पाल्पामा अविरल वर्षाले घर भत्किँदा एक महिला बेपत्ता, उद्धारमा कठिनाई
पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा अविरल वर्षाका कारण दुई कच्ची घर भत्किँदा एक ५९ वर्षीया महिला बेपत्ता भएकी छन् । यो दुखद घटना शुक्रबार दिउँसो रिब्दीकोट–६, ढुस्टुङ्गस्थित गोलफानमा भएको हो । बेपत्ता महिलाको खोजी तथा उद्धार कार्यमा पहिरो र सडक अवरुद्धका कारण गम्भीर समस्या उत्पन्न भएको स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्राप्त जानकारी अनुसार, बेपत्ता हुनेमा स्थानीय केसुराम सारुकी श्रीमती किष्णकुमारी सारु रहेकी छन् । शुक्रबार दिउँसोदेखि निरन्तर परेको अविरल वर्षासँगै स्थानीय रामबहादुर उचै र केसुराम सारुको कच्ची घर एक्कासी भत्किएको थियो । घटनापछि घटनास्थलमा भागाभाग मच्चिएको थियो ।
रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रकाश रायमाझीले दिएको जानकारी अनुसार, घर भत्किएलगत्तै दुवै परिवारका अन्य सदस्य भागेर ज्यान जोगाउन सफल भएका थिए । तर, किष्णकुमारी सारु भने घरभित्र आफ्ना कपडा मिलाउँदै गर्दा अकस्मात् घर भत्किएर त्यसभित्रै च्यापिएर बेपत्ता भएकी थिइन् ।
वडाध्यक्ष रायमाझीले घटनास्थलसम्म पुग्ने बाटो पूर्णरुपमा अवरुद्ध रहेको बताउनुभएको छ । अविरल वर्षाका कारण ढुस्टुङ्ग क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको र जमिन अत्यधिक दलदले बनेकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिन भइरहेको उहाँको भनाइ छ । पहिरो र दलदलका कारण पैदल हिँड्न समेत जोखिमपूर्ण अवस्था रहेको स्थानीयहरूले बताएका छन् ।
बेपत्ता महिलाको उद्धारका लागि जिल्लास्थित सशस्त्र प्रहरी बललाई खबर गरिए पनि सडक पूर्णरुपमा अवरुद्ध भएकै कारण उनीहरू घटनास्थलसम्म पुग्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि घर भत्किएको स्थानभन्दा केही माथि ठूलो पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको पुष्टि गर्दै उद्धार कार्यमा गम्भीर बाधा पुगेको जनाएको छ ।
निरन्तरको वर्षाले बेपत्ता महिलाको खोजी तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीको संयुक्त प्रयासका बाबजुद पनि भौगोलिक विकटता र मौसमको प्रतिकूलताले तत्काल उद्धारमा समस्या सिर्जना गरेको हो । बेपत्ता महिलाको अवस्था अज्ञात रहेको र पानी रोकिएपछि मात्र थप खोजी तथा उद्धार कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने अधिकारीहरूले बताएका छन् ।
पाल्पा जिल्लाभर नै पछिल्लो समय अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेको छ । यसले गर्दा जनजीवन प्रभावित भएको छ भने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । बेपत्ता महिलाको सुरक्षित उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले सम्भावित सबै प्रयास गरिरहेको जानकारी दिएका छन् ।
