तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, प्रतिकूल मौसमका कारण हवाई उडानहरू पनि प्रभावित भएका छन्
देशका अधिकांश भूभागमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेषगरी कोशी, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भेगमा ‘भारी वर्षा’ भइरहेको छ। भारतको छत्तीसगढ र आसपासका क्षेत्रबाट फैलिएको यस मौसमी प्रणालीको प्रभाव नेपालभरि रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन्। उनका अनुसार, नेपालको पश्चिमी क्षेत्रमा यसको प्रभाव आइतवारसम्मै कायम रहने सम्भावना छ।
विगत २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक १८७ मिलिमिटर वर्षा रेकर्ड भएको विभागको तथ्याङ्कले देखाउँछ। मौसमविद् विनोद पोखरेलका अनुसार, भारी वर्षाको सम्भावना अब बाग्मतीका केही जिल्लाबाट सुदूरपश्चिम प्रदेशतर्फ सरेको छ। काठमाण्डू उपत्यकामा भने शुक्रवार अपराह्णदेखि ‘अति भारी वर्षा’को जोखिम न्यून रहेको उनले जानकारी दिए। सोमवारदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ।
नदीहरूको अवस्था
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यकाभित्र पर्ने केहीसहित देशका विभिन्न नदीहरूमा जलप्रवाह बढेको देखिएको छ
अविरल वर्षाका कारण देशका प्रमुख नदी तथा सहायक खोलाहरूको जलस्तरमा वृद्धि भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार, भक्तपुरको जगातीमा हनुमन्ते खोला, नुवाकोटको धुन्चेमा त्रिशूली नदी र काभ्रेपलान्चोकको पनौतीमा रोसी खोलाको जलसतह सतर्कताको तहमा पुगेको छ। केन्द्रले शुक्रवारदेखि आइतवारसम्म प्रमुख नदीहरूको जलसतहमा सामान्य घटबढ हुने पूर्वानुमान गरेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रवार सुनसरी, मोरङ, धनकुटा र आसपासका जिल्लाहरू भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना औंल्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) की प्रवक्ता शान्ति महतले आइतवारसम्मै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेकी छन्। पूर्वानूमान परिवर्तन भई आइतवारसम्मै प्रणालीको प्रभाव रहने देखिएकाले सतर्कता अवधि लम्ब्याइएको उनले स्पष्ट पारेकी छन्।
राजमार्गहरू अवरुद्ध र जनजीवनमा प्रभाव
तस्बिर स्रोत, Nepal Photo Library
दुई दिनदेखि जारी अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोका कारण मुलुकका विभिन्न भागका राजमार्गहरू अवरुद्ध बनेका छन्। विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका उपसचिव फणीन्द्र पौडेलका अनुसार, राजधानी काठमाण्डूका लागि लाइफलाइन मानिने पृथ्वी राजमार्ग लगायत बीपी, कान्ति लोकपथ र कालुपाण्डे राजमार्ग पनि अवरुद्ध छन्। यसले यातायात आवागमनमा समस्या उत्पन्न गरेको छ।
सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै कतिपय स्थानीय प्रशासनले रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएका छन्। प्रतिकूल मौसम र ‘लो भिजिबिलिटी’का कारण आन्तरिक हवाई उडानहरू प्रभावित भई केही रद्द समेत गरिएका छन्, जसले हवाई यात्रुहरूलाई असहज बनाएको छ।
शैक्षिक क्षेत्रमा समेत यसको असर परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार सम्भावित जोखिमलाई ध्यानमा राखी सबैजसो विद्यालयहरूले शुक्रवार बिदा दिएका छन्। मन्त्रालयले असोज ११ गतेसम्मका परीक्षाहरू पनि स्थगित गर्न निर्देशन दिएको छ। समग्रमा, मुलुकभरको जनजीवन मौसमी प्रतिकूलताका कारण गम्भीर रूपमा प्रभावित भएको छ।
