलतालिका, चुनौती र अपेक्षाहरू सामना गरे। अन्ततः तपाईँ के कुरालाई अधिक महत्त्व दिनुहुन्छ भन्ने कुरामा तपाईँको धारणा निर्भर हुन्छ: प्रतिभा, उपलब्धि, प्रभाव, दीर्घकालीन सफलता वा सांस्कृतिक प्रभाव। अनि यही कारणले गर्दा यो बहस टुङ्गिने सम्भावना कम छ र फुटबलका महानतम खेलाडीबारेको चर्चा पुस्तौँसम्म निरन्तर चलिरहने छ।
